कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरू बनाए । तर उनको कलालाई कसैले बुझ्दैनथे र उल्टै तिरस्कार र हँस्सी मजाक गर्दथे । उनले बनाएका मूर्तिहरू राम्रा भए पनि मानिसहरूले उनलाई गरिब देखी राम्रो भाउ दिँदैनथे । ती गरिब मूर्तिकार महाजनहरूका अगाडि के नै गर्न सक्थे र ! उनी ती मूर्तिहरू कम मोलमै बेच्न विवश थिए ।
उनको ६ जनाको परिवार थियो । उनका परिवारलाई उनको यो कमाइले पालन–पोषण गर्न पुग्दैनथ्यो । तर उनको दुःख बुझ्ने त्यस समाजमा कोही पनि थिएनन् । उनीहरू त झन् उनलाई होच्याएर अझ कम मोलमा मूर्ति लान पल्किएका थिए ।
उनी हिम्मत हार्दैनथे । उनल् झन् मेहनतका साथ काम गर्न थाले । उनले जति असफलता पाए पनि हरेस भने खाएनन् । उनले आजभन्दा भोलि भोलिभन्दा पर्सी गर्दै झन्–झन् राम्रा मूर्तिहरू बनाए ।
एकपटकको कुरा हो, उनले मेहनत गरेर एउटा राम्रो बुद्धको मूर्ति बनाए । उनले त्यसलाई महिनौं लगाएर तयार पारेका थिए । त्यसैले यसपटकको मूर्ति किन्न धेरै मान्छेको भीड लाग्यो । उनले त्यसमा आफ्नो कडा मेहनत परेकाले त्यो मूर्ति बेच्न चाहेनन् र उनले म मेरो मेहनतलाई कुनै मोलमा पनि बेच्न चाहन्न भनेर मूर्ति किन्न आएका सबैलाई फर्काए । उनको त्यो घमण्ड कति नै दिन टिक्न सक्थ्यो र उनले आफ्नो पारिवारिक खर्च धान्न मूर्ति नबेची नहुने भयो ।
त्यसै समय एकजना व्यापारी त्यही बाटो भएर कतै गइरहेको थियो । एक्कासि उसको आँखा त्यस मूर्तिमा पुग्यो । उसले सोच्यो यस्तो राम्रो मूर्ति बनाउने मानिस को होला उसलाई अचम्म लाग्यो । उसले यताउती हेर्दा निन्याउरो मुख लगाएर बसिरहेको त्यस मूर्तिकारलाई देख्यो ।
उसले त्यस मानिसलाई यसरी घोरिएर बस्नुको कारण के हो भनी सोध्यो । उनले पनि नढाँटी आफूलाई पर्ने गरेका मर्का र दुःख सबै बताए । तब त्यो व्यापारीले त्यो मूर्ति तिम्रै भाउमा म किन्दछु भनी आश्वासन दियो । आफ्नो मूर्ति चाहेको मोलमा बेच्न पाएकाले उनी एकदमै हर्षित भए । अर्को दिन त्यस व्यापारीले उनलाई चाहिने जति पैसा दिएर मूर्ति लिएर गयो ।
त्यस व्यापारीको एकजना साथी मन्त्री थिए । ती मन्त्रीसाथी उसको घरमा आउँदा उनले त्यो मूर्ति देख्यो र साह्रै मन परायो । उनले व्यापारीलाई त्यो मूर्ति देऊ म तिमीलाई यो किन्दा परेको मोलको दोब्बर दिन्छु भने । व्यापारीले आफ्ना साथीको वचन काट्न सकेन । उसले त्यो मूर्ति परेको मोलमा साथीलाई दियो ।
मन्त्रीकी एउटी छोरी थिइन् । तिनी जवान भइसकेकी थिइन् । उनको विवाह गर्ने बेला भइसकेको थियो र मन्त्रीले उनको विवाह धूमधामसित गरिदिए । यो विहेमा उनले आफ्ना सबै इष्टमित्रलाई डाकेका थिए । उनमा त्यस देशका राजा पनि थिए । राजाको आँखा त्यस मूर्तिमा परेछ । उनले यस्तो राम्रो मूर्ति कसले बनाएको हो भनेर सोधे । मन्त्रीबाट बुझ्दै जाँदा गरिब मूर्तिकारले बनाएको भन्ने थाहा पाई उनले त्यस मूर्तिकारलाई दरबारमा बोलाए ।
राजाले बोलाएको खबर पाउनासाथ मूर्तिकार दरबारमा पुगि हाले । राजाले उनलाई यस्तो राम्रो मूर्ति कसरी बनायौ भनेर सोधे । उनले परिश्रमले बनाएको हुँ भन्ने उत्तर दिए । उनको परिश्रम र लगनशीलताबाट राजा खुशी भए । राजाले उनलाई धेरै धनसम्पत्ति र पुरस्कार दिई बिदाई गरे । कलाको पहिचान कलापारखीले मात्र गर्दछ । कडा मेहनतको फल सधैँ मीठो हुन्छ ।