वराहक्षेत्र । वराहक्षेत्रको वराह राइजिङ स्टार इङलिस स्कुलले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै सामाजिक संस्कार र संस्कृतिको व्यवहारिक शिक्षा दिन पहिलोपटक साकेला उँभौली कार्यक्रमको आयोजना गरेको छ ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि किताबी ज्ञान मात्र अधुरो हुने भएकोले उनीहरूलाई व्यवहारिक ज्ञान दिनका लागि नपाको निजी तथा सामुदायिक विद्यालयहरूमध्ये पहिलो साकेला कार्यक्रमको आयोजना गरिएको हो । विभिन्न समयमा भिन्न जातजाति, भाषा, संस्कृति परम्परालाई विद्यार्थीहरूमाझ प्रदर्शन गरेर उनीहरूलाई प्रत्यक्ष अवलोकन गराई विभिन्न जातजातिको चाडपर्व र परम्पराबारे बताउने विद्यालयको नियमित कार्यक्रम अन्तर्गत प्रकृतिपूजक किरात राईहरूको साकेला उँभौली आयोजना गरिएको वराह राइजिङ स्टार इङलिस स्कुलका प्रिन्सिपल विजयकुमार राईले बताए ।
बिदाको समयलाई सदुपयोग गर्दै साकेला सिलीको कार्यक्रम गरिएको प्रिन्सिपल राईले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति वराहक्षेत्र नपा–१ र २ का अध्यक्ष लालकुमार राईले विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त समाजका विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायको संस्कार र संस्कृतिका सम्बन्धमा प्रत्यक्ष बुझाउने विद्यालयको कदम उदाहरणीय भएको बताए ।
कार्यक्रममा २ सयको सङ्ख्यामा विभिन्न विद्यालय, सङ्घ–संस्थाका प्रतिनिधि, आदर्श माविका पूर्वप्राचार्य ओमकुमार शर्मा, नेपाली काङ्ग्रेस वराहक्षेत्र सभापति नारायण नेपाल, राष्ट्रिय एकता सञ्जालका विमल राईलगायतको उपस्थिति रहेको थियो ।
यस्ता कार्यक्रमले सामुदायिक सौहार्द्रता बढ्ने र विद्यार्थीहरूलाई नैतिकवान बनाउने भएकोले अन्य सामुदायिक तथा निजी विद्यालयले अनुसरण गर्नुपर्ने प्रमुख अतिथि राईले बताए । राइजिङ स्टार स्कुलको भवनमा बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म भाइस प्रिन्सिपल मणिकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विजय राईले गरेका थिए ।