सिरहा । तराईमा विश्वकर्मा पुजा धुमधामका साथ मनाइदै छ । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाइएकाे छ । । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते बुधबार तराईमा धुमधामका साथ मनाइदै छ ।
उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास रहेको छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वर्कमा पुजाका अवसरमा सवारी साधनहरुलाई बिहानै धोइपखाली गरी पुजा गरिएको छ भने अन्य फलाम संग सम्बन्धीत कलकारखाना तथा औजारहरुको पनि पुजाआजा गरी सजाएर रंगीनबचगीं बनाएर संचालन गरी रहेको देखिन्छ ।
बुधबारको दिन मेशीनरी ,सवारी साधन , कलकारखा आदिको पुजा गरीने भएको कारण पनि आजका दिन त्यती धेरै संचालन भएको पाइदैन । गाडी मर्मत संभार गर्ने ग्यारेज लगायत हरेक सानाठुला कारखानामा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ ।
फलामसंग सम्बन्धीत काम गर्नेहरुले बुधबारको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजा गर्ने स्थल बनाउने र बुधबारको दिन पुजाआजा गरिएको मूर्तिलाई बुधबारको आज बिहान नजिकैको खोला वा नदीमा लगी बिसर्जन गरेपछि विश्वकर्मा पूजा समापन हुने प्रचलन रहेको छ ।
विश्वकर्मा भगवान को हुन् ?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटाछुटै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।
विश्वकर्मा पूजा विधि यस्तो हो ?
बिहान नुहाएपछि चोखो कपडा लगाएर भगवानमा विश्वकर्माको मूर्ति अथवा तस्बिरको अघिल्तिर बस्नु पर्छ । भगवान विश्वकर्माको पूजा–आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाइ, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नु पर्छ । भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार–अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नु पर्छ ।
विश्वकर्मा पूजाको महत्व
हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ ।