सिरहा । आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती मनाइरहेको बेला आजकै दिन सिरहाको लहान नगरपालिका वडा नम्बर १५ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ ।
सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । शनिबर विहान देखि बली चढाउन र मन्दिरमा दर्शन गर्न श्रद्धालुहरुको घुइचो लागेको आयोजक समितिले जनाएका छन् । हिजो साँझ देखि नै मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरुको भिडभाड बढेको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने लहान नगरपालिकाको बजार देखि करिब ७ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर अवस्थित रहेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन । ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको जङ्गलको बीचमा रहेको छ । बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गएको आयोजक समिति बताउँछन् ।
चारैतिर बुद्धको जयन्ती मनाइ रहेको छ । बुद्ध जयन्तीको दिन काटमार गर्नुहुँदैन भन्ने मान्यता रहेको छ । तर सिरहाको लहान नगरपालिकामा पर्ने ढोढनास्थित राजदेवी मन्दिरमा आज रगतको खोला बगेको छ । वैशाख पूर्णिमाकै दिन वलि दिइने सो मन्दिरको वलिप्रथा हालसालै नभई त्यसले करीब १२५ वर्षभन्दा बढीको गाथा बोकेको छ । मन्दिरका पाँचौ पुस्ताका पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा वलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो ।
पुजारी भट्टका अनुसार १२५ वर्षअगाडी अहिले मन्दिर रहेको स्थानमा ठूलो जङ्गल र चरण क्षेत्र रहेको थियो । नजीकैको चौधरी र भट्टहरुको परिवार रहेको गाउँबाट त्यस क्षेत्रमा १०० भन्दा बढी गाईवस्तुहरु चराउन लगिन्थ्यो । तर प्रत्येक दिन एउटा एउटा गाई हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा वलि चढाए र भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने बताएका थिए ।
देवीले सपनामा दिएको दर्शन र उनको भनाईमुताबिक स्थानीयले बलिप्रथा सुरु गरेको थियो । तर अहिले अन्य जिल्ला र भारतबाट समेत बलि चढाउन मानिसहरु आउन थालेका छन् । पहिले चर्चा नपाएको उक्त मन्दिरमा वरपरका गाउँका स्थानीयबासिन्दाले मात्र वलि र पुजा गरेपनि राजदेवी मन्दिरमा वर्षौदेखि वैशाख महिनामै भाकल गर्नेहरुले वलिपुजा गर्दै आइरहेका छन । मेला समितिका सदस्य चौधरी भने पहिले भाकल गर्नेहरुले वलि मात्र चढाउथे भने अहिले कोही कोहीले बहुमुल्य धातु पनि चढाउने गर्दछन् ।
मन्दिरमा चढ्ने नगद र धातुबाट गाउँलेले मन्दिरको विकासमा लगाउने उनको भनाई छ । मेलामा कुनै किसिमका अपराधिक कृयाकलाप हुन नदिन व्यापक मात्रामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
श्रद्धालु यदावको मृत्यु
राजदेवी दर्शनका लागि आएका बालगोपाल यादवकको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–१५ ढोढना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा मेला हेर्न आएका श्रद्धालुको अत्याधिक गर्मीका कारण शनिबार मृत्यु भएको छ । जिल्ला सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ का करिब ४७ वर्षीयको बाल गोपाल यादव रहेको इलाका प्रहरी कार्यालय लहानका (डिएसपी) राजेश थापाले बताए। थापाको अनुसार मृत्यक यादव भिडभाड र गर्मीका कारण बेहोस भएको थियो ।
तत्कालै मेला समितिले प्राथमिक उपचार गर्दै गर्दा उनको मृत्यु भएको छ । भाकल भर्न मिर्चैया नगरपालिका वडा नम्बर ८ का आएका अरुण कुमार ठाकुरको अनुसार गर्मीको करण दुई दर्जनौं श्रद्धालुहरु बेहोस हुने गरेका छन्।