बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी (शव गृह) मा राखिएको शव जहिलै किन सडिन्छ ? के त्यो सिनु राख्ने स्थान बनेको हो ? किन दुर्गन्धित भइरहन्छ सधैं सधैं ? सरसफाइ गर्ने कर्मचारी अभाव भएर हो ? यी प्रश्नहरूका सरल जवाफ दिन सक्दैनन् प्रतिष्ठानको मर्चरी शाखामा कार्यरत कर्मचारीहरूले । उपचारको क्रममा मृत्यु भएपछि शवलाई मर्चरी हाउसमा केही दिनका लागि राखे पनि दुई दिनमै सडिएको अवस्थामा फेला पर्नु कसको लापरवाही हो ? शव नै पहिचान गर्न नसकिने गरी दुई दिनमै सडाउने प्रतिष्ठानको मर्चरी हाउसको रेखदेख, मर्मत सम्भार कहिले होला ? प्रश्नै मात्र छन् ।
फागुन ८ गते मर्चरी हाउसको फ्रिजमा राखिएको शव १० गते विहान लिन जाँदा पहिचान गर्न नसकिने गरी सडिएको अवस्थामा फेला परेपछि आक्रोसित आफन्तले तोडफोड समेत गरेका छन् । तोडफोडमा उत्रनु र त्यहाँ पुगेका फरेन्सिक चिकित्सकमाथि हातपात हुनु पनि अराजकता नै हो तर मूल कुरो विधि र प्रक्रिया पूरा गरेर राखिएको शव दुई दिनमै नकुहिनु पर्ने हो । आफन्तले शव राखिएको दिन व्यवस्थित फ्रिजमा राखेको तर सद्गतकालागि लिन पुग्दा बेवारिसे अवस्थामा गन्हाइरहेको, सडिएको, पहिचान नै गर्न नसकिने गरी अर्कै ठाउँमा राखिएको घटनाले प्रतिष्ठानको मर्चरी हाउसमा कार्यरत कर्मचारी जागिरको तलबमात्र खान्छन् काम, जिम्मेवारी, दायित्व पूरा गर्दैनन् भन्ने छर्लङ्ग भएको छ । दुई नम्बर च्याम्बरमा राखिएको शव कसरी अर्को च्याम्बरमा स¥यो ? शवले आफै च्याम्बर परिवर्तन ग¥यो ? प्रतिष्ठानको मर्चरी हाउसमा एक पटकमात्र होइन, दुई पटक मात्र होइन, कैयौं पटक अनेकौं शव सडिएका छन् । तै पनि यस्तै त होला नि बीपी प्रतिष्ठानको ‘हम नहीं सुध्रेंगे’ चाला भनेर गन्हाइरहेको शव भए पनि चुपचाप उठाएर सद्गतका लागि शववाहनमा लगाएर लैजाने गरेका छन् । अन्तराष्ट्रिय पहिचान बनाएको प्रतिष्ठानको मर्चरी हाउस भने ‘लोकल लेभल’ को र कर्मचारीहरू पनि मर्चरी हाउस कसरी व्यवस्थित गर्ने भन्ने कुनै ज्ञान, शीप नभएका ‘कामचोर’ प्रवृत्तिका मात्र भएकाले हरेक पटक सद्गतका लागि कुनै शव लिन जाँदा गन्हाइरहेको हुन्छ ।
मर्चरीहाउस भित्रको च्याम्बरमा तापक्रम तलमाथि भए वा फ्रिज बिग्रिए कुनै शव गन्हाउन थाले तदारुकताका साथ प्रतिष्ठान व्यवस्थापन पक्षलाई जानकारी दिनुपर्ने हो । जानकारी दिँदा पनि हुन् । तर, कसलाई फुर्सद मर्चरी हाउसको बिग्रिएको फ्रिज बनाउने ? पाँच दश लाख रुपैयाँको खर्चमा मर्मत गर्दा नयाँ च्याम्बर खरिद गर्दाभन्दा शायद कमिसन कम आउने भएकाले होला मतलबै राख्दैनन् । मर्चरी हाउसमा फालिएका वा बेवारिसे शव मात्र नराखिएर आफन्तले माया गर्दा गर्दै वा चिकित्सकले उपचार गर्दागर्दैै बचाउन नसकेपछि अरू आफन्त जनलाई केही दिन पर्खिनका लागि सम्मानका साथ राखिने गरिन्छ । तर, प्रतिष्ठानको मर्चरी हाउस र त्यहाँ कार्यरत कर्मचारी नै गन्हाउने अवस्थामा पुगेपछि शवहरू सडिन्छन् । प्रतिष्ठानले शव राख्ने, पोष्टमोर्टका लागि चिरफार गर्ने र फरेन्सीक डाइग्नोसिस गर्ने आफ्नो मर्चरी हाउसलाई व्यवस्थित गर्न अब ढिलासुस्ती र कन्जुस्याईं गर्न हुन्न ।