नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको परम्परागत शिल्पकला विभागले केही दिनअघि पाँच दिने प्रदेशस्तरीय थाङ्का, पौभा कला प्रशिक्षण एवम् वर्कसप कार्यक्रमको आयोजना गरेको थियो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्मचार्यले उद्घाटन गर्नुभएको थाङ्का पौभा कला प्रशिक्षणको सभापतित्व शिल्प विभागका प्रमुख प्राज्ञ बुद्धि गुरुङ हुनुहुन्थ्यो ।
 
उपकुलपति गोपाल कलाप्रेमी, प्राज्ञ रमेशनाथ खनाल, प्राज्ञ कलाकार एवम् कला समीक्षक मुकेश मल्ल, ज्ञानेन्द्र विवश, प्रशिक्षकहरू प्राज्ञ निमा ध्याम्छो लामा, उदयचरण श्रेष्ठ, सुन्दर सिंखडा, रामप्रसाद श्रेष्ठ र यो लेखक स्वयम् उपस्थित भएको कार्यक्रममा परम्परागत कलाको सैद्धान्तिक र व्यवहारिक पक्षलाई उजागर गर्ने प्रयत्न गरियो । विभागका प्रमुख बुद्धि गुरुङ भन्नुहुन्छ ‘ओझेलमा परेको यो कलाको संरक्षण र विकास गर्ने लक्ष्य नै पाँच दिने यो प्रशिक्षणको लक्ष्य हो ।’
 
परम्परागत नेपाली मौलिक कला हाम्रो कला हो । त्यसैले पनि यस्तो कार्यक्रमको महत्व छ । परम्परागत कलाले हाम्रो विशिष्ट पहिचानलाई सम्बोधन गर्छ । परम्परागत कला के हो ? यो कस्तो हुन्छ ? कसरी बनाइन्छ जनमानसले यस्ता कुरा थाहा पाउन जरुरी छ ।
 
विषयवस्तुका दृष्टिले हिन्दू र बौद्ध धर्म एवम् विविध सम्प्रदायका दर्शन, मान्यता र परम्परासँग सरोकार राख्ने परम्परागत कला हाम्रो पहिचान र सभ्यताको सूचक हो । यसभित्र मौलिक नेपाली चित्रकला, मूर्तिकला, वास्तुकला लगायतका कलाहरू पर्दछन् । प्यागोडा, गुम्बज, टुँडाल, ऐतिहासिक ढुङ्गे मूर्ति, पौभा, मण्डला आदि कलाहरू परम्परागत कलाका विविध स्वरूपहरू हुन् । यी कलाहरूले अन्तर्राष्ट्रिय कलाक्षेत्र र बजारमा निकै राम्रो उचाई पाएका छन् । यसबाट नेपाली कलाकारको आर्थिक उन्नतिका साथै हाम्रा मूल्य, मान्यता र पहिचानहरूको प्रभाव पनि विश्वमञ्चसम्म पुगिरहेको छ । थाङ्का कलाकार निमाप्याम्छो लामा भन्छन्– ‘अन्तर्राष्ट्रिय बजारमा थाङ्का चित्रको राम्रो अवस्था छ । ख्यातिप्राप्त थाङ्का कलाकारले एक दुई वर्ष लगाएर बनाएको एक चित्रको मोल २०–२५ लाखभन्दा बढी पाउने गरेका छन् ।’
 
विश्वमञ्चमा नेपाली कलाको शिर उँचो राखेको परम्परागत चित्रकलाको इतिहास कहाँबाट शुरु भयो ? यो प्रश्नको तथ्यपरक उत्तर आज पनि हाम्रा इतिहासकारहरूले किटानीसाथ भन्न सकेका छैनन् । कतिपय विद्वान्हरूले दुईहजार वर्षदेखि नेपालमा बौद्ध र हिन्दूकलाको जन्म भइसकेको उल्लेख गरेका छन् भने कतिपयले अन्य समयको विकल्पलाई अघि सारेका छन् । वास्तवमा ग्रन्थ, धूले र पट चित्रकलाको आदिम प्रचलनदेखि नै हाम्रो परम्परागत चित्रकलाको वीजारोपण वा जन्म भएको हो ।
 
