कुरा आज भन्दा २५÷३० वर्ष अगाडिको हो । त्यसबेला हामी त्यस्तै आठ–नौ कक्षामा पढ्थ्यौँ होला । त्यसबेला गाउँमा हाम्रो छुट्टै देउसी टोली थियो । बुढापाका युवायुवती र केटाकेटीसहित मिलेर धुमधामसँग देउसी खेलेर तिहार मनाइन्थ्यो । त्यसबाट उठेको रकम मङ्सीरमा एक पटक पिकनिक जान्थ्यौँ र अरू बचेकोमा थपथाप गरेर सामाजिक कार्यमा लगाउँथ्यौँ । त्यसैले हाम्रा लागि दशैँ भन्दा पनि तिहार रमाइलो हुन्थ्यो । दशैँसँगै तिहारको देउसीका लागि तयारी शुरु हुन्थ्यो । पूर्व तयारी र जानकारीसहित नाँचगान लिएर टाढा–टाढासम्म हामी देउसी खेल्न जान्थ्यौँ ।
आजभोलि गर्दै तिहार नजिक आयो । त्यो साल पनि हाम्रो तमोर पारि देउसी खेल्न जाने निर्णय भएको थियो । सोही अनुसार यस वर्ष पनि हामी तपाइँहरूको घर आँगनमा देउसी खेल्न आउँदै छौँ भनेर पत्र पठाइसकिएको थियो । हाम्रो गाउँदेखि तल तमोर नदी थियो । तमोर पारी पथ्र्यो छथर गाउँ , टोल हाक्पारा र जिल्ला तेह्रथुम ।
बीचमा तमोर नदीले छुट्टयाएर मात्र हो । नत्र त्यति टाढा चाहिँ होइन । गाउँ ठूलै थियो । त्यस गाउँलाई हाक्पारा गाउँ भनिन्थ्यो । गाउँकै नामबाट तमोर तर्ने ठाउँलाई पनि हाक्पारा घाट भनिन्थ्यो । त्यहाँ डुङ्गा थियो । डुङ्गा चढेर वारीपारी गर्नु पथ्र्यो । डुङ्गा चलाउने नदी किनारमा एउटा माझीको घर थियो । उनैले वा उनका छोरा, नातीले मानिसहरूलाई नाउमा वारिपारि तार्ने काम गर्थे । लक्ष्मी पूजाकै दिन बेलुकीपख हामीले घाट तरिसक्नुपथ्र्यो । त्यही साँझदेखि शुरु गरेर भाइटीकाको दिन विहानसम्ममा हाक्पारा
गाउँमा देउसी खेलिसकेर टीका थाप्न घर फर्कनुपथ्र्यो । बेलैमा भेला भएर हामी झ¥यौँ, हाक्पारा घाट । हाम्रो साथमा केही बुढापाका र केटाकेटी पनि थिए । तीस, चालीस जनाको टिम थियो । डुङ्गा तर्दातर्दै साँझ पर्न लाग्यो । तरिसकेपछि हतारहतार माझीको घरमा भेला भएर पेट्रोलमेक्स जलाउन थाल्यौँ । हामीसँग दुईओटा पेट्रोलमेक्स थिए । एउटाले काम नदिए अर्को जलाउँथ्यौँ । दशा भनेको बाजा बजाएर आउँदैन भनेर त्यसै भनिएको होइन रहेछ । कसैले याद गरिएन । सबै आए भन्ने भयो । माझी दाइ पनि डुङ्गा ढुङ्गामा बाँधेर हामीसँगै आइसकेका थिए । पूर्ण र गोविन्द भन्ने दुई जना साथी चाहिँ केही वर आएर फर्केर फेरि उतै नदी किनारतिरै डुङ्गा खोज्न भनेर गएछन् ।
डुङ्गा खोलेर डुङ्गा माथि चढेछन् र बहानाले खियाउन थालेछन्, माझीले झैँ । छेउछेउमा खेल्दाखेल्दै कसोकसो गर्दा डुङ्गा अगि बढेछ । बहाना चलाउन जानेको थिएन । डुङ्गा पानीमा बग्न थालेछ । पानीको गतिसँगै डुङ्गा ओह्रालो लागेपछि आत्तिएर कराएका रहेछन् । अलिअलि आवाज सुनियो । हामीलाई त नदीले बगायो । त्यतिखेर मात्र हामीलाई थाहा भयो । त्यसपछि हामी सबै त्यता दगु¥यौँ । रुवाबासी भयो । पाँच–छ जना लाठेहरू पेट्रोलमेक्स लिएर अगाडि दौडे । भेट्न सकिएन । केही तल गएपछि नदी भिरालो बन्दै गएको थियो । किनारमा ढुङ्गैढुङ्गा थिए, वारिपारि भीर । बाँच्ने दिन नै भन्नुपर्छ डुङ्गाको टाउकोमा रहेको डुङ्गा बाँध्ने डोरी चाहिँ बाहिरै छोडिएको रहेछ । त्यो बाबियाको ठूलो लठारो थियो ।
बग्दै जाँदा त्यो डोरी किनारको ढुङ्गाको चेपमा कसोकसो दैव सन्जोगले बेरिएर अड्किएछ र डुङ्गा रोकिएर छेउ लागेको रहेछ । त्यति नै बेला एक जनाले छेउको ढुङ्गामाथि हाम फालेर डुङ्गाको डोरी समातेछ । अर्को जना डुङ्गाभित्रै थियो । डुङ्गामा आधा पानी पसिसकेको थियो । करिब आधा घण्टापछि भेटियो । यसरी देउसीले गर्दा झण्डै ती दुईको ज्यान गएको । ती दुई बगेका भए देउसी त के गाउँले कसैको त्यो वर्ष तिहार मनाइ नै हुने थिएन । गाउँ नै शोकाकुल हुने थियो । सानोतिनो गल्तीले गर्दा चाडवाड वा अरू कुनै बेला पनि मानिसको ज्यान जान सक्छ । आजभोलि पनि मलाई त्यो दिनको घटना सम्झनामा आइरहन्छ । डुङ्गाको डोरी सन्जोगले त्यसरी किनारको ढुङ्गामा नअल्झिएको भए हामीले उनीहरूलाई भेट्ने नै थिएनौँ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।