ज्यानको बाजी थापेर गीत गाइन्थ्यो
सत्तामा अहिले बामपन्थीहरू चढेका छन् । त्यो समयमा पञ्चायतले कम्युनिष्टहरू, त्यसमा पनि झापालीहरूलाई देख्ने बित्तिकै घुँडामुनि गोली हान्थ्यो । त्यो बेलाका कम्युनिष्ट नेताहरू भागेर इण्डिया गए । कोही भूमिगत भए, कोहीलाई समातेर जेलमा हालियो कोही चाहिँ पञ्चायतमै पसेर आफ्नो सिद्धान्तलाई भ्रष्ट पारे । गद्दारी गरे भनौं न । त्यस्तो बेलामा हामीले गीतहरू गाएर कम्युनिष्ट भनेका दुःखी गरिबको समानताका निम्ति, न्यायका निम्ति जिम्मेवार हुन्छन् भनेर बतायौं । पञ्चायती व्यवस्थामा आज मार्ला कि, भोलि मार्ला कि, अहिल्यै मार्ला कि भन्ने अवस्थामा हामी मात्र थियौं मैदानमा गीत गाउने त । 

२००७ सालको समयमा पनि केही क्रान्तिकारी गीतहरू काङ्ग्रेसले गाएको थियो । मेरा दाइ काङ्ग्रेस हुनुहुन्थ्यो । तर प्रगतिशील काङ्ग्रेस । २००७ सालको क्रान्तिमै जसको जोत उसको पोत, क्रान्तिकारी भूमि सुधार, महिला अधिकार, समानता, हली–गोठालालाई शक्तिशाली बनाउने, उनीहरूलाई जमिन दिने, भूमिको मालिक बनाउने जस्ता नारा ल्याएर सङ्घर्ष गरे । हामीमा पनि त्यसैको प्रभाव परेको थियो । २०२३ सालसम्म रेडियो नेपालमा माया प्रितीका गीतहरू गायौं । तर पछि न्याय र समानताको गीत गाउने बित्तिकै सबैले प्रोत्साहन दिए, आहा १ यस्तो गीत पो गाउनु पर्छ त भनेर । त्यसपछि त्यस्तै गीतमा लाग्यौं ।

तेह्रथुमबाट गायन
मेरा बुबा जागिरे हुनुहुन्थ्यो । पाल्पामा मेरो जन्म भयो । त्यसपछि बा को जागिरसँगै डोटी पुगियो । त्यसपछि सिन्धुपाल्चोक, काठमाडौं पुगियो । तेह्रथुममा ८ वर्ष बसेँ, त्यहाँको सिंहबाहिनी स्कुलको एसएलसीको पहिलो ब्याचको विद्यार्थी हुँ म । तर एसएलसी परीक्षा चाहिँ धरानको पब्लिक हाईस्कुलमा २०१६ सालमा दिएँ र पास गरेँ । तेह्रथुमको सेण्टर धरानमा परेको थियो । तेह्रथुममा हुँदा नै २०१४÷१५ सालदेखि नै गाउँथेँ । साथीहरूले सर यसले पनि गाउँछ, मादल बजाउँछ, बेन्जो बनाउँछ भनेर सुनाउँथे । त्यसपछि स्कुलका कार्यक्रममा मलाई गाउन लगाउँथे । पछि बालकलाकार भनेर तेह्रथुममा हुने सांस्कृतिक कार्यक्रमहरूमा मलाई बोलाउन थालेँ । मादल पनि बजाउँथेँ, तबला पनि बजाउँथेँ । त्यसपछि त कलाकारको रूपमा तेह्रथुममा चिनिएँ ।

२०१८ सालमा बुबा रिटायर्ड हुनुभयो । त्यसपछि ओखलढुङ्गा गयौं । त्यहाँका कार्यक्रमहरूमा गीतहरू गाइयो । त्यसपछि दिक्तेलतिर गाइयो । पहिला ओखलढुङ्गा, दिक्तेलमा टिचर भएर काम गर्दा पनि गाउँथेँ । जहाँ गए पनि गीतहरू गाउने गर्दागर्दै २०१९ सालमा काठमाडौंमा रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा प्रतिनिधि भएर गएँ । मैले लोकगीत गाएको थिएँ । त्यहाँ गाएपछि प्रतियोगितामा त केही भइएन तर नातीकाजी दाइले ‘अहो १ तिम्रो गीत त अरुभन्दा बेग्लै छ गीत गाउन नछोड्नू है’ भन्नुभयो । उहाँको भनाइले हौसला जाग्यो ।

