भोजपुर । भोजपुरमा रहेका नेवार समुदायको परपराम्पगत नाँच ‘लाखे नाच’ संरक्षणका लागि युवापुस्तालाई प्रशिक्षण दिन थालिएको छ ।
संस्कृति संरक्षणमा युवापुस्तालाई सहभागी गराउने उद्देश्यले शुक्रबारदेखि लाखे नाच प्रशिक्षण शुरु गरिएको हो । उद्योग वाणिज्य सङ्घ भोजपुरको सभाहलमा भोजपुर नगरपालिकाभरिका लाखे नाच्न र बाजा बजाउन सिक्ने युवाहरूलाई प्रशिक्षण शुरु गरिएको भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताए ।
प्रशिक्षणमा बाजाको ताल, गीतको सुर, नृत्यका लागि ताल, सुर सिकाइने मुख्य प्रशिक्षक सुरेन्द्रदेव बलले जानकारी दिए । उनले भने, ‘विगत २ सय वर्ष पुरानो लाखे नाचसँग म ४५ वर्षदेखि परिचित छु, विगत वर्षहरूमा अव्यवस्थित रूपमा लाखे नाच्ने गरिन्थ्यो, यसलाई व्यवस्थित र नियमबद्ध बनाउनका लागि प्रशिक्षण शुरु गरिएको हो ।’
नयाँ पिँढीका युवाहरूलाई लाखे नाच्न, बाजा बजाउनलगायत सिकाउन तत्काल भोजपुर–८ र १० का युवाहरूलाई प्रशिक्षण शुरु गरे पनि इच्छुक सबैलाई सिकाइने लाखे समाजका सदस्य प्रवीन सुवालले बताए । यसैबीच यसवर्ष लाखेनाचलाई व्यवस्थित गर्न भोजपुर लाखे समाज र भोजपुर नगरपालिकाले जिल्ला सदरमुकाममा साउन २० गते नागपञ्चमीका दिन चारभञ्ज्याङबाट लाखे नाच शुरु गरी उद्योग वाणिज्य सङ्घको सभाहलमा लाखे नाच प्रदर्शन गर्ने भएको छ ।
त्यस्तै साउन २१ गते बैङ्करोड, २२ गते डाँडाबजार, अस्पताल लाइन, २३ गते पानीट्याङ्की लाइन, २४ गते बजार, २६ गते पोखरे, २७ र २८ गते सरसफाइ, २९ देउराली, ३० गते डाँडाबजार, ३१ गते गाईजात्रा, ३२ गते हिलेजात्रा बजारक्षेत्रमा, भाद्र १ गते सिपाही जात्रा, २ गते ट्याङ्की, ३ गते पोखरेलाइन, ४ गते ठाडो बजार, ५, ६ र ७ गते बजार क्षेत्रमा नाच प्रदर्शन गरी रथयात्राका साथमा समापन गर्ने कार्यक्रम तालिका समेत सार्वजनिक गरिएको छ ।