उर्लाबारी/ किरात राई समुदायले शनिबार उर्लाबारीमा उँभौली साकेला पर्व भव्यरूपमा मनाएका छन् । किरात राई यायोक्खा नगरसमिति उर्लाबारी–मङ्गलबारेको कार्यालयपरिसरमा आयोजना गरिएको उँभौली पर्वमा किराती मात्र होइन, गैह्रकिरातीहरूले पनि नाचेर पर्व मनाएका छन् ।
कार्यक्रममा राई समुदायको साकेला र साकेन्वा नाच, मगर समुदायको हुर्रा नाच, किरात याक्थुङ चुम्लुङको केलाङ नाच, तामाङ समुदायको सेलो, नेवार समुदायको लाठीनाच तथा दनुवार समुदायको सामूहिक नाच परम्परागत जातीय भेषभूषामा सजिएर प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको थियो । नगरका संस्थागत विद्यालयका विद्यार्थीहरूले पनि पराम्परागत पहिरहनमा सजिएर नृत्य प्रदर्शन गरेका छन् ।
नगरसमितिका अध्यक्ष केशरमान राईको अध्यक्षता तथा प्रदेश सांसद् कुशल साम्बा लिम्बूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि साम्बासहित उर्लाबारी नगरपालिकाका उपमेयर लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका प्रवक्ता भानुभक्त शर्मा पराजुली, नेवार समाजका अध्यक्ष मणिलाल श्रेष्ठ तथा समाजसेवीहरू भूपाल जिमी, मुक्तिप्रसाद न्यौपाने, विद्या चाम्लिङ तथा आयोजक संस्थाका वरिष्ठ सल्लाहकारहरू किशोरचन्द्र रार्ई, कृष्ण राईलगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि साम्बालाई सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको थियो । सांसद् साम्बाले संसद् विकास कोषबाट किरात राई यायोक्खाको साकेलाथान निर्माणका लागि दशलाख सहयोग गरेका कारण सम्मान गरिएको सचिव नारायण चाम्लिङ राईले बताए ।