बेलबारी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण बारे किरात राई यायोक्खाले उठाएको नामको बारेमा ध्यानाकर्षण र छलफल भइरहेको बताएका छन् ।
बुधवार मोरङको बेलबारीमा आयोजित उभौली साकेला कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले किरात प्रदेश तर्फ संकेत गर्दै सोही विषयमा छलफल गरेको बताएका छन् । किरातीहरुको प्राण भनेको नै भाषा, सँस्कृति र मौलिक पहिचान रहेको उनले बताए ।
किरात राई यायोक्खा नगर समिति बेलबारीको आयोजनामा भएको कार्यक्रममा भाषा सँस्कृति र पहिचान नरहेमा हामी बाँच्नुको अर्थ नरहेको सहभागतिहरुको बनाई थियो ।
किरात राई यायोक्खा बेलबारीले करिब ८ लाख लागतमा निर्माण गरेको यलम्वरको शालिकको मुख्यमन्त्री राईले अनावरण गरेका थिए । साथै किरात राई यायोक्खा बेलबारीले प्रकाशन गरेको स्मारिकाको समेत लोकार्पण गरेका थिए । कार्यक्रममा यायोक्खाको मौलिक नृत्य साकेला प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुलीलगायतको उपस्थिति रहेको थियो ।