आगो जति अपरिहार्य चिज हो उत्ति नै विनाशकारी पनि । यसलाई सही ढङ्गले चलाउन जानिएन भने प्रलय गर्छ । मानिसको विकासक्रम र सभ्यतासँग आगो जोडिएको छ । आगोको आविष्कार गरेपछि खानेकुराको परिकार पनि हुन थाल्यो । आगो मानिसको साथी वा मानव जीवनको सारथी बन्न पुगेको छ । आगो प्रकृतिमा आफैँ उत्पति हुने वस्तु पनि हो । त्यसैले यो मानिसको बसमा हुन्छ भन्ने पनि छैन । तथापि आफूसँग भएको आगोलाई मानिसले थान्कोमा राख्न सकेमा आगलागीका घटनाहरू कम हुने थिए । किनभने विश्व खाद्य तथा कृषि सङ्ठनले भन्छ– नेपालमा जति आगलागी वा डँढेलाका घटना छन् ९५ प्रतिशत मानवीय कारणले हुने गरेको छ ।
पछिल्ला वर्षहरूमा विद्युत ‘सट’ आगलागीको अर्को कारणको रूपमा जन्मिएको छ । प्रकृतिमा आफैँ रुखहरू रगडिएर वा बिजुली चम्किएर पनि आगो लाग्ने गरेको हुन्छ ।
आगलागी त बाह्रमासे समस्या हो । यद्यपि सुख्खा हिउँदमा बढी प्रकोप हुन्छ । डँढेलो अलि मौसमी हुन्छ । यसपाली डँढेलोको मौसम शुरु भइसकेको छ । जलवायु विज्ञानले हिउँदका अन्तिमतिरका दिनहरूलाई नेपालको परिप्रेक्ष्यमा सुख्खा खडेरी र डँढेलोको मौसम भनेर इङ्गित गरेको छ । हो यस्तै दिनहरूको शुरुआत भइसकेको छ । देशका विभिन्न स्थानमा आगलागी एवम् डँढेलो लागेका खबरहरू सञ्चारमाध्यममा आउन थालेका छन् । फागनुदेखि वैशाखसम्मका दिनहरू वास्तवमै नेपाललगायतका भूमिका लागि निकै भयानक मानिन्छन् । त्यसैले त यहाँको सरकारले पनि सार्वजनिक हितका लागि जारी गर्ने गरेको लोककल्याणकारी विज्ञापनमा यी महिनाहरू हावाहुरी बढी चल्ने भएका हुनाले सम्भावित आगलागीबाट बच्न आगोलाई सुरक्षित एवम् नियन्त्रित हिसाबले मात्र बालौं भन्ने सन्देशहरू पठाइरहेको छ ।
हरेक वर्ष नेपालले वनमा लाग्ने डँढेलो र घरमा लाग्ने आगोमा परेर करोडौंको धनमाल र ज्यानसमेत गुमाउने गरेको छ । यसका पछाडि मानव निर्मित कारण नै प्रमुख भएको माथि नै उल्लेख भइसक्यो । डँढत्रेलोको खास प्रकोप पहाडी भेगमा हुने गरेको छ । पहाडका जङ्गलमा लागेको आगो महिनौं दिनसम्म ननिभेर असङ्ख्य जङ्गली जनावर र मूल्यवान् जडीबुटीको नोक्सानी भएका घटनाहरू भएका छन् । जमिन सुख्खा हुने, मूलहरू सुक्ने, रुखका पात झरेर भूइँभरि छरिने र जमिनका झारहरू सुकेर खरङखार हुने भएकाले यो मौसममा आगोको क्षति बढेको हो । तराईका बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बढी प्रभावित भएको पाइएको छ । यही बेला हावाहुरी चलेर आगोको शक्तिलाई वृद्धि गरिदिन्छ । तसर्थ आगो जथाभावी फैलिने गर्दछ । मानिसले सल्काइरहनु पर्दैन जङ्गलमा हावाहरीहुरीका कारण रुखहरू जुधेर आगो उत्पति हुनसक्छ ।
