पथरीशनिश्चरे/ अहिले जो पनि जतिखेर पनि व्यस्तको व्यस्त । आफ्ना छोराछोरीले पढेका छन् कि छैनन्, उनीहरूलाई संस्कार र नैतिकता सिकाउन सकियो कि सकिएन भन्ने विषयमा अभिभावकहरूले सोच्न नभ्याउनेगरी हतारो बढिरहेको छ ।

जसका कारण बालबालिकालाई सही दिशानिर्देश नहुँदा देशका कर्णधार बालबालिकाका गतिविधि अधोगतितिर जाने हुन्छ । यही सन्दर्भलाई मुख्य विषयवस्तु बनाएर पथरीशनिश्चरे–१० स्थित बाल नमूना विद्यामन्दिरका विद्यार्थीहरूले नमूना नाटक प्रस्तुत गरेर अभिभावकलाई झक्झकाए । अभिभावकहरूले आफ्ना सन्ततीका लागि समय दिनुपर्ने कुरालाई जोड दिएर प्रस्तुत गरेको ‘समय’ नामक नाटकले अभिभावकको मन जित्यो ।

पूर्वको लोकप्रिय हास्य टेलिशृङ्खला ‘दोबाटे’ का कलाकार समेत रहेका सो विद्यालयका प्रिन्सिपल सरोज तिम्सिनाले विद्यार्थीहरूलाई नाटकका लागि अभिप्रेरित गरिरहेका थिए नै । तर विद्यालयको २४ औं स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूलाई विद्यार्थीकै चौतर्फी विकासको विषयमा नाटक गर्न सुझाए । तव विद्यार्थीहरू पनि तत्पर भएर नाटकमा उत्रिए ।

सोही नगरबाट उदाएर शिल्पी थिएटरका माध्यमबाट देश विदेशमा नाटक प्रस्तुत गरेका कलाकार जीवन वरालले निर्देशनमा सहजीकरण गरिदिए । ‘दोबाटे’ का कलाकार लक्षणा राईले त्यसको निर्देशन गरिन् । अभिभावकले समय दिनुपर्ने अनि किताबी पढाइसँगसँगै खेलकुद तथा सिर्जनशील गतिविधिमा सामेल गराएर उनीहरूको चौतर्फी विकासमा ध्यान दिनुपर्ने नाटकले सन्देश छ¥यो । त्यसका साथै सबै बालबालिकाको सिक्न सक्ने समान क्षमता नहुने हुँदा उनीहरूको क्षमताका आधारमा सिकाइ अघि बढाउनु पर्ने कुरा पनि सम्झायो । नाटकलाई उनीहरूले प्रयोगवादी बनाएर प्रस्तुत गरे ।

प्रभावकारी नाटक त उनीहरूले प्रस्तुत गरे नै । तर समग्रमा त्यहाँ विद्यार्थीहरूले परेड, जातीय संस्कृति सम्मिलित सांस्कृतिक प्रस्तुति, फुड फेस्टिवल, सेरामिक प्रदर्शनीसहितका प्रस्तुति उस्तै प्रभावकारी रहे । अभिनय क्षेत्रका नगरका प्रभावशाली जीवन र लक्षणालाई सो अवसरमा सम्मान–पत्रले सम्मानित गरियो । सो विद्यालयका शिक्षकहरू रीता पौडेल, अस्मिता लिम्बू र न्यूसन भट्टराई पनि शिक्षणतर्फबाट सम्मानित भए ।

उत्कृष्ट अभिभावकमा चन्द्रा ओली सम्मानित बनिन् । शैक्षिक शत्र ०७५ मा कक्षा उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत गरियो । जसमा उत्कृष्टताका हिसाबले उज्वल खड्का, परीक्षा राई र कृपा लिम्बू पुरस्कृत भए । नगरप्रमुख दिलिपकुमार राईले पुरस्कार वितरणका साथ सम्मान गरेका थिए ।

०५२ सालमा रुद्रप्रसाद अधिकारीले आफ्नै घरमा शुरु गरेको सो विद्यालय ०७४ सालदेखि स्थानीय समाजसेवी १७ जना अगुवाहरूले १ बिगाहा ५ कठ्ठा जग्गा खरिद गरेर नयाँ व्यवस्थापनका साथ संयुक्तरूपमा अघि बढाए । कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा ३ सय ३५ विद्यार्थी रहेको निर्देशक वीरबहादुर घिमिरेले बताए । जसमध्ये अभिभावकविहीन १९ जना भूटानी शरणार्थी बालबालिकालाई विद्यालयले निःशुल्क पढाएको छ ।

bal-namuna-(1)