यस पर्वमा ‘ईदशाह’ अर्थात् खुला मैदानमा गई दुई रिकात नमाज पढिन्छ र राम्रोराम्रो लुगा लगाई एक अर्कासँग गला मिलाएर अर्थात् अङ्गालो मारी खुसी व्यक्त गरिन्छ । साथै एकताको सन्देशसमेत दिने गरिन्छ ।
रमजानुल मुबारक मुस्लिम धार्मिक ग्रन्थअनुसार बहुत महत्व पूर्ण महिना हो । बिहान (प्रातःकाल) देखि अर्थात् ३ः४२ बजे देखि बेलुकी सूर्यास्त ६ः३५ सम्म भोकै बस्नुलाई नै (ब्रत) रोजा भनिन्छ । रोजा वास्तवमा एउटा ट्रेनि¨को महिना हो । यो महिनामा जति सुकै धनि व्यक्ति भए पनि आफूसँग खाने सम्पूर्ण वस्तु भए पनि खान नपाउने गरिब मानिसहरूले अन्य महिनाहरूमा भोको हुँदाको पीडा महसुस होस् भनेर यसरी भोकै बस्ने गरिएको हो । गरिबीको कारणले खान नपाई बाटोमा मागेर बस्नेहरूको भोकको पीडा थाहा होस् र भोकाएका मान्छेहरूलाई खाना खुवाउने अन्य महिनामा बाध्य होस् भनेर यस महिनाले पाठ सिकाउँछ । जुन व्यक्तिले ईश्वरको भय (अल्लाहको डर) ले रोजा (ब्रत) राख्दछन् त्यस्ता व्यक्तिलाई अल्लाह (ईश) ले वाचा गर्नुभएको छ– ‘उक्त पूण्य कार्यको मुआब्जा स्वयम् आफैंले दिनुहुनेछ ।’ मुस्लिम धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
रोजाको महिनालाई जम्मा तीन भागमा विभाजन गरिएको छ । ती तीनै भागका बेग्लाबेग्लै महत्व छन् । पहिलो दश दिनसम्मलाई पहिला ‘अशारा’ भनिन्छ । उक्त दश दिनमा अल्लाहको पूर्णरूपमा ‘रहमत’ हुन्छ यस रहमतबाट सबैले लाभ लिन्छन् । दश रोजादेखि बीस रोजा अर्थात् यसलाई दोस्रो अशरा भनिन्छ, यसमा आफ्नो जीवनमा गरेका पापहरूका लागि क्षमायाचना (माफी) माग्ने स्वर्ण अवसर हुन्छ यो समयमा आफ्नो जीवनमा गरेका पापहरूबाट ईश्वर (अल्लाह) सँग क्षमायाचना गर्ने गर्दछन् । आफ्नो जीवनमा भएका पापहरूलाई समाप्त गरी एउटा जन्मेको नानी समान (पापमुक्त) हुनु पर्ने हुन्छ ।
त्यसैगरी अन्तिम दश दिन अर्थात् बीस रोजादेखि तीस रोजासम्म दश दिनमा नर्क (जहन्नम) बाट कसरी मुक्ति पाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिएर अल्लाह (ईश्वर) सँग क्षमा मागी स्वर्ग (जन्नत) मा जाने अवसरलाई नगुमाई क्षमा भावनाबाट माफी माग्ने गरिन्छ । त्यसैगरी रमजानको अन्तिम (अशरा) दश दिनहरूका बिजोड रातहरू अर्थात २१, २३, २५, २७, २९ औं रातहरूलाई अरबी भाषामा ‘शब्बेकदरको रात’ भनिन्छ । अर्थात् यी रातहहरू हजारौं रातहरू भन्दा महत्वपूर्ण रातहरू हुन्छन् । माथि उल्लिखित रातहरूमा नसुती कुरआन पाठ गर्ने, नमाजहरू पढ्ने र आफ्नो जीवनमा गरेका पापहरूको विश्लेषण गरी सत्य मनले अल्लाहसँग क्षमा मागेमा (अल्लाह) ईश्वरले वाचा गर्नु भएको छ कि म गफरुररहीम हुँ अर्थात् म रहम (दया) गर्ने वाला हुँ । अवश्य तिम्रा पापहरू समाप्त गर्नेछु । रोजा महिनामा गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरू तल उल्लेख गरिएको छ ।
१) सेहरी– बिहान ३ः ४२ बजे खाने कुराहरूलाई नै ‘सेहरी’ भनिन्छ ।
२) इफत्तार– दिनभरि भोकै बसरे बेलुकी सूर्यास्त भएपछि खाइने विभिन्न फलफूल तथा अन्य खानेकुरालाई ‘ईफत्तार’ भनिन्छ ।
