देउराली । साउन महिनाको सोमबार शिवालयहरूमा जल चढाए मोक्ष प्राप्ति हुने हिन्दू सनातनको विश्वासअनुसार आज साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीडभाड बढेको छ । आज धरान उपमहानगरपालिका –१४ स्थित विजयपुरमा रहेको नेपालकै प्रतिष्ठित शिवालय पिण्डेश्वर बाबा धाममा पनि भक्तजनको भीड लागेको छ ।
बोलबमको समय विशेष गरी पूर्वका झापा, मोरङलगायतका जिल्लाहरूका भक्तजनहरूको भीड रहने पिण्डेश्वर धाममा यस वर्षको पहिलो सोमबार आज पश्चिम नेपलको चितवन, बैतडी, बझाङलगायतका जिल्लाबाट भक्तजनको भीड लागेकोे छ ।
भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै बिहान २ बजे नै मन्दिर प्रवेशका लागि ढोका खोलिएको पिण्डेश्वर बाबा धाम समितिले जनाएको छ ।
साउन महिना भरि ५ लाख भक्तजन पिण्डेश्वरमा जल चढाउन आउने विश्वास लिएको समितिका अध्यक्ष विकासकुमार बनेपालीले आजमात्र करिब ६०, ७० हजारको भक्तजनले जल चढाउने बताएका छन् । यसरी आउने भक्तजनको सहजताका लागि समितिले व्यवस्थापन तथा सेवा प्रदान गर्दै आएको छ ।
गेरु वस्त्र धारण गरेर सुनसरीको वराहक्षेत्र तथा चतरा धामबाट कोका, कोशी नदीको जल बोकी खाली खुट्टा पैदल यात्रा गर्दै पिण्डेश्वरमा रहेको शिव लिङ्गलाई अर्पण गरे इच्छाएको कुरा पूरा हुने जनविश्वास रहेको छ । पिण्डेश्वरमा बोलबमको समयमा सन्तान प्राप्ति, श्री प्राप्ति, पारिवारिक सुख, स्वस्थ, रोजगर तथा शिक्षा वृतिका लागि भाकल गर्ने गरेको समितिका अध्यक्ष बनेपालीले बताए ।