‘पछि काठमाडौं आउनू हामी छौं’ भनेर नातीकाजी, शिवशङ्कर दाइहरूले भन्नुभयो । त्यही आशाले २०२१ सालमा काठमाडौं गयौं । एक वचनले जीवन परिवर्तन हुन्छ । पुगेपछि हामीलाई गीत गाउने व्यवस्था गरिदिनुभयो । त्यसबेला रेडियो नेपालमा एउटा गीत रेकर्ड गरेको पारिश्रमिक १० रुपैयाँ दिइन्थ्यो । तर हामीलाई पैसा दिएनन् । हाम्रो पैसा त्यहीँका मान्छेले खाइदिँदा रहेछन् । हामीले जाल गरेर पैसा खाएकोमा मुद्दा ग¥यौं । अनि हामीलाई पनि रेडियो नेपालमा गीत गाउन बन्देज गरियो । हाम्रै गीतले नामी हुने अनि हाम्रै पैसा खाइदिने तिमीहरू भ्रष्टाचारी भनेर विरोध गर्यौं ।

कोही त भने जहाजमा सरर....
पारिजात दिदीले हाम्रो गीत रेडियोबाट सुन्नुहुँदो रहेछ । रेडियो छाडेपछि उहाँले बोलाउनु भयो । हामीले पनि गीतहरू सुनायौं । त्यतिबेला मदन पुरस्कार पाएर चर्चित हुनुभएको उहाँले ‘तिमीहरूलाई परिचित गराउनुप¥यो’ भनेर राल्फा समूह निर्माण गरेर हाम्रा गीतहरू ठूल्ठूला सङ्गीतज्ञ, राजनीतिज्ञ, साहित्यकारलाई कोठामै बोलाएर सुनाउन थाल्नुभयो । त्यसपछि हाम्रो कार्यक्रम नेपालका विभिन्न ठाउँ र भारतका दार्जिलिङ, कालिम्पोङ, आसामसम्म हामीलाई लिएर पुग्नुभयो । त्यसपछि हाम्रा गीतहरूका चर्चा भयो । हामी पनि स्थापित भयौं त्यहीँबाट ।

त्यतिबेला मञ्जुलले लेखेको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू’ गीत मेरै सङ्गीतमा गाइयो । त्यो गीत सुन्नेहरूले ‘यस्तो गीत पो गाउनु पर्छ’ भनेर हौस्याए । त्यसपछि हामीले केही लक्ष्य बोकेका सार्थक गीतहरू गाउन थाल्यौं । रेडियो नेपाल छाडेर यस्ता गीत गाउन थालेपछि सरकारले जनता भड्काए भन्न थालिहाल्यो । हामी पञ्चायतको ठाडै विरोध गरेर गीत गाउँथ्यौं । त्यसैले पनि यो व्यवस्था विरोधी गीत भन्थे । ‘पञ्चायती व्यवस्था नढाली देश कहिले उँभो लाग्दैन’ भनेर गीत गाउँथ्यौं । त्यस्तै गीतहरू गाउँदै गाउँ–गाउँ पनि जान थाल्यौं । तर गाउँलेहरूले यस्ता क्रान्तिकारी गीत त हामी बुझ्दैनौं । हामीले बुझ्ने गीत गाऊ भन्न थाले । त्यसपछि ‘कोही त भने जहाजमा सरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा’ गीत बनायौं २०२७-२८ सालतिर ।  

चिउरा मिलमा जनवादी गीत
पूर्वका गाउँहरूमा धेरै गीत गायौं । त्यसबेला धेरै समय त धरानमा बसेर भूमिगत शैलीमा गीतहरू कम्पोज र रेकर्ड गथ्र्यौं । पूर्वका धनकुटा, इलामलगायतका गाउँ–गाउँमा कार्यक्रम गर्दै हिँड्थ्यौं मञ्जुल र म । २०३२ देखि ३६ सालसम्म त धरान हाम्रो अखडा नै थियो । धरानको चतरालाइनमा अहिलेका फुटबल प्रशिक्षक राजुकाजी शाक्यको घरमा मेरो भाइ अरिमले ‘रेडियो शृङ्खला’ भनेर दोकान थापेको थियो । त्यही घरभित्र लुकेर जनवादी गीतहरू बनाउँथ्यौं । त्यसैको छेउमा एउटा चिउरा मिल थियो । त्यसभित्र ढोका थुनेर क्यासेट प्लेयरमा चक्का लगाएर गीतहरू रेकर्ड गथ्र्यौं । 

