धरान/ चल्तीका बिम्ब, प्रतीक, पात्र र घटनालाई प्रयोग गरेर नेपाली साहित्यिक वाङ्मय लामो समयदेखि लेखिँदै आएको बेला अचेल प्रदीप मेन्याङ्बो भने फरक धार अपनाएर मुन्धुम कविता साहित्य प्रवद्र्धन गर्न लागेका छन् ।
२०६ औं भानुजयन्तीको अवसर पारेर धरानको कालकुट साहित्यिक मञ्चले आयोजना गरेको स्रष्टा, सिर्जना र मन्थन समारोहमा पूर्वका १२ कविहरूले समसामयिक कविता सुनाइरहँदा कवि मेन्याङ्बोले भने मुन्धुममा आधारित कविता सुनाए । अरुका लागि उनका पात्र, बिम्ब प्रतीकहरू सबै नौला लाग्छन् ।
कविता सुनाउनुभन्दा अगाडि उनले भने, ‘म सायद यतिखेर पक्कै पनि छन्दकवि बन्थेँ होला । ५० को दशकमा विद्यालयस्तरमा विभिन्न छन्दकविता लेख्दा अरूले नपत्याएपछि छन्दमा लेख्न छाडेँ । त्यसपछि धरानमा गद्य कविता लेख्न थालेँ तर आफूले रचना गरेका ती गद्य कविताभन्दा अरुको कविता शक्तिशाली भएको देख्न थालेपछि फरक धारको मुन्धुम साहित्यमा लागेको हुँ ।’ उनी सँचारकर्मी र कथाकार समेत हुन् ।
उनका अनुसार नेपाली साहित्यमा हालसम्म लेखिएका सबै साहित्यहरू पूर्वीय र पाश्चात्य दर्शन, धर्म संस्कृतिमा आधारित पुराण, रामायण महाभारत, आख्यान, बाइबल, वेद, त्रिपिटक वा कुरआनबाट निकालिएका पात्रहरूलाई बिम्ब र प्रतीक बनाउने आम चलन छ । ती चलनका विपरीत आफ्नै मुन्धुमभित्रका घटना, पात्र र बिम्बलाई कविता साहित्यमा खेलाउने नयाँ शैली अपनाएर मुन्धुम साहित्यको प्रवद्र्धनमा लागेको उनले बताए ।
उक्त अवसरमा मुन्धमी साहित्यकार मेन्याङ्बोसहित पूर्वका १२ कविले पनि आ–आफ्ना बेजोड कविता सुनाए । धरान उपमहानगरपालिकाको १३ नं. वडा समिति र साहित्य, कला प्रतिष्ठानले संयोजन गरेको स्रष्टा र सिर्जना मन्थन कार्यक्रममा सुदीप पाख्रिन, नवराज मैनाली, अविराम क्रान्ति, प्रगति राई, इन्दु योञ्जन, उत्तम लिम्बू, मनि राई गोठाले, दीपक पराजुली, प्रकाश दिप्सालीलगायतले कविता सुनाएका थिए । कविहरू राज माङ्लाक, राजकुमार कार्की वर्षाको कारण उपस्थित हुन नसकेपछि अरु कविले उनीहरूका कविता सुनाएका थिए ।
कविता वाचनपछि विमल स्मृति पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङलाई अभिनन्दन गरिएको थियो । एक्लो कवि छोरा विमलको स्मृतिमा धरान–१८ बुद्धचोकमा भव्य पुस्तकालय र अक्षयकोष स्थापना गरेर ब्रिटिस लाहुरे गुरुङले नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।
साहित्य, कला, संस्कृति प्रतिष्ठानका संरक्षक नेत्र काफ्लेले भने, ‘गुरुङले आफैले कथा, कविता वा उपन्यास आख्यान नलेखे पनि आफ्ना छोरा विमल र अरूले लेखेका साहित्यको अनवरत सेवा गरे । ब्रिटिस लाहुरे हुँदाहुँदै पनि साहित्यमा उनको योगदानलाई अलग रूपमा हेरिएको छ । यसैकारण गुरुङ अभिनन्दनका भागीदार बनेका हुन् ।’
कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्विका सम्बाहाम्फे, प्रा.डा.गोपाल भण्डारीले पनि नेपाली साहित्यको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त अवसरमा डा.भीम खतिवडाद्वारा लिखित ‘आस्थाको अम्मल’ नियात्रा सङ्ग्रह पुस्तक प्रदेश १ का सभामुख प्रदीप भण्डारीले विमोचन गरेका थिए । पुस्तकमाथि एकु घिमिरेले समीक्षा गरेका थिए ।