लाहुरेको शहर भनेर चिनिएको धरानले विस्तारै ‘लाहुरे’ पहिचान गुमाउन थालेको छ, खासगरी ब्रिटिश गोर्खा भूपू सैनिक समुदायको सवालमा । पूर्वका युवाहरूलाई बेलायती सेनामा भर्ती गर्न वि.सं २०१६ सालमा ब्रिटिस घोपा क्याम्प स्थापना गरिएको थियो । त्यसबेला ब्रिटिश गोर्खा ‘पल्टने’ भएकाहरू करिब ३० को दशकदेखि अवकाश लिएर फर्किंदा पहाड र मधेशको सङ्गमस्थल धरानलार्ई आवासीय स्वर्गभूमि मानेर घर बनाउँदै बस्न थाले । पूर्वीक्षेत्रमा थातथलो भएका लिम्बू, राई, गुरुङ, तामाङ, मगर, नेवार समुदायका युवा मध्ये जति जना ब्रिटिश लाहुरे भए अधिकांशले ४० देखि ६० को दशकसम्म धरानलाई स्थायी बसोबासको केन्द्र बनाएर चिटिक्क परेका ‘स्टाइलिस’ पक्की घर बनाए । उनीहहरूले धरानमा आफ्नो घरमात्र बनाएनन्, जनसहभागिता मुलक कार्यक्रममार्फत् धरानमा दुई दशकको अवधिममा करोडौं रुपैयाँ बराबरको सडक, ड्रेन र फुटपाथ सहितको कालो पत्रे सडकदेखि धरानका विभिन्न वडा समिति कार्यालय भवन, भूकम्प स्मारक, धरान घण्टाघर, विद्यालय, प्रहरी चौकी निर्माणमा योगदान दिए ।
हुन त लाहुरे रम फ्याक्ट्री, दन्तकाली छाला जुत्ता उद्योग, पूर्वाञ्चल यातायात, बुढासुब्बा यातायात, जस्ता व्यावसायिक क्षेत्रमा पनि हात हालेका थिए । तर, त्यसबेला उनीहरू असफल भए । संस्थागत रूपमा वन डे पे स्किमले डिपो स्कुल, भूपूसैनिक भवन, गोर्खा कम्युनिटि हल, गोर्खा बचत तथा ऋण सहकारी, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा स्मृति पार्कहरूमा गरेको सामाजिक सामूहिक लगानी भने अहिले पनि उदाहरणीय बनेको छ । महŒवपूर्ण कुरा त तिनै ब्रिटिश गोर्खा लाहुरेहरूले नै धरानलाई आधुनिक धरान भनेर मुलुकभर चिनाए । स्वच्छ सफा सुन्दर र पर्यटकीय धरान भनेर परिचित गराए । बदलिँदो परिस्थितिसँंगै सन १९९७ मा बेलायतले हङकङलाई चीनको अभिन्न भूमिको रूपमा छाडेपछि ‘हङकङ आइडी’ भएकाहरू त्यतातिर विस्तारै पलायन भए । सन् २००४ मा बेलायतले पूर्व गोर्खा र उनीहरूका सन्ततिलाई पनि आवासीय अधिकार दिएर आफ्नो नागरिकको रूपमा स्वीकार्न थालेपछि बेलायततिर हानिए ।
बेलायत गएपछि त्यहाँको सरकारले त्यहीको स्ट्याण्डरमा शिक्षा, स्वास्थ्य र रोजगारको सुविधा दिएकाले धेरै गोर्खाहरूलाई त्यसले आकर्षित ग¥यो । स्वदेशमा दिनदिनै बन्द, हड्ताल, लोडसेडिङ, भ्रष्टाचार, हिंसा, विसङ्गति, विभेद, ढिलासुस्ती, घुसखोरीले आजित भएका बेला गोर्खाका लागि बेलायत र हङकङ दोस्रो स्वर्ग भूमि बन्यो । अहिले चिन्ताको प्रमुख विषय बनेको छ, उनीहरूले धरानमा गरेका करोडौंका सामाजिक लगानीलाई अब कसरी सुरक्षित र संरक्षित गरेर नयाँपुस्तालाई हस्तान्तरण गर्ने ? उनीहरूले दिएको योगदान स्वरुप बनेको आधुनिक धरानलाई उनीहरूको अनुपस्थितिमा कायम गर्न सकिन्छ कि सकिन्न ? बेलायत नगएर धरानमै रहेका पूर्व गोर्खाहरू पनि अधिकांश वृद्धवृद्धा छन् । दोस्रो र तेस्रो पुस्ता बेलायतमै रमाउन सिकेका छन् । फर्केर कमै मात्र आउने गरेका छन् । उनीहरूले नासोको रूपमा छाडेका डिपो स्कुल, भूपूसैनिक भवन, गोर्खा कम्युनिटि हल, गोर्खा बचत तथा ऋण सहकारी, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा स्मृति पार्क, पेन्सन पेइङ कार्यालय रहेको दुई बिघा जग्गालगायत धेरै सामाजिक सार्वजनिक सम्पत्तिलाई अब कसले स्याहार्ने भन्ने चिन्ता हुनु जरुरी छ । अहिले नै चिन्ता गर्दा हतार गरे जस्तो भए पनि अबको अढाइ दशकमा के हुन्छ गोर्खाहरूले गरेका सामाजिक लगानी र सार्वजनिक सम्पत्ति ? किनकी त्यसबेलासम्ममा भएका गोर्खाहरू रहँदैनन्, बेलायत भासिएकाहरू फर्केर आउँदैनन् । अनि, खुलेर आर्थिक अनुदान गरेर उनीहरूकै पहल र सक्रियतामा व्यापक भएको जनसहभागितामा आधारित विकास निर्माणले भविष्यसम्म निरन्तरता पाउला ? आधुनिक धरानको रूपमा स्थापित गर्ने उनीहरूका सामाजिक लगानी, सार्वजनिक सम्पत्ति र सिकाइ बुझाइलाई स्थानीय सरकार, सरोकारवाला, धरानमै रहेका पूर्व गोर्खा सैनिक र उनीहरूका सन्ततिले चासो लिन ढिला गर्नुहुन्न ।