पार्टीका गीत गाइयो
२०२९ तिर राल्फा छाडेपछि हामी नेकपा माले तिर जोडिएका थियौं । त्यसैले गीत गाएर मालेको अभियानलाई सफल पार्न लागिपरेका थियौं । त्यहाँभित्र पनि त्यही त हो नि, अलिकति मान्छेमा अहम् भयो । लडाउनका लागि शक्तिहरू पनि आउन थाले । शुरुमा पारिजात दिदी, रायन, अरिम, मञ्जुल, म, निनु चापागाईं, निरञ्जन सापकोटा, नोरेन श्रेष्ठलगायत थुप्रै थियौं । 

राल्फाका एक हुल कलाकार पारिजात दिदी, निनु, रायनहरू मोहनविक्रम, निर्मल लामाको कम्युनिष्ट पार्टी चौथो महाधिवेशन मसालमा लागे । अरिम, मञ्जुल र म चाहिँ झापाली माले कम्युनिष्ट पार्टीतिर लाग्यौं । यसरी हामी राल्फा कलाकार दुईटा कम्युनिष्ट पार्टीमा बाँडिएर गीत गाउन थाल्यौं । 

गीत त दुवैतिर त्यही थिए । पञ्चायत विरोधी र कम्युनिष्टका गीतहरू । गीत चाहिँ उस्तै गाउने तर दुईटा पार्टी भए पनि सम्बन्ध चाहिँ राम्रो भएन । दुवै पार्टीको नीति एउटै हो । कार्यक्रम पनि एउटै खाले हुन्थे । नेपालमा जनवादी सत्ता स्थापना गर्ने भन्ने नै हुन्थ्यो । नेपालका कम्युनिष्टहरूलाई सत्तामा पुर्याएर दुःखी गरिबको शासन ल्याउने भन्ने थियो पार्टीको पनि, हामी कलाकारको पनि । 

हामीले जनतालाई मालिक बनाउने भनेर अभियान नै चलायौं । तर पछि गएर विस्तारै चेञ्ज हुँदाहुँदा त्यही पञ्चायती व्यवस्थाको सत्तासँग गएर उनीहरूले आत्मसमर्पण गरे । नेताहरू भूमिगत हुँदा, पक्राउ पर्दा पनि हामी ‘गाउँ–गाउँबाट उठ’ भन्दै गीत गाएर हिँड्थ्यौं । 

‘गाउँ–गाउँबाट उठ.....’
२०३१ सालमा श्याम तमोटलाई भोजपुरमा एउटा स्कुलको कार्यक्रममा सर भोलि एउटा स्वागत गीत चाहियो भनेर बनाउन लगाएका रहेछन् । स्कुलको स्वागत गीत जस्तो लेखेर श्यामले पनि गाउनुभएछ । उहाँहरूले त गाउनु भयो सकियो । तर त्यहाँ एउटा केटोले त्यो गीत सुनेर खुब मन पराएछ । त्यसले काठमाडौं आएर ‘दाइ मैले भोजपुरमा एउटा गीत सुनेँ’ भन्यो । मैले ‘कस्तो थियो गाउन आउँछ ?’ भनेर सोधेँ । उसले आउँछ भनेर गाएर सुनायो ।

त्यसपछि मैले सिकेर गाउन थालेपछि गीतले चर्चा पाउन थाल्यो र व्यापक भयो । त्यतिबेलासम्म श्याम तमोटसँग भेट भएको थिएन । पहिला साहुको ऋण तिरेर गा’को छोरो भन्ने गीत आउँथ्यो । भोजपुरको श्याम तमोट भन्ने एउटा केटोले बनाएको रहेछ भन्ने सुनेको थिएँ ।  संयोगले त्यो गीत मकहाँ पनि आइपुग्यो । सबैले मन पराएपछि अरु भाषामा यो गीत गाइयो । त्यसो गर्दागर्दा यो अन्तर्राष्ट्रिय भइसक्यो । 

