विशेषत स्कुल छुटिट्का दिनमा र नौरथामा हामी सबैले सकेको काम गथ्र्यौ । दसैँको समयमा त झनै कामको बोझ हुन्थ्यो । सेतो कमेरो र रातो माटोले पोतिएका घर । गोरेटो, घाडेटो अनि घर आगन र पानी पधेरा सफा सुग्घर पारिएका ।

घरका करेसाबारी र फुलबारीमा मखमली र सयपत्री लहलह । भर्खर मकै भाचेर थाङ्ग्रा र बुइगलमा लहरै राखिएका झुत्ता । घरका ओड्ने ओच्छायाउने खरानी पानीमै भए पनि धोएर चम्काइएका । आगंन लिपपोत गरेर चिटिक्क सफा बनाइएका । माथी डाडाँमा या तल बेसिमा पिङ्ग लगाइएको । घर गाउँका केटाकेटी खुसी र उत्साहले फुरुङ्ग । तिनै दौतरी मध्येको आफु पनि किन नहुने र फुरुङ्ग । कहिले आउला टिकाको दिन र नयाँ नाना लगाएर, टिका थापेर, जमरा सिउरिएर, धानको भात खाएर, पिङ् मच्चाएर मामाघर जाने भन्ने पखाईमा । यतीमात्रै होइन गाइवस्तु बाख्रालाई घास काटेर सोत्तर भेलापारेर सबै काम अघिल्लै दिन सकिएका ।

२०३४/३५साल तिरको कुरा हो म ७/८ वर्षको थिए । हाम्रो घर इलाम जिल्लको साविक लुम्दे गाउँ पञ्चायतको वाडा नम्बर ४मा रहेको थियो । नेउपानेहरुको निक्कै पुस्ता देखिको बसोबास र नातागोता इस्टमित्र धेरै भएको अनि मुल घर हाम्रै थियो । अर्थात हजुरबाहरु र बडाबा परलोक गइसक्नु भएको, सबै भन्दा उमेरले जेठो हाम्रो बुबा आमा हुनुहुन्थ्यो र आज पनि यो सौभाग्य प्राप्त छ । पक्कै पनि जेठो घर र नातागोत धेरै भए अनुसार समय अनुसारको चामल, चिउरा अनि दंक्षिनाको निक्कै जोहो गर्नुपर्ने हुन्थ्यो । आय स्रोत भनेको त्यही खेतीबाट उब्जाइएको मकै कोदो फापर र धान कुटेर चामल बेच्ने थियो । कहिले काही हारो पर्ममा कतैबाट आउने उही मकै कोदो हुन्थ्यो । हरेकका घरमा हारोपर्मको चलन थियो ।

तर तोकेको समयमा र पर्म भन्दा धेरै दिन त्यो घरको खेत बारीमा काम गर्दा या काम नसकिदा पर्मेलीहरुलाई अन्न दिने प्रचलन थियो । पैसाको खासै चलन पनि थिएन । आर्थिक अवस्था धेरै कमजोर भएकाहरुलाई पनि पैसा हैन अन्न नै दिने चलन अनुसार कोही पनि खेतालाका रुपमा कसैकामा पनि जाने चलन थियो । ठूलो सानो भन्ने चलन धेरै थिएन । त्यसमा पनि हाम्रो बुबा आमालाई माइला बा आमा भनेर गाउँकाहरुले भनेको र गाउँमा भोकमारी लागे उही बा आमाका घरमा गए अन्न पाइन्छ भनेर अनिकालमा मानिसहरु आएको मलाई थोरै थोरै सम्झनामा छ । र, सबै भन्दा धेरै सम्झनामा रहेको भनेको २०३६ सालमा हाम्रो परिवार तराईतिर बसाई सर्न हिँडन लागेका दिनको हो । हरेक वर्ष हाम्रा खेत बारीमा काम गर्न अउँने र आनिकल लाग्दा अन्न पाएर छोराछारी र आफुहरु बच्ने परिवारका सदस्यहरु आएर अब हामीले कोसँग अन्न लिएर ज्यान बचाउने भन्दै नजान भन्नेहरुको मलिन अनुहार आज पनि यो मानसपटलमा ताजै छन् । सुन्न्नमा आउँछ त्यसरी अनुरोध गर्नेहरु धेरै परलोक पुगिसके तर पनि मेरो मस्तिष्कबाट ती क्षण र याचना भर्खर जस्तै लाग्छ ।

हरेक वर्ष आउने सोह्र स्राद्ध सुरु हुँदा नै दसैँको चहल पहल सुरु हुन्थ्यो । कोही घर अगाडी र छर छिमेकका बाटा सफा गर्ने, झार उखेल्ने, झाडी फाड्ने गर्थे । कोही कमेरो र रातो माटो खोज्न गाउँबाट टाढा जान्थे । डोकामा, थुन्चेमा, बोरामा कमेरो अनि रातोमाटो ल्याएर घर छेउमा राखिन्थ्यो । कोही यो कार्य गर्दा पुरिएर ज्यान गुमाउन पुग्थे । कसैको घरमा मरिमराउ भएको भए त्यो वर्ष घरका भित्ता लिपपोत हुँदैनथ्यो । बाँकी गाउँनै यो कार्यमा सरिक हुन्थ्यो । हरेक घरका सदस्यले बाटो खन्ने, सरसफाई गर्ने अनि मार्मत गर्ने काममा सबै स्व–स्फुर्त जम्मा हुन्थे ।