३) तराविह– रमजान महिनाबाहेकको महिनाहरूमा पा“चपल्ट दिनभरिमा नमाज पढिन्छ भने रमजानुल मुबारक महिनामा अन्य ११ (एघार) महिना भन्दा बढी नमाज पढिन्छ । उक्त नमाजलाई अरबी भाषामा ‘तराविह’ भनिन्छ । यो नमाज २० (बीस) रिकात हुन्छ । मुस्लिमहरूको धार्मिक किताब कुरआन एक पारादेखि तीस पारासम्म पूरै एक महिनाभित्र सुन्नुलाई अति उत्तम मानिन्छ । यो नमाज पढ्नाले धेरै नै पूण्य (सवाब) प्राप्त हुन्छ । धरान उपमहानगरपालिका वडा नं. ३ स्थित अन्जुमन ईस्लामियाको जामा मस्जिदमा पनि हाफिज अबु अन्जरज्यूले अघिल्ला वर्षजस्तै तराविह पढाइरहेका छन् । मुस्लिम धर्म ग्रन्थ कुरआनलाई कण्ठ गरेका व्यक्तिलाई ‘हाफिज’ भनिन्छ । यो महिना पूण्य कमाउने महिना भएकाले अरु महिना भन्दा यस महिनामा गरिने कार्यको मूल्याङ्कन ७० गुणा बढी हुने स्वयम् अल्लाह (ईश्वर) का रसुल हजरत मोहम्मद सा.ले वाचा गर्नुभएको छ ।
४) जकात– आफूले वर्षभरि कमाएको पैसाको जकात निकाल्नु अनिवार्य छ । यस महिनामा विभिन्न मदर्साहरूमा अध्ययनरत् आमा बुवा नभएका (अनाथ) बालबालिकाहरूको सम्पूर्ण खर्च मदर्साहरूले ब्यहोर्ने गरेका छन् । मदर्साका कर्मचारीहरूको सम्पूर्ण खर्च मदर्साहरूले ब्यहोर्ने गरेका छन् । मदर्साका कर्मचारीहरूले जकातका लागि पैसा सङ्कलन गरेर उक्त कार्यमा खर्च गर्दछन् अनाथ बालबालिकाले पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर इस्लामिक दृष्टिकोणले यस्तो गरिन्छ । ५)
फितरा– जुन समयमा हामीले फितरा दिनुपर्ने हुन्छ उक्त समयमा बजारको रेटअनुसार पौने २ किलो गहुँको कति दाम हुन्छ त्यति रकम घरका सम्पूर्ण सदस्यहरूको नामबाट बेग्ला–बेग्लै दिनुपर्ने हुन्छ । ‘इद’ को नमाज पढ्नु अगाडि घरमा कुनै बच्चाको जन्म भयो भने उसको पनि ‘फित्तरा’ तिर्ने प्रावधान इस्लाम धर्ममा उल्लेख छ ।
उक्त रकम जम्मा गरी खुशीले चाडपर्व मनाउन नसक्ने, नयाँ लुगा किन्न नसक्ने गरिब व्यक्तिहरूको गणना गरी गाउँ शहरमा गरी उनीहरूको तथ्याङ्क सङ्कलन गरिन्छ । त्यस्ता गरिब मान्छेहरूलाई चाडवाड मनाउन कुनै किसिमको अभाव महसुस नहोस् भनेर उक्त रकम चाडवाड मनाउनुभन्दा पहिला वितरण गर्नु पर्ने हुन्छ । यदि फित्तरा को रकम इदको नमाजभन्दा पहिला सम्बन्धित व्यक्तिहरूकहाँ पुग्न सकेन भने अर्थात् उक्त पैसा निकाल्न सकिएन भने रमजान महिनमा राखेको रोजा पृथ्वी र आकाशको बीचमा झुण्डिरहेको हुन्छ ।
एक महिनाको रोजा राखी जुन दिन चन्द्रमा निस्किन्छ, त्यसको भोलिपल्ट मनाउने चाडलाई नै ‘इदुल फित्तर’ भनिन्छ । विभिन्न सञ्चार माध्यमबाट मुस्लिमहरूको चाड रोजा शुरु भएको चर्चा सुनिन्छ तर वास्तवमा रोजा चाड होइन । रोजा समाप्त भएपछि भोलिपल्ट मनाइने पर्वलाई नै ‘इदुलफित्तर’ भनिन्छ । त्यसकारण यसैबाट म सञ्चारकर्मी साथीहरूलाई भन्न चाहन्छु कि रोजालाई मुस्लिमहरूको चाड हो भन्ने नछापिदिनु होला । यस अवसरमा ‘ईदगाह’ अर्थात् खुला मैदानमा गई दुई रिकात नमाज पढिन्छ र राम्रो–राम्रो लुगा लगाई एक अर्कासँग गला मिलाएर अर्थात् अङ्गालो मारी खुशी व्यक्त गरिन्छ । साथै एकताको सन्देश समेत दिने गरिन्छ ।
अन्तमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई मुवारक महिना रमजान को र ‘इदुल फित्तर’ को शुभकामना दिँदै सम्पूर्ण मुस्लिमहरूलाई के भन्न चाहन्छु भने पापका सम्पूर्ण कामहरूलाई छोडी रमजानको रोजा बसेर अनुशासनको साथ नमाजहरू पढौं र तराविहसमेत नियमित रूपमा पढी वास्तविक इस्लामिक नियमअनुसार ‘फित्तरा’ को रकमसम्बन्धित व्यक्तिसम्म पु¥याऔं । यसो गरे बढीभन्दा बढी पूण्य (सवाब) हासिल हुन्छ । म अल्लाहसँग प्रार्थना गर्दछु ।
प्रवेज आलम, संरक्षक
नेपाल मुस्लिम इत्तिहाद सङ्गठन धरान