ग्रन्थ, धूले र पट चित्रकलाहरू पूर्ण शास्त्रीय परम्परा र रीतिरिवाजमा केन्द्रीकृत कला हुन् । प्राचीनकालमा बनिने गरिएका यस्ता कलामा धार्मिक आख्यान, श्लोक, उक्ति र विम्बहरू सुन्दर तवरले कोरिन्थे । नवौं वा दशौं शताब्दीमा लेखिएको प्रज्ञापारमितालाई नेपालको प्रथम ग्रन्थचित्र भन्ने चलन छ । यसलाई राजा नरेन्द्रदेवले आÏनी छोरीलाई दिएका थिए भन्ने भनाइ रहिआएको भएता पनि अहिलेसम्म यसको प्रमाणिक आधार हामीसँग छैन । तर दशौंदेखि तेह्रौं शताब्दीसम्मका चित्र भने अझै पनि हामीकहाँ सुरक्षित नै छन् । त्यस कालमा चित्रहरू प्राकृतिक आधारपट जस्तैः भोजपत्र, ताडपत्र, पर्खाल र जमिनमा कोरिन्थे र लिपिबद्ध चित्रहरू धार्मिक भावना र मौलिक सुगन्धले ओतप्रोत हुन्थे । 
 
प्राचीन चित्रकलापछि पौभा कलाको परम्परा नेपाली समाजमा छाएको देखिन्छ । यो कलाको प्रचलन १२ औं शताब्दीअघि नै शुरु भएको भन्ने तर्क छ । १२ औं शताब्दीमा अरनिकोको तिब्बत र चीन यात्राको अवसरले यो कलाको प्रायोगिकता र प्रचारमा होस्टे गराएको थियो । पौभा शब्द विशेषतः नेवारी नामकरण हो । तिब्बती भाषामा यसलाई थाङ्का (प्राचीन नाम थाङकु) भनिन्छ । पौभा र थाङ्का भन्नु एकै भएता पनि यी दुईको बनावटको शैलीमा भने थोरै मात्र अन्तर भेटिन्छ । पौभा लेख्ने ‘पठी भराण्डो’ चलन अपभ्रंश भई पौभा भएको हो । पौभामा विशेषतः बौद्ध आस्था र हिन्दू देवीदेवताका जीवनी र लीला कोरिन्छ ।
 
यसअन्तर्गत बनाइने गोलाकार मण्डलाको बीच भागमा प्रमुख देवी वा देवताको चित्र राखिन्छ र नियमानुरूप राख्नैपर्ने वरिपरि सहयोगी देवीदेवताहरूलाई सजाइन्छ । साथै चित्रलाई अझै उत्कृष्ट र आकर्षक बनाउन रूखपात, खोलानाला, झरना, आगो, गुम्बा, बिहार र अन्य आवश्यक विम्बहरू प्रतीकात्मक वा यथार्थ रूपमा कोरिन्छ । तर, अचेल पौभालाई सुन्दर देखाउन नियम प्रतिकूल नै नानाथरीका देवीदेवताहरू र अनर्गल प्रतीक वा विम्बहरू कोर्ने चलन बढेर आएको पाइन्छ । यस्तो उच्छृङ्खलता नेपाली परम्परागत कलाको भविष्यको निम्ति राम्रो होइन । यसले पौभाको मौलिकतामा प्रतिकूल असर पुर्याई यसको जीवनलाई धरापमा धकेल्न सक्छ । यस किसिमको कृत्रिम कर्मलाई पौभा कलाकारहरूले बेला छँदै सुधार गर्नुपर्छ । 
 
अन्ततः यस्ता कार्यक्रमले परम्परागत कलाको मौलिकतालाई ठेस लाग्नबाट जोगाउँदै सुधार र विकास गर्न सहयोग पुग्छ साथै परम्परागत कलाकारहरू बढेर जानेक्रम बढ्छ, जुन परम्परागत कलाको वृद्धि र विस्तारका लागि सकारात्मक पक्ष हो ।