आजकल जस्तो पटक पटक सूचना गर्दा पनि उपस्थित नहुने चलन थिएन । दसैँ पर्व सबैका लागि उत्साह अझ हामी जस्ता केटाकेटी र बैस चढदै गएकाहरु त झनै उत्साहित देखिन्थे । किनभने उनीहरुमा को छिटो मावल पुग्ने या कसले धेरै पिङ् मच्चाउने भन्ने जस्ता कुरमा होडवाजी अनि दसैँमा कसका लुगा राम्रा भन्ने पनि हुन्थ्यो । एक प्रकारले गाउँमा उत्साह छाएको हुन्थ्यो । आप्mना घरका सबै काम सिध्याएर हामी केटाकेटी तन्नेरी पनि सामाजिक काममा सरिक हुन्थ्यौ र स्कुल जान पनि भ्याउथ्यौ । यो सबै आउन लागेको दसैँको उत्साहमा हुन्थ्यो ।

सोह्र स्राद्ध सकिएकै दिनबाट घरमा रंग लगाउने(कमेरो र रातोमाटोले पोत्ने) काममा जुटने चलन थियो । घरमा जमरा राख्ने, मांसहारीले खसी बोकाको जोहो गर्ने गर्थे साथमा चामल चिउरा त हुन्थ्यो नै । गाउँमा पालैपालो धान कुट्ने, चिउरा कुट्ने चलन थियो । यो समयमा ढिकी जातो चलि नै रहन्थे । बालीघरे दर्जी घरकै पिडिमा आएर दसैँका लुगा सिलाउथे । लुगा छेक्न बोलाउनु परे बहुननानी भनेर बोलाउथे । म भने फुरुङ्ग हुन्थे र छेउमा गएर वस्थे । उनले प्यारो श्वरमा खोई उठ भन्दै चिमोट्थे अनि खितिति हास्थे । म भने केही लजाउँथे । कपडा भनेका सट र हाफपेन्ट नत्र दौरा र सुरु्वाल हुन्थ्यो । हुने खानेले कोट पनि सिलाउँथे । त्यती कपडा पाउनु नै हाम्रालागि ठूलो प्राप्ती लाग्दथ्यो ।

घरमा आफु कान्छो, म माथिका तिनजना दाजुहरुमा पनि उत्तिकै उत्साह देखिन्थ्यो । सबै भन्दा ठूलो काम घरमा रंग लगाउने हुन्थ्यो । उहिले हजुर बुबाले बनाउनु भएको तिनतले ठूलो घर रे । ९० सालको भूईचालाले चिरा परेका भित्ता । घरमा वस्न डर भए पनि अर्को घर बनाइ हाल्ने परिवन्द सायद थिएन होला । बुबा भन्नुहुन्थ्यो, तिमेरुका काकालाई पढाउदा पढाउदै सबै पैसा सकियो । त्यसपछि तिमीहरु स्कुल जान थाल्यौ । खर्च बढ्यो । काका पनि हजुरआमा खसेपछि अर्को घर बनाएर सर्नु भएको रहेछ । वहा नजिकैको जालपा स्कुलमा शिक्षक हुनुहुन्थ्यो । जसो तसो उही बुढो घर लिपपोत गरेर दसौको स्वागत गर्नु भन्दा तत्काल अरु उपाय थिएन । बुबा कहिले काही गाउँघरमा पुरेत्याई गर्न जानुहुन्थ्यो । भेटी वापत आउने पैसा, अन्नपात अनि खसि बेचेर भेला भएका पैसाले दाजुहरुको स्कुलको फि र लुगाफाटा अनि घर खर्च चल्दै थियो ।

