साकेला सिली नाचौं है
पुर्खाको रीति राखौं है....
धरानको विजयपुरस्थित ‘बुद्धिकर्ण रायको दरबार’ क्षेत्रमा शनिबार दिनभर ढोल झ्याम्टाको तालमा यस्तै गीत गुञ्जियो । किरात राई समुदायका युवादेखि वृद्धवृद्धासम्म आफ्नो मौलिक पहिरनमा ‘साकेला सिली’ नाचे ।

विजयपुरको साकेला थानमा नछुङ (धामी)ले पूजा शुरु गरेपछि थान वरिपरि ढोल, झ्याम्टा बजाउँदै साकेला सिली शुरु भयो । त्यसपछि धरानका विभिन्न वडाका स्थानीयहरू बेग्लाबेग्लै ठाउँमा नाच्न थाले । धरान–१३ शिवधाराका रेजिना राई, रेणु राई, रिना ह्योल्मो राई, राकेश राई समूहमा सिली मिलाउने प्रयास गरिरहेका थिए । उनीहरूका तीनपुस्ता साकेला थान पुगेका थिए । मौलिक पहिरनमा सिली नाच्दै गरेकी रेजिनाले भनिन्, ‘राम्रोसँग नजाने पनि नाच्न रमाइलो लाग्छ । हामी बाजे, बोजू, आमा, अङ्कलहरूसँग मिलेर आएका हौं ।’

रिना ह्योल्मो पनि राईको मौलिक पहिरन लगाएर साकेला थान पुगेकी थिइन् । उनले नाच्न नजाने पनि अरुले नाचेको आफूलाई मन पर्ने बताइन् । उनले भनिन्, ‘सबैको संस्कृतिको सम्मान गर्नुपर्छ ।’ किरात राई समुदायको बाक्लो बस्ती रहेका क्षेत्रहरूमा अबको १५ दिनसम्म यसरी नै ढोल, झ्याम्टा बजाउँदै ‘साकेला सिली’ नाचिरहेको दृश्य देखिन्छ । गाउँका चौतारा, आँगनमा अनि शहरका चोक–चोकमा ढोल, झ्याम्टाको तालमा ‘सोई ढोले सोई, अर्को ढोले खोइ’ भन्दै नाच्ने युवापुस्ता उत्तिकै रमाइरहेका भेटिन्छन् ।

राई समुदायको जनसङ्ख्या धेरै भएका धरान, भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, ओखलढुङ्गालगायतका क्षेत्रमा वैशाख पूर्णिमादेखि १५ दिनसम्म यसरी नै साकेला नाचेर चाड मनाउने प्रचलन छ । परम्परागत रूपमा घर–घरमा अन्न, ढुङ्गा–माटो, वनजङ्गल, कुलदेवताको पूजा गरेर पूजाथान वरिपरि विभिन्न चराचुरुङ्गी र जनावरको हाउभाउ प्रदर्शन गर्दै नाचिने साकेला सिली पछिल्लो समयमा चोक–चोकमा नाच्ने चलन छ ।

सांस्कृतिक प्रचारको लागि पनि पछिल्लो समय सामूहिक रूपमा चोक–चोकमा साकेला नाच्ने अभियान सञ्चालन गरिएको पाइन्छ । धरानमा त हरेक वर्ष साकेला सिलीको बृहत् प्रदर्शनीसँगै प्रतियोगिता नै हुन्छ । यसपटक पनि किरात राई यायोक्खाले सुनसरीका धरान, इटहरी, वराहक्षेत्र, बक्लौरीलगायतका क्षेत्रमा जेठ १८ सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ । राई जातिको बसोबास रहेको नेपाल तथा अन्य देशहरूमा पनि साकेला मनाउने गरिन्छ ।

सरकारले २०५८ सालदेखि उँधौली र २०६४ सालदेखि उँभौलीलाई राष्ट्रिय चाड घोषणा गरेर सार्वजनिक बिदासमेत दिन शुरु गरेपछि उँभौली र उँधौलीको रौनक झनै बढ्दो छ । राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जाति पर्ने किरात समुदायमा वैशाख पूर्णिमालाई उँभौली र मङ्सिर पूर्णिमालाई उँधौली भनेर मनाउने प्रचलन छ । राई समुदायले उँभौलीलाई बढी प्राथमिकता दिएर भव्यरूपमा मनाउने गरेको पाइन्छ भने लिम्बू समुदायले उँधौलीलाई चासोक तङ्नामका रूपमा भव्यताका साथ मनाउँछन् । तर सबैले दुवै अवसरमा पूजा भने गर्ने गरेका छन् ।

राईहरूले वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाले पालुवा लाग्ने समय, जाडो छल्न मधेसतिर झरेका चराचुरुङ्गी र माछाहरू आफ्नै थातथलोतिर फर्किने बेलालाई विशेष मान्छन् । उनीहरूले वैशाख पूर्णिमामा पर्ने उँभौलीमा घर–घरमा चुला पूजा गरी ढोल, झ्याम्टा निकाल्छन् । त्यसपछि विभिन्न जीव जनावरको नक्कल गर्दै सिली नाचिन्छ । १५ दिनसम्म मनाइने यो उँभौलीमा खेतीपाती लगाउने समय भएकोले अन्नबाली वा उब्जनी बढोस्, प्राकृतिक प्रकोप नहोस् अर्थात् आँधीवेहरी, असिना, अतिवृष्टि, अनावृष्टि, रोगव्याधी नलागोस् भनी आराध्यदेव सुम्निमा र पारुहाङसँग शक्ति एवम् आशिर्वाद मागिन्छ ।

किरातहरू उँभौली÷उँधौली पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि नै प्रचलनमा आएको विश्वास गर्छन् । उनीहरू मानवलाई खेती गर्ने ठाउँ दिने प्रकृति तथा खेती गर्न सिकाउने पूर्वजका सम्झना र सम्मानमा भूमिपूजा गर्छन् । किरात समुदायमा पर्ने राई, लिम्बू, सुनुवार र याक्खा जातिले अन्नबाली रोप्ने मौसम अर्थात् वैशाख पूर्णिमालाई उँभौली र फलेको अन्नबाली थन्क्याउने मौसम अर्थात् मङ्सिर पूर्णिमालाई उँधौली भनेर महान् चाडका रूपमा मनाउँछन् । उँभौलीको अवसरमा राई समुदायले केही वर्षदेखि किरात राज्य प्राप्तिका लागि अभियान सञ्चालन गर्दै आएको पाइन्छ ।