०७३ सालमै ‘खुला दिसामुक्त जिल्ला’ तामझामका साथ घोषणा गरिएको जिल्ला सुनसरी हो । व्यापक अभियान नै चलाइएको त्यसबेला जिल्लाका ९५ प्रतिशत जनता शौचालयको पहुँचमा आइसकेको भन्दै प्रचारात्मक शैलीमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गर्ने होडमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले शौचालय बनाउँदै सुनसरीलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त जिल्लाको अर्थ खुला स्थानमा जथाभावी दिसापिसाब गर्ने चलनको अन्त्य भएको र सबैले आफ्नै घरमा वा नजिकै बनाएको शौचालयमा मलमुत्र व्यवस्थापन भएको जिल्ला भनेर बुझ्नुपर्ने हुन्छ । दिसापिसाब शौचालयमै गर्नुपर्छ । बाहिर खुला स्थानमा गर्नुहँुदैन । खुला स्थानमा शौचालय गर्दा कसैले देखेमा लाजमात्र नलागेर गाउँटोलमा दुर्गन्ध र प्रदूषण पनि फैलन सक्छ ।
खुला दिसामुक्त जिल्ला घोषणा सरकारले हतारमा गरे पनि र सर्वसाधारणले यति जान्दा जान्दैपनि सुनसरीका अधिकांश गाउँमा अझै शौचालयको अभाव देखिएको छ । कति सम्म भने गैरसरकारी संस्थाले सहयोग गरेर निर्माण गरिदिएको शौचालय भए पनि त्यसलाई प्रयोग गर्न अझै नजान्नु विडम्बना नै मान्नु पर्छ । उदाहरणका लागि कोशी गाउँपालिका–६ स्थित मुसहरी टोलका अधिकांशको घरमा शौचालय बनाइएका छन् । तर, स्थानीयवासी शौचालयमा दिसापिसाब गर्नुको साटो खुला ठाउँमा गर्छन् र शौचालयलाई घाँस, दाउरा राख्ने, बाख्रा सुँगुर कुखुराको खोर बनाएका छन् । कोशी गाउँपालिकाको मसहरी टोल त उदाहरणमात्र हो । जिल्लाभरिका धेरै गाउँटोल अझै पनि शौचालय विहीन छन् । शौचालयसँग मानिसको अनेक सम्बन्ध गासिएको हुन्छ । रोगव्याधि नियन्त्रण गर्न शौचालयको अहम् भूमिका हुन्छ । शहरी क्षेत्रमा बस्ने धनाढ्यहरूका लागि शौचालयलाई सजाउनु प्रतिष्ठाको विषय बनिसकेको अवस्थामा गाउँमा भएको शौचालय पनि सदुपयोग नगर्नु भनेको शौचालय प्रयोग गर्न नजानेर नभई त्यसलाई बुझ्ने मानवीय प्रवृत्तिमा खोट रहेको हुनसक्छ ।
घर भएपछि त्यहाँ बस्ने परिवारका लागि एउटा शौचालय नहुनु असभ्यताको नमूना मान्न सकिन्छ । गरिबी र अशिक्षाको कारणले शौचालय नभएको वा नबनाएको बताइएपनि वास्तवमा अहिलेको जमानामा त्यसो भनेर पन्छिन सकिन्न । बाँस वा सन्ठीको टाटीले पनि सुरक्षित शौचालय बनाउन सकिन्छ । हातमा स्मार्ट मोबाइल चलाउने तर शौचालय नबनाउनेहरूलाई कसरी अशिक्षित भन्ने ? मोटरसाइकल चलाउने तर शौचालय नबनाउनेलाई कसरी गरिब भन्ने ? अर्को कुरा, गैर सरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा सुनसरीलाई एक पटक खुला दिसा मुक्त जिल्ला घोषणा गरेपछि बनाइएका ती शौचालयलाई स्थानीय समुदायले प्रयोगमा ल्याएका छन् कि छैनन् भनेर अहिलेसम्म कसैले पनि अनुगमन गरेका छैनन् । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म बनाइएका शौचालयको अनुगमन गर्न चासो देखाएको पनि पाइन्न । योजना सकिएपछि दातृ निकायले छाडे जस्तो भएको छ । यता कोशी गाउँपालिकाले शौचालय नबनाउने, शौचालय भएर पनि सदुपयोग नगर्ने र खुला स्थानमा दिसापिसाब गर्नेलाई कुनै पनि सरकारी कामकाजका लागि सिफारिस नदिने तयारी गरेको छ । कोशी गाउँपालिकाले यसो गर्नु पनि समुदायलाई शौचालय प्रयोग गर्न वा बनाउन प्रेरित गर्ने एउटा उपाय हुनसक्छ । तर, यतिले मात्र पुग्दैन । मुख्यकुरा, शौचालयको महŒव, मान्छे र यसबीचको सम्बन्ध, खुला दिसापिसाबबाट हुन सक्ने स्वास्थ्यमा प्रतिकुल असरबारे मानवीय बानी व्यहोरा अर्थात्प्रवृत्तिमा परिवर्तन गर्न पनि जरुरी छ ।