अनलाइन सपिङको नाममा उपभोक्ता ठगी गर्ने सक्रिय गिरोहमध्येका मुख्य नाइके मोरङ सुन्दरहरैंचा नगरपालिका– ३ बस्ने विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै ठगी धन्दा चलाउनका लागि युवतीहरू कसरी प्रयोग गरिन्छन् भन्ने कुरा पनि उजागर भएको छ । आचार्यको यो ठगी प्रकरणले अनलाइन सपिङको नाममा ठगी धन्दा चलाउनेहरूले कतिसम्म बेइमानीको हद नाघ्छन् भन्ने पनि खुल्दै गएको छ । अनलाइन सपिङको नाममा ठगी धन्दा चलाउनेहरूले सबैभन्दा पहिले शहरको कुनै घरको कोठा भाडामा लिने, त्यसलाई अफिस जस्तो बनाउने, मार्केटिङका लागि भनेर विज्ञापनमार्फत् आठ दशजना तरुनी केटीहरू राख्ने, अनि ठगी धन्दा शुरु । आधुनिकतासंगै बढेको अनलाइन सपिङप्रति उपभोक्ताहरूको विश्वासलाई भजाएर ठग्ने शैली नयाँ भने होइन ।

उपभोक्ताले कुनै सामान मन पराएको जानकारी पाएपछि ठगीमा संलग्नहरूले तिनै उपभोक्तालाई आधा रकम बैङ्कमार्फत पठाउन अनुरोध गर्ने गरेका छन् । उपभोक्ताहरू पनि अनलाइनमा देखेको सामान आधा रकममै उपलब्ध हुने र सामान उपलब्ध भएपछि बाँकी रकम पठाउन पाइने भएपछि कुरै नबुझी, थप सोधी खोजी नगरी ठगले दिएको बैङ्क एकाउण्टमा हतार हतार रकम पठाउने प्रवृत्तिले ठगहरूको मनोबल बढेको छ । उपभोक्ताले आधा रकम बैङ्कमा जम्मा गरिदिएपछि अब तपाईंको सामान केही दिनमा होम डेलिभरी मार्फत् आउँछ भनेर जानकारी दिने तर त्यसपछि बेपत्ता हुने ठगीको शैली अपराधिक छ । भारतीयहरूसँग मिलेर ठगी धन्दा चलाउँदा चलाउँदै हालै पक्राउ परेका आचार्यको अन (ठग) लाइन सपिङ धन्दाले यही परिदृश्य देखाएको छ । आचार्यले तीन महिनाको अवधिमा विभिन्न बैङ्कमार्फत् पूर्वका उपभोक्ताहरूबाट करिब ८० लाख रुपैयाँ सङ्कलन गरेको र ती रकमहरू भारतमा पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अझ, उपभोक्तालाई मक्ख पार्नका लागि सुन्दरी तरुनीहरूलाई ठगी धन्दामा प्रयोग गरिएको छ ।

बेरोजगारीले आकास नै छेडिन लागेको बेला मासिक ३० हजार रुपैयाँ पाउने लोभमा युवतीहरू पनि चालै नपाई यस्तै गिरोहको फन्दामा परेर प्रयोग हुने गरेका छन् । त्यसमाथि ठगहरूले युवतीहरूलाई आफ्नो ठगी धन्दामा रहिरहन बाध्य पार्नका लागि अनेक वहानाबाजी गरेर नग्न तस्वीर खिच्न लगाउने र सोही तस्वीरलाई आधार बनाएर ‘अरूलाई भनेमा नग्न तस्वीर सार्वजनिक गर्ने’ जस्ता ब्लाक मेलिङ गर्ने गरेका छन् । मुख्य नाइके एक ठाउँ बस्ने अनि अनलाइन सपिङको नाममा उपभोक्ताले पठाएको रकम सङ्कलन गर्न भने विभिन्न बैङ्क र उपभोक्ताको पहुँचसम्म तिनै युवतीलाई पठाउने तरिका भारतीय चलचित्रको स्क्रिप्ट जतिकै खुल्दुली लाग्दो छ । उपभोक्ताहरूले अनलाइन सपिङमार्फत् उपलब्ध हुने सामान, उपलब्ध गराउने अनलाइन सपिङ कम्पनी, त्यसको वैधानिकता, ठेगाना, सम्पर्क नम्बर सही भए नभएको बारे यकिन हुन जरुरी छ । बैङ्कमार्फत् ‘आधा रकम पठाए सामान पठाइदिने’ जस्ता बढी लोभ देखाउँदा उपभोक्ता लोभिने प्रवृत्तिमा पनि परिवर्तन हुन जरुरी छ । लोभले लाभ, लाभले विलाप गराउँछ ।