प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ४५ दिने मूर्तिकला कार्यशालामा ३२ जनाले इटहरीमा मूर्ति बनाउन सिकेका छन् । इटहरी मेट्रिक्सको आयोजनामा सम्पन्न मूर्तिकला कार्यशाला प्रख्यात मूर्तिकार विक्रमश्रिको संयोजकत्वमा भएको हो ।
‘प्रदेश १ का सोलुखुम्बु र पाँचथरबाहेक १२ जिल्लाका सहभागी थिए’ विक्रमश्रिले भने, ‘२५ जनाको मात्रै कोटा रहे पनि ३२ जनालाई सहभागी गराएर कार्यशाला गरायौं ।’ उनका अनुसार प्रशिक्षणमा सहभागी ३२ जनामध्ये चारजना महिला र अन्य पुरुष थिए ।
नेपालमै पहिलोपटक ऋषिदेव र धिमाल समुदायका दुईजना पनि मूर्तिकला कार्यशालामा सहभागी भएकाले आफू हर्षित भएको विक्रमश्रिले बताए । ‘आज ३८ दिन भयो मूर्तिकला कार्यशाला भएको’ विक्रमश्रि शुक्रबार भने, ‘हामीले मूर्तिकला कार्यशाला सम्पन्न गरिसकेपछि यहाँ बनाइएको मूर्तिहरूको एकपटक यहीँ प्रदर्शन गर्ने तयारी पनि गरिरहेका छौँ ।’
१४ वर्षकी किशोरीदेखि ७० वर्षीया महिला पनि मूर्तिकला कार्यशालामा सहभागी भएकाले अन्य मानिसलाई प्रेरित हुने उनले सुनाए । ऋषिदेव समुदायबाट पहिलो मूर्तिकार अजब ऋषिदेव, धिमाल समुदायबाट पहिलो मूर्तिकार बुद्धिमान धिमाल, ७० वर्षीया रेनुका तिम्सिना, १४ वर्षीया अनिसा इस्वोलगायत कलेज पढ्ने तीनजना सहभागी भएको उनले सुनाए । उनले भने, ‘यो दक्षता अभिवृद्धि कार्यशालासमेत हो, यहाँ बनाइएका कलाकृति यहीँ राख्ने सोच बनाएका छौँ ।’
उनका अनुसार प्रदेश १ सरकारले मूर्ति कार्यशालाका लागि १२ लाख रुपैयाँ बजेट छुट्याए पनि अझै ६ देखि ७ लाख रुपैयाँ बजेट अपुग रहेको र बाँकी रकम इटहरी मेट्रिक्सले नै व्यहोर्नेसमेत बताए ।
‘प्रदेश १ मा योबाहेक मूर्तिकला कार्यशाला औपचारिक रूपमा भएको थिएन’ उनले भने, ‘यसअघि तीनवटा मूर्तिकला कार्यशाला मात्र भएको छ ।’ उनले २०४६ सालमा धरान, २०६१ सालमा इटहरीको काव्यवाटिका र २०६८ मा उदयपुरको त्रियुगामा मूर्तिकलासम्बन्धी कार्यशाला भएको र आगामी दिनमा आफूले यसलाई निरन्तरता दिँदै जाने जानकारी दिए ।