ताप्लेजुङ्। प्रकृतिका पूजक किरात समुदायले शनिवार उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिमा देखि किरातले भव्य रूपमा किराती रिति अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । ताप्लेजुङ सहितका राई र सुनुवारहरुको बाहुल्य भएको स्थानमा साकेला नाच र विभिन्न कार्यक्रम भएका छन् ।

किराँत कोइच सुनुवार सेवा समाजले फुङलिङ नगरपालिका ८ स्थित ल्याङवामा उभौली पुजा विभिन्न कार्यक्रम गरेर मनाएको छ ।  कार्यक्रममा फुङ्लिङ् नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईको प्रमुख आतिथ्यता, वडा नं ८ का अध्यक्ष पदमसुन्दर पालुङ्वा, वडा नं १ का अध्यक्ष पदम सुनुवार लगायत जिल्लाभर रहेका किराँत सुनुवारहरुको उपस्थिति रहेको थियो ।

उपमेयर भट्टराईले नगरपालिकाले सबै जातजातिका संस्कृति संरक्षणका लागि योजना बनाइरहेको बताए । सोहि अवसरमा उक्त संस्थालाई १ रोपनी जग्गा निशुल्क प्रदान गर्ने चन्दबहादुर तोकुज सुनुवार लाई सम्मान गरियो । उपस्थित सुनुवार समुदायले संयुक्त रुपमा चण्डी नाचेका थिए । साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि भएको संस्थाका अध्यक्ष ओमराज सुनुवारले बताए । २०६० सालमा जंग सुनुवारको अध्यक्षतामा किराँत सुनुवारहरुको भाषा, धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्यसहित संस्थाको स्थापना भएको थियो ।

ताप्लेजुङमा १२ सय सुनुवारहरुको बसोबास रहेको तथ्याङ्क छ । उता राईहरुले फक्ताङलुङ गाउँपालिका लेलेपको लावाजिन, सिदिङ्वाको मेहेले लगायतका क्षेत्रमा साकेला नाचेर चण्डी पुर्णिमा मनाएका छन् । किरातीहरू प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।