धरान/ भोजपुरबाट बसाइँ सरी आउने क्रममा वान्तवा राईको सोक्तिम पाछाका एक परिवार हालको वराहक्षेत्रस्थित चौदण्डा मूल गाउँ तीनधारेमा आइपुग्यो । घना जङ्गल रहेको सो क्षेत्र फडाँनी गरे । वरिपरि जलाशय रहेको क्षेत्रमा ठूलाठूला पोखरी थिए । पोखरीमा नागहरू बस्दथे । त्यस जङ्गलमा सर्प, हात्तीलगायतका अनौठा जनावरहरू देखा परे । जङ्गल फँडानी गरेर घर बनाएका घरमूलीले अनौठो सपना देखे ।

सपनामा देवीको मन्दिर लुप्त अवस्थामा रहेको र त्यसलाई उद्धार गरी पूजा आरधना गर्नुपर्ने सपनामा वरदान पाए । सपनाकै आधारमा ती राई घरमूलीले देवीको उत्थान गरे । देवीको मन्दिरलाई भवानी स्थान भन्न थालियो । स्थानीयका अनुसार त्यहाँ रहेका ठूलाठूला पोखरीहरू केही दशकसम्म थिए । तर पछि पानी सुक्दै गयो । पोखरी पुरिँदै गए । त्यसका केही अवशेषहरू अहिले पनि देख्न सकिन्छ । तीनधारेमा अझै पनि स्थानीयले नागको पूजा गर्छन् । भवानीस्थानको मन्दिर वर्षमा एकपटक मात्र वैशाख पूर्णिमाका दिन खुला हुने गर्छ ।

वि.सं. १९९२ सालमा जन्मेका हालका पुजारी शेरबहादुर राई ८४ वर्षका पुगे । पुराना कुराको उनलाई स्मरण छैन । तर उनका छोरा दीपक राई (३५) उत्तराधिकारी हुने तयारीमा छन् । ‘बुवाले अब पूजाआजा गर्न सक्नुहुन्न, यो वर्ष पनि गाउँलेहरूको अनुरोधले गर्दा बुवाले नै पूजा गर्नु भयो,’ पुजारीका छोरा दीपकले भने,‘बुवा नै ८४ वर्ष पुग्नु भयो, पुराना कुरा अहिले त कति बिर्सनु भयो, अब यो दायित्व हामी छोरामा सरेको छ ।’

१४ वर्ष नेपाली सेनामा जागिर खाएर उपादानमा अवकाश लिएका दीपकले परम्परादेखि आफ्ना परिवारले गर्दै आएको मन्दिर र देवीको सेवा गर्नुपर्ने भएको छ । उनी यसका लागि तयार पनि छन् । ‘हाम्रो परिवारबाटै पुजारी भएको झण्डै १२ पुस्ता भइसक्यो,’ दीपकले भने, ‘पुस्तान्तरण हुने प्रक्रिया ठ्याक्कै एउटै छैन, मैले गर्न सकिनँ भने मेरो भाइले गर्छ वा परिवारबाटै अन्यले गर्छन् ।’ पछिल्ला केही पुस्तादेखि पुजारीहरूको तथ्याङ्क राख्न समेत उनीहरूको प्रतिमा स्थापित गरेर मन्दिर निर्माण गर्ने चलन चलेको दीपक बताउँछन् ।

मन्दिरका बारेमा आफूलाई पनि उत्ति धेरै ज्ञान नभएको बताउने दीपकले अब आफूले जिम्मेवारी लिएपछि अध्ययन गर्ने बताए । ‘मैले पनि किम्वदन्तीका रूपमा सुन्दै आएको हुँ यसका शास्त्रीय प्रमाणहरू पनि केही छन् कि भनेर अध्ययन गर्ने विचार गरेको छु ।’ दीपक भन्छन् । भवानी स्थान मन्दिरको जग्गाजमिन पनि धेरै नै रहेको बताउने दीपकले त्यसको खोजीनीति पनि गर्ने बताए ।

१५ वर्ष अघिदेखि पुनर्निर्माण छैन
मन्दिरको आर्थिक अवस्था राम्रो नभएका कारण मन्दिर जीर्ण अवस्थामा पुगेको छ । स्थानीय सरकार आएपछि वडा कार्यालयबाट मन्दिर जीर्णोद्वार र पुनर्निर्माणका लागि केही रकम दिए पनि त्यो पर्याप्त नभएको स्थानीय श्यामबहादुर राई बताउँछन् । १५ वर्षअघि एकपल्ट बनाएको थ्यो, त्यसपछि त यस्ताको यस्तै देख्छु,’ श्यामबहादुर भन्छन्, ‘अब बजेट दियो भने त पक्का पनि बनाउन सकिन्छ, पुरानो मन्दिर हो नगरपालिकाले पनि हेर्नुपर्यो ।’

मन्दिरका पुजारी शेरबहादुरका छोरा दीपक राईकै अध्यक्षतामा श्री भवानी युथ क्लब छ । मन्दिरको पुनर्निर्माणका लागि आर्थिक सहयोग क्लबले उठाउँदै आएको छ । क्लबकै अग्रसरता र स्थानीय पञ्चाहाङ राई (निमेष) को अध्यक्षतामा भवानी मन्दिर संरक्षण समिति पनि गठन भएको थियो । समितिले मन्दिरका लागि केही पिल्लर र घेराबेरा लगाउन शुरु गरेपनि बजेट अभावमा काम थाँती रहेको थियो । वैशाखे पूर्णिमाका दिन बोका, राँगा, हाँस, परेवालगायत पशुपन्छीको बली दिई भाकल बुझाउने गरिन्छ । स्थानीयको किम्वदन्ती र शास्त्रीय प्रमाणका आधारमा भवानी स्थानको उपस्थिति रहे पनि व्याख्या भने फरक ढङ्गले गरेको पाइन्छ ।

भवानी स्थानलाई वराह पुराणले आदि वराही भगवती भनेको छ । अर्चलेमा अवस्थित यो मन्दिरका बारेमा वराह पुराणमा लेखिएअनुसार विष्णु भगवान्ले वराहको रूप धारण गरेर वराह कुट पर्वतमा पुगे । त्यसबेला वराह भगवान्को साथमा महालक्ष्मी वराही अवतारमा थिइन् । र यो स्थानमा विराजमान भइन् । शास्त्रमा समेत उल्लेख र पुरातात्विक महत्व बोकेको यो क्षेत्रको पुनर्संरचना र पुर्निर्माण आवश्यक रहेको स्थानीय युवा तथा भवानी युथ क्लबका सचिव शिवराज राई बताउँछन् । वराहक्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटनमा यस्ता सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको मत छ ।