धरान । किरात राई समुदायले आफ्ना मौलिक संस्कार र संस्कृतिलाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरणको प्रमुख माध्यमको रूपमा साकेन्वा÷साकेला मनाउँदै आएका छन् । ढोल, झ्याम्टाको तालमा गाउँदै नाच्दै किराती जीवनशैलीलाई सिलीमार्फत् प्रस्तुत गरिनु उनीहरूको विशेषता हो । गर्मीयाम समय शुरू भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो समय शुरू भएसँगै शीतल छल्न बेँसी झर्ने आफ्ना पितृहरूको सम्झनामा साकेला मनाउने गर्दछन् ।
यतिबेला गर्मी छल्न बेँसीबाट लेक चढ्ने बेला आएको छ । आफ्ना पितृहरू नाच्दै, उफ्रँदै चढ्ने विश्वासमा साकेला सिली नाच्दै मनाइरहेका हुन्छन् । किराती मान्यताअनुसार ६–६ महिनामा ऋतु परिवर्तन हुन्छ । उनीहरूका पुर्खाहरू ६ महिना लेक र ६ महिना बेँसी बस्छन् भन्ने किंवदन्ती रहेको छ । अहिले पनि भोजपुर, खोटाङमा किरातीहरूको लेक र बेँसीमा घरखेत रहेको पाइन्छ । सोही अनुरूप मङ्सिरे पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मनाउने गरिन्छ ।
यसको पनि छु्ट्टै विशेषता रहेको छ । अन्नबाली लगाउने बेलाको उँभौली र भिœयाउने बेलाको उँधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गरिन्छ । यस समुदायले आफ्नो संस्कारलाई जीवन्त राख्न उँधौलीको दिन अन्न राख्ने भकारीमा पूजा गरेर आफ्नो चुल्होमा भाले काटेर बलि दिने र ढोल, झ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको स्वभावको अनुकरण गर्दै सिली नाच्ने गर्छन् । उनीहरूले आफ्ना पितृको सम्झनामा भाकल गरेर साकेन्वा थान, घरको चुल्हो र अन्न राख्ने भकारीमा पूजा गर्दछन् । धनधान्यकी देवी प्रकृतिलाई धन्यवाद दिँदै चुल्हो र अन्न भकारी वरिपरि साकेन्वा गाउने र नाच्ने चलन पनि रहँदै आएको छ ।
किरात राई समुदायमा साँस्कृतिक एवम् धार्मिक तवरले छुट्टै अस्तित्व बोकेको यो चाडलाई भातृत्व, भाइचारा तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रूपमा मनाउँदै आएका छन् । जागिर एवम् व्यवसायको सिलसिलामा टाढा–टाढा रहेका आफन्तहरू यो समय परिवारसँग भेला भएर रमाइलो पनि गर्ने गरेका छन् । साँस्कृतिक हिसाबले प्रत्येक वैशाख र मङ्सिर पूर्णिमाको अवसरमा १५ दिनदेखि १ महिनासम्म उँधौली उँभौली साकेला मनाउने गरिन्छ । यो पर्व पूर्वी पहाडी जिल्ला भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, इलाम, खोटाङ, उदयपुर, सोलुखम्बु, ओखलढुङ्गालगायत काठमाडौं उपत्यकामा धुमधाम मनाइन्छ । यति बेला यी जिल्लाहरूको भीर पाखामा साकेला सिली घन्किरहेको छ । पूर्णिमाको १५ दिनपछि यो पर्व सकिन्छ ।