पिङ् खेल्न धेरै मनलागे पनि उचाई सम्म मच्चाउन या कसैले मच्चाई दिदा डर भने धेरै लाग्थ्यो । त्यसैले धेरै नमच्चाई आफुसँगैका साथीसँग मात्र खेल्ने गर्थे । फेरि पहाडका ठाउँमा पिङ ओरालो स्थानमा पनि लगाइने हुँदा मच्चिएर पल्लो छेऊ पुग्दा जिउ नै सिरङ्गि हुन्थ्यो । यता घरमा भने जमरा राख्ने, चिउरा चामल कुट्ने, चण्डी पढाउने जस्ता कार्यहरुले पनि दसैँको चहलपहल झनै वढेको महसुस हुन्थ्यो । हरेक दिन म जमरा कत्रा भए र लगाउने दिन कहिले आउला भनेर घरी घरी थुन्चेले छोपेका जमरा नियाल्ने गर्थे । आमा भन्नु हुन्थ्यो, ‘चाडै वढ्दै छन् वरु धेरै नहेर उज्यालो पसेर हरिया हुन्छन् ।’ तर, बालपन न हो दिनमा ५ पटक सम्म त हेरेकै हुन्थे । म सानै भएकाले मेरो काम अरु समयमा पनि पधेराबाट साना भाडामा पानी बोक्नु, घर आगन वढारनु, अगेनामा आगो निभ्न नदिनु अनि गाई बाख्रालाई घासपानी दिनु र घर रुङ्नु हुन्थ्यो । दाजुहरु र बुबा आमा भने पर्म, लगाउन खेत गोड्न या कोदो रोप्न जानु हुन्थ्यो । विशेषत स्कुल छुटिट्का दिनमा र नौरथामा हामी सबैले सकेको काम गथ्र्यौ । दसैँको समयमा त झनै कामको बोझ हुन्थ्यो । चिउरा चामल कुटेर बजार लगेर बेचेर पैसा तयार पार्नु, र माथी भनिएका काम ।

दसैँको उल्लास त सप्तमीकै दिनबाट सुरु हुन्थ्यो । परदेश गएकाहरु पनि घर फर्किन्थे । हाम्रो घर बाटैमा भएकाले बजार (रबी, पञ्चमी र नवमी)बाट र परदेशबाट फर्किनेहरु प्राय सबैले बोलाउँदै कसैले राता मिठाइ दिँदै जाने आउने गर्दा हामी केटाकेटी त्यसै त्यसै फरुङ्ग हुन्थ्यौ । यता घर घरमा गच्छे अनुसार मांसहारीले खसी बोका भेला गर्ने साकाहारीले आलु, मटर, घिउ, केरा आदि जम्मा गर्ने प्रचलन थियो । आउने पाहुनालाई पनि मिठो मसिनो खुवाएर टिका लगाई दक्षिणा दिने चलन त्यो बेलामा झनै धेरै थियो । अस्टमीका दिनमा बिहानै देखि बेग्लै माहोल हुन्थ्यो । हामी सबै जना धारामा गएर नुहाउथ्यौ । दिनमा आठ पटक खानुपर्छ भन्ने कुरा सुनेको भएर होला भोक पनि धेरै लाग्थ्यो । कतिबेला पुजा सकिन्छ र खाने भन्दै हामी घरका सबै काम सकेर बस्दथ्यौ । पुजा सकिने वित्तिकै आमाले दही चिउरा(ढिकीमा कुटेका चाम्रा तर मिठा) केरा अनि चिनी दिनु हुन्थ्यो । त्यो स्वाद आज पनि जिब्रोमा छ तर आजकल त्यस्तो मिठो हुन्न । किनकी प्राकृतिक रुपमा पाकेका केरा, ढिकीमा आफैले कुटेका चिउरा र ठेकीमा जामेको दहीको स्वद कहा पाउनु र । त्यो दिन सकेसम्म बेलुका हुँदासम्ममा ४÷ ५ पटक त खाइन्थ्यो नै । जती खाए पनि छुट थियो र पच्थ्यो पनि । खाएर डाँडामा पिङ खेल्न पुग्ने, टिका पछिका केही दिनसम्मलाई पुग्ने घास काट्ने, गाइवस्तुलाई पानी बोक्दा भोक लाग्थ्यो ।

दशमीका दिन अरु उत्साह थपिन्थ्यो । चाडो टिका थापेर कानमा र टोपीमा पहेला जमर सिउरिएर आफन्तजन र मावल पुग्न हतार हुन्थ्यो । कस्सेर हिड्दा ६ घण्टा लाग्ने मामाघर भ्याए त्यसै दिन नभ्याए भोलीपल्ट गइन्थ्यो । मामा घरमा भान्जा भान्जीलाई गरिने माया र आतिथ्यताले आज पनि सम्झना गराउँछ । मामाले टिका लगाइ दिएर चलन अनुसारको दक्षिणा दिदै ‘भन्जा बाटामा गोडा दुखेभने यसले घोडा किनेर चढेर जानु’ भन्दै जिस्काएको आज पनि ताजै छ । तर हामी भने राता मिठाई किनेर खानमै व्यस्त हुन्थ्यौ । वहाहरु मध्येका एक जिवित जेठा मामा १०० वर्ष पुग्नु भएको छ । असक्त अवस्थामा हुनुहुन्छ । भगवानसँग प्राथाना छ कि वहा अझै केहिवर्ष स्वस्थ भएर जिवित रहनुहोस ताकी वहाको आर्शिवाद र ठट्यौली पाइरहन सकौँ । आज पनि हामीलाई वृद्ध आमाबुबाको हातबाट टिका थापेर मामाघर पुग्ने हतारो कायमै छ । यो प्राप्त गर्ने अवसर नै हम्रालागी अहोभाग्य हो । हरेक नेपाली दाजुभाई दिदी बहिनीमा २०७६ सालको बडादसैँोको मंगलमय शुभकामना ।
—दमक