इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित नयाँ वृन्दावनमा नवनिर्मित राधाकृष्ण मन्दिरको निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरी उद्घाटन तथा प्राणप्रतिष्ठा गरिने जनाइएको छ ।
राधेश्याम सेवा ट्रष्टले आइतबार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमानयाँ वृन्दावनका संरक्षक दीनबन्धु शास्त्रीले कार्यक्रमबारे जानकारी दिए ।
चैत्र २४ गते कलशयात्रा गरी २५ गतेबाट श्रीमद्भागवत महायज्ञ आयोजना गरिने जनाइएको छ । यस्तै ३० गते नवनिर्मित राधाकृष्ण मन्दिरको प्राणप्रतिष्ठासहित मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नवनिर्मित राधाकृष्ण मन्दिर हिन्दुहरूको मात्रै नभएर सर्वधर्मको झल्को दिने शैलीमा निर्माण गरिएको जानकारी संरक्षक दीनबन्धु शास्त्रीले दिए । वृन्दावनको ऐतिहासिकता झल्कने गरी निर्माण थालिएको नयाँ वृन्दावनमा अन्य विभिन्न धार्मिक संरचनाहरू निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो क्षेत्रमा शिवमन्दिर, गौसेवा भवन, दुर्गा, कविरका मन्दिरहरू, बृद्धमूर्ति, आश्रम निर्माण भइसकेका छन् । यस्तै स्नानघाट, आरती घाट, गोत्रीय ऋषिहरूको मूर्तिसहितको पार्क निर्माणाधीन रहेको छ ।
भर्खरै मात्र नदीको वारितर्फ श्रीकृष्ण प्रणामी मन्दिरसहितको धामको उद्घाटन भएको थियो । नदीको पारितर्फ राधाकृष्ण मन्दिर निर्माण सम्पन्न भएसँगै बूढीगङ्गा नदीकिनारमा पूर्वकै धार्मिक तीर्थस्थलको रूपमा विकास भएको छ ।