धरान । अहिले किरात राईहरूको उँभौली पर्व चलिरहेको छ । राई समुदायको बाक्लो बस्ती भएका ठाउँहरूमा साकेला सिलीको रौनक छ ।
बिहीबार धरान–१५ को साकेला चोकस्थित साकेला धार्मिकस्थलमा धरानका विभिन्न वडाको साकेला सिली प्रदर्शन भयो । साकेला नाच्न हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर साकेलास्थान पुग्नेहरूमा युवापुस्ताको सङ्ख्या बाक्लो थियो ।
तिनै युवापुस्तामध्ये एक थिइन्, धरान–१५ की अनुशा राई । अनुशा साथीहरूसँग मौलिक पहिरन र गहना लगाएर साकेला नाच्न विभिन्न ठाउँमा पुग्छिन् । केही दिनअघि धरानको भानुचोकमा साकेला नाच्न पुगेकी अनुशा बिहीबार धरान–१५ मा उसैगरी रमाउँदै पुगिन् । उनले सुनाइन्, ‘हरेक वर्ष सिली परिवर्तन हुँदा राम्रो नाच्न त जान्दिनँ तर आफ्नो संस्कृतिको माया लाग्छ ।’
उनले जेठ १८ मा धरान–१७ स्थित साकेला पार्कमा हुने अन्तिम प्रस्तुतिमा पनि सहभागी हुने बताइन् ।
अनुशाजस्तै धेरै युवायुवतीका लागि साकेला आफ्नो संस्कृति सम्झिने र रमाइलो गर्ने अवसर बनेको छ । बिहीबार धरान–१५ को साकेलास्थानमा नाच्नेहरूमा युवापुस्ताको बाहुल्य थियो । जातीय पोसाकमा साकेलास्थान पुग्ने युवायुवतीहरू रमाइलो मानेर ढोल, झ्याम्टा बजाउने, गाउने र नाच्ने गरिरहेका थिए । किरात राई यायोक्खा सुनसरीले हरेक वर्ष उँभौलीका अवसरमा वडा–वडामा साकेला सिली प्रदर्शन कार्यक्रम राख्ने गरेको छ । यस्ता कार्यक्रमबाट युवापुस्ताको सहभागिता बढिरहेको छ ।
शुरुका दिनमा दौरा–सुरुवाल, गुन्युचोली लगाएर साकेला नाच्न लगाउने युवायुवती पनि अहिले विशेष अवसरका रूपमा आफ्नो मौलिक पहिरनमा नाचिरहेका भेटिन्छन् । १५ दिनसम्म नाचेर मनाइने साकेला अन्तर्गत यस पटकका लागि सुनसरीका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबार आ–आफ्नो ठाउँको सरसफाइ गरेर शनिबार धरान–१७ मा साकेला सिली प्रतियोगीतासहित भव्य कार्यक्रम आयोजना हुने अध्यक्ष बलराम राईले बताए ।