साकाला, साकेला, साकेन्वा वा साकेवा विभिन्न नामबाट चिनिने वस्तु हो भूमिदेव जसमा राईका जानकार नछुङ वा नाक्छुङ (वैदिक तन्त्र–मन्त्र मुन्दुम जानकार) हरूले मुन्दुमी शक्तिका आधारमा उत्खनन् गरिन्छ । यो हेर्दा साधारण पत्थर वा ढुङ्गाजस्तै देखिन्छ । साकेला वास्तवमा किरात राईहरूको प्रमुख अन्नको को सह (चारी) हो भन्ने विश्वास पनि गरिन्छ । यो कहाँबाट शुरू भयो भन्ने एकिन इतिहास पाइँदैन । साकेन्वा मानिएको माङ्गछावामा रहेको शिलालाई पुज्न थालिएको पुरानो इतिहास भने भोजपुरको आमचोक–४ स्थित छुङ्खाबाट शुरू भएको जानकारीहरू बताउँदै आएका छन् ।
आमचोक र खोटाङको जन्तेढुङ्गा–४ को बीचमा रहेको बुवा खोलाको किनारमा रहेको साकेला थानमा रहेको एक शिलालेखमा उल्लेख भएअनुसार एउटा घण्टीको टुक्रामा ६०६ साल लेखेको भेटिएका आधारमा वि.सं. ६०६ बाट उक्त स्थानबाट शिला पुज्दै आएको हो भन्ने गरिएको छ ।
किराती सभ्यता र संस्कृति रहेको उद्गमस्थल मानिएको आमचोक क्षेत्रमा बँदेलले बाली–नाली नष्ट गर्न थालेपछि ज्वाइँ–ससुरा भएर बँदेलको सिकार गर्ने क्रममा तीरले हान्दा घाइते बँदेल भोजपुरको साल्पासम्म पुगेर ढलेको र उक्त बँदेललाई लिन खोज्दा शिला भएको थियो । बँदेल शिलाको रूपमा परिणत भएपछि ससुरा–ज्वाइँ सोही स्थानमा बास बसेका थिए । ज्वाइँ–ससुराले सपनामा उक्त शिलाले म तिमीहरूको माङ्छामा हुँ । मलाई छुङ्खामा लगेर राख्नू, मलाई दश जोर ढोल, झ्याम्टा, धनु, तीर तोत्ला, सकोन्वालगायतका चिज–बिज चाहिन्छ भनेपछि शिलालाई छुङ्खा नागीमा लाने क्रममा चण्डी डाँडामा शिला बोकेर हिँडेका ज्वाइँ लडेपछि, शिला त्यहीँ गाडिएकोले दश गाउँका दश पगरी आई पुज्न थालेको भन्ने किंवदन्ती रहेको छ । सोही समयदेखि आमचोक, जन्तेढुङ्गा, रामप्रसाद गाउँपालिका, हतुवागढी, बोपुङलगायतका किरात समुदायले साकेन्वा मनाउन थालेको जानकारहरू बताउँछन् । यहीँको किंवदन्ती अनुसार प्रदेश १ का पहाडी जिल्लाका राईहरू बसोबास भएका स्थानमा सान्केवा मनाउन थालिएको जन्तेढुङ्गा गाउँपालिका डम्बर्खु शिवालय–३ का वडाअध्यक्ष विदुर राईले बताए ।
आमचोक साकेन्वाको उत्पत्ति स्थल
जन्ते ढुङ्गा गाउँपालिका र आमचोक गाउँपालिकाको सङ्गमस्थल बुवाखोलाको दोभानमा रहेको साकेन्वा मङ्छावामालाई पूजा गरेर भोजपुर आमचोक गाउँपालिकाको चण्डी डाँडामा पुगेर सिली नाच्ने गरिन्छ । पुस्तौंपुस्तादेखि यहाँका राईहरूले यसरी नै मनाउँदै आएको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । वैशाखे पूर्णिमाको पहिलो सोमबार यहाँ पूजाआज गरिन्छ । बिहान अदुवा, सोलोन्वा(जाँड र मोर्चा), भाले, चिण्डो, तोत्लाले पूजा गरेर माथि डाँडामा निस्किएर दिनभरि साकेला नाच्ने परम्परा रहेको छ । छुङ्खामा वर्षमा दुई पटक ठूलो मेला लाग्ने गर्दछ ।
