बराहक्षेत्र । नेपाल तामाङ घेदुङ वराहक्षेत्र नगरसमितिले नगरका तामाङलाई एकीकृत गर्दै भातृ सङ्गठन खोल्ने तयारी थालेको छ ।
शुक्रबार वराहक्षेत्र नगरपालिका–७ बुद्धचौकमा सम्पन्न प्रथम अधिवेशनले यस्तो निर्णय गरेको छ । वार्षिक कार्य प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्दै नगरअध्यक्ष कुलबहादुर तामाङले बराहक्षेत्रका ११ वटै वडामा बसोबास गर्ने तामाङहरूलाई धार्मिक, जातीय, भाषिक तथा सांकृतिकरूपमा गोलबद्ध गर्ने र भातृ सङ्गठन खोल्ने बताए ।
तामाङ युवायुवतीको आर्थिक अवस्था सबल र सक्रिय बनाउन विभिन्न सीपमूलक तालिमहरू ल्याईने अध्यक्ष तामाङले बताए ।
नगरपालिकामा तामाङ घेदुङको कार्यालय निर्माणको लागि विभिन्न संस्था र व्यक्तिसँग चन्दा सङ्कलनसमेत गरिने उनले बताए । तामाङले आर्थिक वर्ष २०७५/७६ को १ लाख ११ हजार ६७ रुपैयाँको आय–व्यय विवरण पेश गरेका थिए ।
नेपाल तामाङ घेदुङको सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, बराहक्षेत्रका नगरप्रमुख निलम खनाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।