नेताले बेइमानी गरे
नेताहरूको व्यवहार देख्दा साह्रै दुःख लाग्छ । बेइमानी भयो । करोडौंको जीवनमा घात भयो । त्यो बेला झलनाथलाई कसले चिन्थ्यो ? । खड्ग ओली कहाँ थिए ? । मदन भण्डारी हामीलाई धरानमा पार्टीको क्लास लिन्थे । भूमिगतकालमा मदन भण्डारीको नाम कमरेड सागर थियो । हामीलाई यस्तो गीत गाउनुपर्छ भनेर क्लास लिने मान्छेले २०४६सालपछि मन पर्ने गायक नारायण गोपाल हो भने । जबकी उनीहरूले नै हामीलाई क्लास लिँदा ‘नारायण गोपाल भनेको स्वरले भ्रमित पारेर गीत गाउने मान्छे भन्थे । नारायण गोपाललाई बाहिर मीठो, गुलियो लाग्ने तर भित्र विष हालेको हुन्छ, सुगर कोटेड गीत हो’ भन्थे हामीलाई प्रशिक्षणमा । 

उनीहरूलाई एउटा कार्यकर्ता बनाउन कति समय लाग्थ्यो । हामीले गीत सुनाएर हजारौंलाई कार्यकर्ता बनायौं । जुन गीतले उनीहरू माथि पुगे, नेता भएपछि शहरमा पुगेपछि त्यही विष हालेको गीत भन्नेहरूले नै मन पर्ने गायक नारायण गोपाल भन्दा उनीहरूको नियत के रहेछ भन्ने बुझियो । 

अहिले उनीहरू हामीलाई देख्ने बित्तिकै तर्सिन्छन् । उनीहरू हामीलाई भेट्नै चाहँदैनन् । हामी पनि किन भेट्न जाने उनीहरूलाई । तर खड्ग ओलीले हामी उहाँहरूकै गीतबाट माथि उठेका हौं । हामीले गल्ती गर्दा गाली गर्ने अधिकार छ, उहाँहरूलाई भन्छन् अरे । उनीहरूकै कार्यकर्ताले सुनाउँछन् ।

माओवादीबाट पनि आशा मर्यो 
माओवादी निर्वाचनमा आएपछि अन्तिम विकल्पका रूपमा माओवादीलाई भोट माग्यौं । बीसौं हजार गरिब–दुःखी जनताका छोराछोरीले बलिदान दिए । यिनीहरूले धोका दिँदैनन् । यिनीहरू सेना बनाएर लडे, त्यसैले अन्तिम शक्ति हो भन्ने सोच्यौं । काङ्ग्रेस त्यही हो, माले, एमाले त्यो रूपमा गएर भ्रमित भयो । त्यसैले माओवादीले हामीले त्यसबेला सोचेको सपना पूरा गर्छ भन्ने आशा लाग्यो ।

त्यसैले भोट माग्यौं तर मैले माओवादीकै कार्यक्रममा उहाँहरूले पनि धोका दिनुभयो भने जनताले दण्डित गर्नुपर्छ भनेर भनेको छु । उनीहरूले किन हामीलाई कार्यक्रममा बोलाए थाहा छैन तर मैले उनीहरूका जुन कार्यक्रममा पनि तपाईहरूले धोका दिनुभयो भने जनताले अरुलाई भन्दा डब्बल दण्डित गर्नुपर्छ भनेँ । उनीहरूलाई काङ्ग्रेसले भोट हाले, भित्रभित्र एमालेले भोट हाले । यिनीहरूले केही गर्न सक्छन् कि एकपटक भोट दिउँ भनेर माग्यौं तर करोडौंको आशामा कुठाराघात भयो । अन्तिममा त यिनीहरू एमालेभन्दा पनि ठूलो घातक भएर निस्किए । यी त व्यापारी, खर्बौं रुपैयाँको मालिक भए । माओवादीले त विदेशबाट भयानक षड्यन्त्र ल्यायो । त्यसकारण यिनीहरू झन् ठीक छैनन् भन्ने लाग्यो ।

