धरान  / प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले नेपालीहरुको बंश परम्परा, भाषा, धर्म सँस्कृती, रितिथिती नेपालीको पहिचान भएको बताएका छन् ।
यिनै मौलिक सँस्कृती, सँस्कार, बंश परम्परा निरन्तरता नै हाम्रो सँस्कृतीको जगेर्ना र पहिचानको संरक्षणको प्रस्थान बिन्दु भएको उल्लेख गरे ।
आज धरानमा आयोजित फागो चोङ्वाङ् संरक्षण मञ्च तथा वंशावली प्रकाशन समितिद्धारा प्रकाशित “सिन्धोलुङ मैवादेन फागो चोङ्वाङ ईतिहास, मुन्धुम र वंशावली ” को विमोचन गर्दै सभामुख भण्डारीले यस्तो विचार व्यक्त गरेका हुन ।
फागो चोङवाङ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष नरेन्द्रकुमार फागो चोङवाङको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा छिमेकी राष्ट्र भुटान, तथा भारतको सिक्किम, पश्चिम बंगालमा रहेका फागो चोङवाङहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लिम्बु इतिहासका ज्ञाता अकलबहादुर मेन्याङ्गवो, मञ्चका सल्लाहकार नन्दबहादुर फागो चोङवाङ, इतिहास, मुन्धुम र वंशावलीका संकलन संयोजक डम्बर बहादुर फागो चोङवाङलगायतले बोलेका थिए ।
धरान १० सैनिक भवनमा आयोजित सो कार्यक्रममा धरान उपमहानगरपालिका वार्ड नं १० का अध्यक्ष श्रीप्रसाद सुब्बालगायतको उपस्थिति रहेको थियो ।
उक्त विमोचित पुस्तकको सम्पादन संयोजन त्रिवेणी फागो चोङवाङ गरेकाहुन । इतिहास, मुन्धुम र वंशावलीका तथ्यहरुको संकलन संयोजन डम्बरबहादुर फागो चोङवाङ र मुन्धुम सम्बन्धी संयोजन जहरसिं फागो चोङवाङले गरेका हुन ।