मुलुक र जनताको हकअधिकारका लागि हाँसी हाँसी आफ्नो प्राण आहुति दिने शहीदहरूको सम्झना गर्ने दिन हो आज अर्थात् माघ १६ गते सम्झने गरिन्छ । २०१२ देखि नै माघ १६ गतेलाई शहीद दिवस घोषणा गरी सरकारले औपचारिक रूपमा मनाउँदै आएको छ । राणाहरूको क्रुर अत्याचार विरुद्ध जनताका लागि लडेका वीर शहिदहरूको सम्झनामा सम्झने आजको दिन राज्यले केवल ‘कर्मकाण्डी सम्झना’ बनाउँदै गएको छ । वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो । उनै शहीदहरूको सम्झनामा माघ १६ गते शहीद दिवस मनाउँदै आएको हो । देश जनताका लागि कुर्वानी दिने शहीदहरूको लाइनमा सरकारले योगदान विनाका आफ्ना कार्यकर्ता तथा सत्ता टिकाउन पक्ष र विपक्ष दलका कार्यकर्ताहरूलाई जथाभावी शहीद घोषणा गर्दा शहीद शब्द नै बद्नाम भएको छ ।
वि.स. २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई शहीद घोषणा गरियो । २०६२÷६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो । त्यस्तै मधेस आन्दोलनमा शहादत भएकालाई पनि शहीद घोषणा गरिएको थियो । तर, २०६३ को जनआन्दोलन पछि र मधेस आन्दोलन पछि पनि सरकारले जथाभावी शहीद घोषणा गर्नाले शहीदको अपमान भएको आम जनगुनासो रहेको छ । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा १ हजार ६१९ जनालाई शहीद घोषणा गरेको मन्त्रालयको राहत तथा तथ्याङ्क महाशाखाका उपसचिव मीरा आचार्यले जानकारी दिए । २०४६ र २०६३ सालपछि घोषणा गरिएका शहीदको लिष्टमा दुर्घटनामा परेका, विगतमा कुनै योगदान नदिएका तर राजनीतिक प्रभावमा शहीद घोषणा गरी शहीद शब्दको बद्नाम गर्ने काम राज्यले ग¥यो ।
झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाव दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको कुरालाई राज्यले मनन गर्नु जरुरी छ । सत्ता टिकाउन वा कुनै दल विशेषलाई खुशी पार्न राज्यले जुन काम गरेको छ, त्यो उचित होइन । यसो भन्दैमा उनीहरूलाई क्षतिपूर्ति र सम्मान दिनु हुँदैन भन्ने चाहिँ होइन । राणाशासन, पञ्चायत विरुद्ध र प्रजातन्त्र पुनःस्थापनाका लागि जीवन आहुती दिने र दुर्घटना, झैझगडा र हुलमुलमा ज्यान गुमाएकाहरूलाई एउटै कित्तामा राख्नु वास्ताविक शहीदहरूको अपमान हो । शहीदको मापदण्ड छुट्याएर सोही अनुसारको सम्मान र आदर गर्नु वाञ्छनीय हुनेछ । राज्यका असल कामबाट नै शहीद दिवसको सार्थकता र शहीदहरू प्रति सच्चा श्रद्धाञ्जलि प्रकट हुन्छ ।