माथि–माथि उडिरहेको बादल जस्तै हो समय । न त्यसलाई रोकेर रोकिन्छ, न पक्रेर राख्न सकिन्छ । त्यो बादलको महसुस मात्र गर्न सकिन्छ । केही बेरमै हराउँछ आफ्नै आँखाबाट । त्यही बादलजस्तै आँखामा याद मात्र छोडेर जान्छ अक्सर समय । त्यस्तै छुटि गएका छन् केही समय । पर्वहरू बेला बेला आउँछन् र बिर्सन नसकिने गरी दिलमा एउटा खत छाडेर जान्छन् । एउटा पर्व थियो त्यो । त्यो समय बालापन नै थियो ।
जुन समय गाउँमा कोदो रोप्ने, मकै गोड्ने समय हुन्थ्यो । त्यतै, कतैबाट एउटा समय फुत्त आउँथ्यो र ल्याइदिन्थ्यो बेपर्बाह खुशी । बालापनमा गाउँमा आउँथ्यो खुशी । पर्वहरू घरको आँगन हुँदै हुँदै सरल र स्निग्ध तरिकाले आउँथे मनको आँगनसम्म । वर्षदिनमा एकपटक दशैँमा बुबा सदरमुकाम गएको समयमा हाम्रो माग हुन्थ्यो, ‘एउटा राम्रो जिन्स पाइन्ट, सुनको चेन भएको र घडी पनि ।’ बुवाले वर्ष दिन गाउँमा मिहिनेत गरेर कोदो, मकै बेचेको पैसाले हामीलाई हामीले भनेको कुरा ल्याइदिनुहुन्थ्यो, हामी खुशीले उन्मुक्त हाँसो हाँसिदिन्थ्यौँ । त्यो समय गाउँमा मोबाइल समेत हुन्थेन । गाउँको एउटा कुनै घरमा टेलिफोन चैँ हुन्थ्यो । सहरमा के हुन्थ्यो थाहा छैन । कसैलाई केही खबर सूचना प्रवाह गर्नुपरे गाउँमा चिट्टी पठाउँनुपथ्र्यो । र, खुशीले क्यासेटमा गीत सुन्नुपथर्यो । त्यसो त गाउँमा जन्ती जान परे पनि क्यासेटमा गीत बजाउँदै खरबारीको डिलैडिल नाच्दै, नाच्दै जन्ती जानुपर्ने मधुरो स्मरण छ ।
म सानै उमेरमा आमासँग मावल गएको थिएँ तीजमा । आमाले मावलमा तीज पर्व मनाउँदा दर खाने दिन (हरितालिका तीज वर्तको अघिल्लो दिन) हर्पेमा राखेको दहि, घिउ, काँक्रा, आलु र मटरको अचारसँग रातो चामलको भात खाएको झझल्को अहिले जस्तो लाग्छ । त्यसलाई दर भनिँदो रहेछ । दर खाएपछि हामी मावलमा हजुरआमाले भकारी भएको कोठामा सुताउँदै लोक कथा सुनाउनुहुन्थ्यो । र, राती ११ बजेतिर पुनः उठेर मामाहरूले दर पकाउनुहुन्थ्यो ।
हामी आमा, सानिमाहरूसँगै दर खाएर सुत्थ्यौँ । विहान आमा, सानिमाहरू नुहाएर पूजाआजा गर्नुहुन्थ्यो, दिनभर व्रत लिएपछि नाचगान गरी साँझमा बाको अनुमतिमा पानी मात्रै खानुहुन्थ्यो । अब त्यो दिनको सम्झनामा मात्र रहन्छ सायद । पछि विस्तारै आधुनिक युगले समात्दै गएपछि हामीहरू सहरतिर झ¥र्यौँ । सहरमा त कहाँ सोचेजस्तो हुँदो रहेछ र ? आफ्नै पैताला बिरानो जस्तो, आफ्नै माटो बिरानो जस्तो, यी ठूला–ठूला भवन र मानिसहरू पराइजस्तो । यहाँ त बाँच्न पनि एकपटक सोच्नुपर्ने रहेछ । शहरमा त बाँच्नका लागि पनि स्वाभिमान बेच्नुपर्ने रहेछ । ओहो ! शहरमा त कति हृदयविदारक तरिकाले बाँच्नुपर्ने रहेछ । प्रसङ्ग तीजकै गरौँ ।
आधुनिक युगले तीज पर्व जोखिममा पर्दै गइरहेको कुरा भने कुनै नौलो होइन । यसका ज्वलन्त उदाहरणहरू प्रसस्तै छन् शहर बजारमा । तीजको संस्कृति हराएको अथवा मौलिकपन विलुप्त भएको मजाले देख्न सकिन्छ । शहरमा त महँगा कपडा नलगाए, गहना प्रदर्शन नगरे चाडपर्व नै आएजस्तो नहुँदो रहेछ । बिचरा गाउँबाट आएको म बबुरोलाई के थाहा यी कुराहरु । केही समयअगाडि म गाउँ जाँदा त्यहाँका मानिसहरू यति सरल र स्नेही भए । जो चाहेर पनि आँखाबाट हराउनै चाहँदैनन्, दिलको भित्तामा नमेटिने खत बनेर बसेका छन् । तर, सहरमा भने मानिसहरु कति कठोर बन्न सकेका । सहर र गाउँमा धेरै अन्तर त अझै पनि विद्यमान रुपमा नै छ । त्यसो त यहाँ तीजको मात्र कुरा छैन ।
