धनकुटा / स्थानिय सरकारले भाषिक पहिचानलाई समाप्त पार्न निगाले चितुवाको स्तम्भ निर्माण गर्न थालेको भन्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाले आपत्ति जनाएको छ ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मगर भाषिक पहिचान रहेको स्थान निगिलिया (निगाले) मा भाषिक पहिचानलाई समाप्त पार्न खोजिएको विज्ञप्ती गरि जनाइएको छ । विज्ञप्तीमा भनिएको छ–“तथ्यहिन, आधारहिन, कपोलकल्पित, मनोगत रुपले नगरपालिकाको वडा नं.८ निगिलिया (निगाले) भन्ने स्थानमा वडाको गौरबको योजनाको नाममा प्रदेश सरकारको अनुदान सहयोगमा वडा कार्यालयले निगाले चितुवाको स्तम्भ निर्माण कार्य शुरु गरे प्रति नेपाल मगर संघ जिल्ला समन्वय समिति, धनकुटाको आपत्ति छ ।”
विज्ञप्तीमा गएको ०७६ जेठ ८ गतेका दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाले निगिलिया नामाकरणबारे एक प्राज्ञिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा नगर प्रमुख पर्शुराम नेपालले चितुवाको स्तम्भ वनाउने योजनावारे पुनर्बिचार गर्न निर्माण पक्षलाई आग्रह गरे पनि हाल आएर निर्माण कार्य अगाडि बढाईएको छ, यसमा हाम्रो आपत्ति छ, विज्ञप्तीमा भनिएको छ । 
असारे वजेटमा काम सक्ने गरी निगाले चितुवाको सालिक निर्माण समितिका अध्यक्ष फत्तबहादुर थापालाई वडा न.८ का वडाध्यक्ष रामबहादुर खड्काले योजना अगाडि बढाउन निर्देशन दिईएको वताइएको छ । स्थानिय मगर समुदायले निर्माण कार्य रोक्न वारवार आग्रह गर्दा गर्दै पनि अहिले महालक्ष्मी नगरपालिका वडा नं.८ को वडा कार्यालयले जवर्जस्ती ढंगले निर्माण कार्य अघि वढाए प्रति सिंगो धनकुटा जिल्लाका मगरहरुको समेत ध्यान आकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

निगिलिया (निगाले) कसरी नामाकरण भयो ?
चार सय चौसट्ठी बर्ष अगाडि नेपालको उदगम स्थल तत्कालीन मगर राज्य गोरखा राज्य बन्नु भन्दा अगाडि गोरखा राज्य भित्र लिगलिगकोट राज्य थियो । बि.स.१६०४देखि १६१५ सम्म दौडबाट राजा छान्ने चलनबाट ११ बर्षसम्म दौडमा प्रथम भएर दलसुर घले मगर राजा भएका थिए । मुस्लिम शासकबाट उत्पिडनमा परेर भारत गढवाल कुमाउका जटाजुट पान्डेका कान्छा छोरा गणेश पाण्डे जब हिन्दु राज्यको स्थापना, बिस्तार र संरक्षणको लागि बाबुको सल्लाह बमोजिम पाल्पाको सेन राज्यमा आइ सैनिक तालिम लिइ लमजुङ राज्यका राजा यशोब्रमहा शाहका कान्छा छोरा द्रब्य शाहको सम्पर्कमा पुगे ।
द्रब्य शाह तत्कालीन गोरखाको भुरेटाकुरे राज्यमा हमला गरि स–साना राज्य एकीकरण गरि गोरखाको राजा बन्न चाहन्थे। सो मुताबिक द्रब्य शाहले षड्यन्त्र गरेर लिगलिकोटमा भिषण हमला गरे । हमला पश्चात त्यहा मगर राज्यमा भिषण युद्ध भयो । सो भिषण युद्धमा धेरै मगर राजखानदान मारिए । युद्धबाट ज्यान जोगाउन पूर्ब ओखलढुङ्गा हुदै धनकुटा अहिलेको (निगाले) निगिलिया आइपुगे । यहाँ घले राजखानदान आउनु भन्दा अगाडि नैमगरहरुको बाक्लो बस्ती रहेको मगर भाषाबाट गाउँ–ठाउँको नाम रहनुले प्रमाणित गर्छ । जस्तो ः (देउ–राहा–ले बाट देउराली (देउता आउँछ), आर्खुलेबाट अर्खौले, पट्याकबाट (गुराँस) पट्याकडाँडा गुराँस डाँडा, आहाल्ले है आहाल्लैबाट (लैजाला) आहालेआदि निगिलिया (निगाले) वरीपरी मगर भाषाबाट रहेको गाउँठाउँको नाम हुन् ।

pic-1
लिगलिग युद्धवाट ज्यान जोगाउन यहाँ आइपुगेका ती घले मगर राजखानदानलाई यहाँका मगरहरुले आफ्नो भाषामा तिमिहरु को हौ ?, कहाँबाट आइको(नाकोरिकरको सु आले, कुटौ राहाच भन्दा–उनिहरुले कानको लिगलिग्या लिगलिगे हौ भन्दा यहाको मगरले निगिलिया भनेको सुनेर यो ठाउँको नाम निगिलिया रहन गएको बुढापाकाहरुले बताएका छन् ।
यसरी मगर भाषाको प्राचिन भाषिक पहिचान भएको निगालियाको अस्तित्व समाप्त पार्न कपोकल्पित र मनोगत रुपमा “निगाले चितुवा) को स्तम्भ निर्माण गर्न लागेकोमा नेपाल मगर संघ जिल्ला समन्वय समिति घोरभत्र्सना गर्दछ, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा सामुदायिक सदभावलाई कायम राख्न सो आयोजना निर्माण थालनी गर्नु पूर्व पनि स्थानिय समुदायसँग आवश्याक समन्वय सम्वाद नगरेकाले तत्काल स्थागित गर्न जोडदार माग गरिएको छ । अन्यथा यसवाट सृजित परिणामको सम्पुर्ण जिम्मेवारी सम्वन्धित पक्षले लिनुपर्ने जानकारी गराउँदछौं विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष चेतवहादुर राना मगरले हस्ताक्षर गरेका छन् ।
यस विषयमा महालक्ष्मी नगरपलिकाका नगर प्रमुख परशुराम नेपाललाई ब्लाष्ट खवरले जिज्ञासा राख्दा नगरपालिकाको निर्णय अनुसार १ वडा १ गौरवको योजना संचालन गर्ने भन्ने निर्णय वमोजिम निगालेमा निगाले चितुवाको स्तम्भ निर्माण गर्न लागिएको वताए । यसैविच नेपाल आदिवासी जनजाति महासंघ महालक्ष्मी नगर समन्वय परिषदले विज्ञप्ती जारी गरेर मगर समुदायको भाषिक पहिचानलाई सम्वोधन हुने गरी योजना संचालन गर्न विज्ञप्ती मार्फत अनुरोध गरीएको छ । विज्ञप्तीमा नगर समन्वय परिषदका अध्यक्ष जेवी घले मगरले हस्ताक्षर गरेका छन् ।