साकेन्वामा पूजा गरेपछि पानी पर्ने विश्वास
स्थानीयका अनुसार वैशाखे पूर्णिमाको पहिलो सोमबार दश पगरीले ढोल, झ्याम्टा निकालेर साकेन्वा मङ्छावामालाई पूजा गरेपछि साँझ पानी पर्ने गरेको छ । वैशाखको चर्को घामले बारीमा लगाएको मकैबाली सुकेको अवस्थामा प्रकृतिपूजक किरातीहरूले ढोल, झ्याम्टा बजाएर पानी मागेपछि प्रकृतिले पानी पार्ने गरेको जनविश्वास रहिआएको छ । उक्त दिन बेलुका जहिल्यै पानी पर्ने गरेको आमचोक गाउँपालिकाका २ नं. वडाअध्यक्ष भीमबहादुर राईले बताए । यहाँ भाले पूजा गरेमा आफ्ना मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन्् । उदयपुर, खोटाङ, सुनसरी, मोरङबाट आपूmले चिताएको पूरा हुने विश्वासमा यहाँ भाले पूजा गर्ने भाकल गर्दछन् ।
आमचोक सरोकार समाज सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार किरात राईहरूको टोल वा गाउँ मिलेर प्रत्येक वैशाख र जेठ महिनाभित्र हरेक घरमा उँभौली र हुइलुङ पित्र (चुल्हा पूजा) गरिन्छ । यसमा प्रमुख भूमिका उक्त स्थानका मूल धामी या नछुङको हुनेछ । सो पूजा गर्दा चोखो (नचलाएको) कोदोको जाँड, मकैको बोट, पुर्खाले चलाएका ऐतिहासिक हातहतियार (खुँडा, तरवार), चिण्डो, अदुवालगायत अन्य विभिन्न सामग्रीलाई सजाएर सुप्तुलुङको वरिपरि सजाइन्छ । यो पितृपूजा गर्दा विशेष गरेर चुल्हामा सबैभन्दा पछि निधन हुनेको नाम बोलाउँदै क्रमशः अन्यको नाम नछुङले पुकार्दै अदुवा र चोखो जाँडले सुप्तुलुङको बलेको आगोतिर हानिन्छ वा चढाइन्छ ।
आफ्नो मनोकांक्षा पूरा गर्न हङ्कङ बस्दै आएका सुरेश राईले जेठ ६ गते रातो भाले पूजा गरेर हङ्कङ फर्किएका छन् । यस्तै यहाँको साकेन्वा थानको विश्वासमा धरान बगरकोटका बान्तवा सेकुवा कर्नरका सञ्चालक हरि बातन्वा पनि साकेन्वा मङ्छावामालाई पूजा गर्न आमचोक पुगेका थिए ।
देश–विदेशका राईलाई आमचोक ल्याउने योजना
वि.सं. ६०६ सालको इतिहास भेटिएको साकेन्वा मङ्छावामालाई दर्शन गर्न देशभरिका राई जातिलाई आमचोक भ्रमण गराउने वातावरण तयार गर्न आपूmहरू लागेको आमचोक गाउँपालिका अध्यक्ष अशोक राई बताउँछन् । यहाँको साकेन्वा मङ्छावामा, छुङ्खा थानलाई संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले विशेष योजना बनाएको उनले बताए । छुङ्खा थानमा पूजा गरेर साकेन्वा मङ्छावामासम्म पुग्न गाउँपालिकाबाट सिँढी निर्माण गरिएको छ । आगामी वर्षको बजेटबाट दश पगरीहरूको प्रतीमा निर्माण गरी यस क्षेत्रलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने अध्यक्ष राईले बताए । ‘यो किरात राई जातिहरू एक पटक आउनै पर्ने ठाउँ हो । यसको इतिहासलाई जीवित राख्न गाउँपालिकाले योजना बनाएर काम गर्नेछ’–अध्यक्ष राईले भने ।