सडक दुर्घटना दिनदिनै भयावह बन्दै गएको छ । अनाहकमा यात्रुहरूले ज्यान गुमाइरहेका छन् । कलपुर्जाले चल्ने सवारी साधनमा सवार यात्रुहरू एउटा चालकको हतार गर्ने प्रवृत्ति, विवेक, दक्षता र सनकका भरमा यात्रा गरिरहनु परेको हुन्छ । पूर्व पश्चिम हाइवेमा पर्ने सुनसरीको रामधुनी सडकखण्डमा भएको सवारी दुर्घटना चालकको सनकले पाँच जनाको ज्यान गएको छ । दर्जन बढी घाइते भएका छन् । प्रदेश १ को ट्राफिक प्रहरी कार्यालयलेपनि ‘ओभर स्पिड’ नै मुख्य कारण बताइसकेको छ । रामधुनी सडकखण्डमा हाइवे दुई लेनको मात्र छ । बिचमा डिभाइडर छैन । वन वे सिस्टम पनि छैन । दुईलेनको सडकमा विपरीत दिशाबाट आएको अर्को सवारी साधनलाई साइड दिनका लागि च्यापिएर अगाडि बढ्नु पर्ने हुन्छ । ओभर स्पिडमा कति साइड च्याप्ने भन्ने अनुमान गर्न नसक्दा आफ्नो आफ्नो साइड भएर गुडीरहेका माइक्रोबस र यात्रुवाहक बस एकापसमा जुधेर यात्रुको ज्यान अनाहकमा गएको छ । बिहान साढे ७ बजेको समय, दुर्घटना भएको क्षेत्रमा त्यति भीडभाड नभएर खाली सडकमा दुई सवारी साधन जुधेका थिए । सडक खाली भएको देखेपछि कतिपय चालकमा सनक चढ्छ, स्पीड बढाउने ।

दुर्घटनाको प्रकृतिले दुवै सवारी साधनको स्पिड कम्तिमा प्रतिघण्टा ८० देखि ९० किलोमिटर भएको हुनुपर्छ । बसभन्दा अझ माइक्रोबसको स्पिड बढी भएकैले बढी क्षति भएको ट्राफिक प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ट्राफिक प्रहरी कार्यालयकै तथ्याङक हेर्ने हो भने पूर्वमा दैनिक एक जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनाकै कारणबाट ज्यान गुमाइरहेको तथ्याङ्क भेट्न सकिन्छ । इटहरीस्थित प्रदेश नम्बर १ को ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापरबाही रहेको निष्कर्ष निकालेको छ । सडक यातायात सम्बन्धी कानून कार्यान्वयन फितलो भएका कारण मनपरी गर्ने प्रवृृत्ति बढ्दै गएपछि दुर्घटनाको सङ्ख्या वृृद्धि भएको मानिएको छ । दुर्घटनालाई न्यूनीकरण गर्न खोजे पनि दुर्घटना बढेको बढेकै छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेश १ मा मात्र ४ सय २५ वटा दुर्घटना भएका छन् । सवारी दुर्घटनाकै कारण पुस मसान्त सम्ममा प्रदेशका १ सय ८० जनाले अनहकमा ज्यान गुमाएका छन् । त्यसमा पनि सानोतिनो दुर्घटना सबैभन्दा बढी सुनसरीमा नै हुने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीको कारण भएको ट्राफिक प्रहरीले दाबी गर्दै आएको छ । ट्राफिक प्रहरीले विभिन्न आधुनिक उपकरणहरू राडार गन, ब्रेथलाइजर प्रयोग गरेर चेकजाँचलाई निरन्तरता दिए पनि सवारी दुर्घटनामा कमी हुन नसक्नुको कारणबारे थप खोजी अनुसन्धान हुन जरुरी देखिएको छ ।

चलक अनुमति पत्र नलिएका चालकलाई सवारी साधन चलाउन नदिएर ट्राफिकले पाँच सय देखि हजार रुपैयाँ जरिवानाको रसिद काटेर छाडिदिने गरेकाले पनि सडक दुर्घटना बढेको हो । पाँच सय वा हजार रुपैयाँ जरिवाना तिराउँदा राजश्व त बढ्ला तर फेरि सवारी साधन चलाउँदा त्यस्ता अदक्ष चालककै कारण अरूको वा यात्रुको ज्यान गएको भर्पाइ त कतैबाट हुन सक्दैन भन्ने हेक्का राज्यले राख्न सकेको देखिएको छैन ।अधिकांश चालकहरू सवारी साधन चलाइरहेको बेला जाम भए वा भीडभाड भए आफू नै अगाडि जाने ‘हतार’ ले जबरजस्ती सवारीसाधन बढाउने गरेका छन् । दुई पाङ्ग्रे, तीन पाङ्ग्रेदेखि ठूला सवारी साधनका चालकहरूको मानसिक प्रवृत्ति जहिलै आफू पहिलो हुने हतारका कारण तीव्र गतिमा चलाउने गर्नाले पनि बढी दुर्घटना हुने गरेको छ । यो ओभर स्पिड वा हतार गर्ने प्रवृत्तिलाई नियन्त्रण गरेर सवारी दुर्घटना कम गर्न एक सातादेखि पूर्वमा ट्राफिक प्रहरीले ठूला सवारी साधनका लागि टाइमकार्ड लागु गरेको छ । तोकिएको समय भन्दा अगाडि पुगेको वा पछाडि पुगेको तथ्य टाइमकार्ड प्रणालीले देखाउँछ । यात्रु बोक्ने माइक्रोबस र टेम्पो ट्याक्सीमा पनि ट्राफिक प्रहरीले टाइमकार्ड लागु गर्नुपर्ने देखिन्छ । माइक्रोबसमा टाइमकार्ड लागु गरिदिएको भए शायद सुनसरीको रामधुनी सडक खण्डमा यस्तो बिभत्स सवारी दुर्घटना हुदैन थियो कि ?