यसलाई त एक प्रतिनिधि चाडको रुपमा मात्र लिन सकिन्छ । गाउँमा त अझै सरसापट चल्छ तर, सहरमा त मलामी समेत किन्नुपर्ने रहेछ । त्यसो त हाम्रा बा ले सानोमा हामीलाई हुर्काउनका लागि आफ्नो पसिना बेचेको उदाहरण अहिले पनि ज्वलन्त छ । तर, शहरमा पसिना हैन, आफ्नो स्वाभिमान बेच्नुपर्ने रहेछ । गाउँमा मनाएका ती पर्वहरू, ती चाडहरू अहिले कालजयी बनेर आँखामा नाचिरहन्छन् । सानोमा बाले ल्याइदिएको त्यो घडी मसँगै भएको भए, मसँग त्यो समय भइदिएको भए फेरि फर्काएर म त्यही बालापनमा हराउने थिएँ । त्यो घडीको सुई घुमाएर फेरि म त्यही स्मरणीय तीज मनाइरहेको हुने थिएँ । यो समय म शहरको एक कुनामा अपरिचित झैँ टोलाएर त्यही गाउँलाई सम्झिरहेको छु ।
त्यसो त मलाई किन किन यो तीज पर्व आउनेबित्तिकै एउटा गहिरो झझल्को सम्झना हुन्छ । एक दिन थियो त्यो । जुन दिन मेरो मनमा खुशीले आगो बलेको थियो । मनभित्र एउटा प्रेमको फूल फुलिरहेको थियो । प्रेमको कोपिला फक्रिरहेको थियो । जुन समय तीजकै व्रत लिने दिन थियो । दर खाने दिन केही साथीभाइसँग प्रेम र प्रेमिकाका कुरा हुन्थे, बेलुका हामी साथीहरूसँगै बसेर रमाइलो गरियो । भोलिपल्ट तीजको दिन माथि धरानको बुढासुब्बा मन्दिरको उकालो चढ्दा चढ्दै प्रेमिकाको म्यासेज आउँछ र भन्छिन्, ‘बुढासुब्बामा के माग्नुहुन्छ ?’ म्यासेज पढिनसक्दै मोबाइलमा टाइप भइसकेको हुन्थ्यो, ‘तिमी !’ उनले मलाई मागिन्, कि मागिनन् ? अझै प्रश्न आइरहन्छ, तर सोध्ने कसलाई ? ओहो यी दिनहरू, किन आँखामा आइरहन्छन् ? ती दिनहरू सम्झँदा मात्रै पनि मनमा आँधी दौडिरहन्छ । ती सम्झनाहरू बिर्सन नखोजिएको पनि कहाँ हो र ? तर, सम्झन जति सजिलो कहाँ रहेछ र बिर्सन । दुनियाँमा सबैभन्दा कठिन कुरा के हो भनेर कसैले सोध्यो भने हतार–हतार मुखबाट सायद निस्कन्थ्यो, ‘कुनै समय वा कसैलाई बिर्सनु हो ।’
साँच्चै मेरो शहरप्रति कुनै घृणा छैन, तर यहाँका मानिसहरूको सोच, विचार, तर्क र मनोभावना सुन्ने र बुझ्ने हो भने साँच्चै मलाई मानिसहरूप्रति घृणा लागेर आउँछ । शहरमा त मानिसहरू हाँसेको, खुशी साथ बाँचेको हेर्न र देख्नै नसक्ने मानिसहरू पो हुँदा रहेछन् । मलाई यो समय ठूलो स्वरमा प्रश्न गर्न मन छ, ‘यति सुन्दर संसारमा यो शहर र यहाँका मानिस कसले बनायो ?’ यो समय म यिनै कुराहरू सोचेर निष्फिक्री हाँसो मात्र हाँसिरहेको छु । म यो समय आमासँग मावल गएको, बुबाले घडी र जिन्स पाइन्ट किनेर ल्याइदिएको सम्झिरहेको छु । र, सम्झिरहेको छु, त्यो तीज । जुन तीज मेरो लागि जीवनमा भुल्न नसकिने क्षण बनेर आइदियो । यतिबेला उनै एउटा प्रेम मसँग छैन । तर, म त्यो प्रेम भएको भए त्यो समय बुढासुब्बामा ‘तिमी’ भनेर मागेको भाकल कसले चुडाइदियो, सोध्नेथिएँ । र, यो समय तिमी नभए पनि म सम्झिरहेको छु, त्यो तीजमा ‘तिमी’ भनेर मागेको बुढासुब्बालाई आज म के मागौँ ?
(लेखक रेग्मीः इटहरीमा बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन् ।)