प्रचण्डकै पुराना अन्तरवार्ता हेर्नुस् न । हामीले गाउँ–गाउँबाट उठ गीतले चेतना जगाएको, बसाइ हिँड्नेको ताँतीले गीत गायौं भनेका छन् । अलिपछि आएर उनले पनि नारायण गोपालै मनपर्छ भन्न थाले । के हो यो । नैतिक पतन हो कि, अज्ञानता पो हो कि । जनतामा भ्रम छरेको पो हो कि । त्यसकारण यिनीहरूमा राजनीतिक इमान्दारिता, चेतना पनि थियो कि थिएन भन्ने शङ्का लाग्न थाल्यो । सत्ता प्राप्तिका निम्ति तिकडम पो रचेका हुन् कि । षड्यन्त्रको जाल पो हानेको हो कि । यिनीहरूले राजनीतिक सिद्धान्त पनि राम्रोसँग पढेका छैनन् जस्तो लाग्छ । राजनीति भनेको चाकडी, चुक्ली, साम दाम, दण्ड भेद, धम्क्याउने, तर्साउने मात्र बुझेका छन् यिनीहरूले । यिनीहरूलाई विदेशीले बोकेका छन् । त्यही भएर नेपाली जनताले पछिल्लो पटक साथ दिएनन् । 

जनताले जबसम्म मालिक हुने चेतना बोक्दैनन्, तबसम्म यो राजनीतिक धोकाधडी चलिरहन्छ । मनपरी गर्नेलाई समातेर कसैले दण्डित गर्न सक्दैन भने उसले जे पनि गर्छ । तर उनीहरूलाई सम्मान पनि गर्ने र गल्तीमा दण्डित पनि गर्ने हो भने मात्र ब्यालेन्स हुन्छ । जनताले दण्डित गर्न नसकेकाले अहिले हाम्रो राजस्वमा खेलवाड गरिरहेका छन् । यो सब हामी जनताकै कमजोरी हो । त्यसैले जनतालाई अझै जगाउनु पर्छ ।

जनता भनेको को हो । नेपालीहरूले प्रष्ट बुझ्नु पर्छ । जो श्रम गरेर खान्छन् ती जनता हुन् । जो श्रम नगरी ठगी गरेर खान्छन् ती जनता होइनन् , जनताका शत्रु हुन् । जनता कुनै पार्टीको होइन, देशको भएर इमान्दारिता देखाउनु पर्छ । हाम्रो खुन पसिनाबाट जम्मा भएको राजस्व लुटिखानेहरूको पक्षमा लाग्ने पनि जनता हुन्छ त ? अहिले जनताले बुझ्न थालिसकेका छन् । 

जनता मालिक हुने दिन आउँछ  
हामीले नयाँ गीत बनाएका छौं, ‘उहिले जस्तो छैन है अब नेपालमा, तिम्रो हुकुम चल्दैन है अब नेपालमा’ । अझै जनतालाई नै जगाउन आवश्यक छ । नेताहरूलाई चाहिँ सचेत गराउने हो । अब जनता मालिक बन्छन् तिम्रो मनपरी चल्दैन भनेर । भोट लिने बेलामा चाहिँ जनता मालिक भन्ने भोट पाएपछि जनतालाई नोकर बनाउनेहरूलाई सचेत गराउने हो ।

अब तपाई हाम्रो इमान्दारितामा देश चल्नुपर्छ । नेपालमा अहिले जताततै बिचौलिया । केही काम गर्नु परे पनि पैसा माग्छन् । भ्रष्टाचार चरम सीमामा पुगेको छ । राजनीति पहिला दरबारमा थियो, त्यसपछि हामीले पार्टीमा ल्यायौं, अब जनतामा लाँदैछौं । जसले राजनीति गर्छ, उसले सम्मान पाउँछ, शक्ति पाउँछ, सत्ता पाउँछ, सम्पत्ति पाउँछ । हिजो राजासँग अहिले पार्टीसँग भएका ती सम्मान, शक्ति, सत्ता र सम्पत्ति अब जनताका हुन्छन् । हिजो हामीसँग बाटो खर्च माग्ने नेताहरू अहिले अर्बौं, खर्बौंको मालिक भए । अब जनता मालिक हुने दिन आउँछ ।