कतिपय मनिसको स्वभाव विध्वंसात्मक हुन्छ । जङ्गलमा आगो सल्काएर रमाउनेले कतिपय स्थानमा डँढेलोको शुरुआत गरिदिन्छन् । अर्को कुरा के छ भने मानिसको सङ्ख्या हरेक दिन बढिरहेको हुनाले उसलाई खाली जग्गाजमिन चाहिएको छ । तब जङ्गलमा आगो सल्काएर भस्मे बनाउने र सो जग्गा हडप्ने होड तीव्र गतिमा चलेको छ । एउटा वैज्ञानिक तथ्य छ तर यसको पालना अवैज्ञानिक तरिकाले भएको छ । त्यो के हो भने जङ्गलमा डँढेलो लगाएपछि राम्रो घाँस पलाउँछ । घाँस राम्रोसँग उमार्ने आशामा सारा राम्रा वस्तुलाई खरानी बनाउने हामीहरूको मानसिकतामा सुधार ल्याउन आवश्यक छ । भस्मे बनाउने चाहनामा ६० हजार हेक्टर जङ्गल नाश भइसकेको छ । तीन लाख पचास हजार हेक्टर जङ्गल बर्सेनी डँढेलोको शिकार भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागका अनुसार गत अप्रिल महिनामा मात्र दुई हजार आठ सय स्थानमा आगलागी भएको थियो । तराईमा चारकोशे झाडीमा आगो सल्किसकेको छ । मूलतः पर्सा वन्यजन्तु आरक्षमा आगो लागेर हरेक साल कति वन्यजन्तु मर्छन् कसैले तथ्याङ्क राखेको छैन । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज अनि शुक्लाफाँटा आरक्षमा प्रत्येक वर्ष आगलागीको चपेटामा परेर धेरै रुखविरुवा र जनावर मर्ने गरेका छन् ।
बर्सेनी महिनौंसम्म ढोरपाटन आरक्षमा डँढेलो सल्किएर धनजन नाश हुनेगरेको छ । यसपटक पनि यो स्थिति आउन खोजिरहेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले भनेको छ– नेपालको १० लाख हेक्टर जङ्गल हरेक साल अप्रिल महिनाका दुई हप्तामा जङ्गली आगोबाट प्रभावित हुने गरेको छ । नेपालको सन्दर्भमा मे र अप्रिल महिना नै आगलागीका सबैभन्दा जोखिमपूर्ण महिना मानिन्छन् ।
सञ्चारमाध्यममा ठूला डँढेलोको मात्र चर्चा हुन्छ तर साना आगलागी दिनहुँ कयौं सङ्ख्यामा भइरहेका हुन्छन् । घरायसी आगलागीको सम्पूर्ण जिम्मेवारी मानवमा निहीत छ । उनीहरूकै हेलचेक्र्याइँले गर्दा उनीहरूको घरमा आगो लागिरहेको छ । आगो लगाउनेहरूको लापरबाही त एकातिर छँदैछ अर्कातिर सल्किएको आगो निभाउन तम्तयार राखिएका कतिपय दमकलहरूका ट्याङ्की र चक्का खाली छन् । न त यो गुड्न सक्छ न त पानीको फोहोरा नै फाल्नसक्छन् । नगरपालिकामा दमकल राखिने व्यवस्था छ । तर कति दमकल काम नलाग्ने अवस्थामा पुगेका छन् । नयाँ बनिएका अधिकांश नगरपालिकामा दमकल नै छैनन् । गाउँ पालिकाको कुरा त परको भयो ।
नेपालमा आगलागी या डँढेलोको नियन्त्रण गर्न मानिसलाई सचेत बनाउनु पर्दछ । यसका साथै कहीँ कतै प्राकृतिक कारणले आगो सल्किएको खण्डमा तुरुन्तै नियन्त्रण गर्न स्थानीय मानिसलाई सुसूचित गर्न पनि उत्तिकै जरुरी छ । तेस्रो कुरा के भने, भएका दमकललाई सुधार गर्नेमात्र नभई नयाँ दमकल थप्न आवश्यक देखिएको छ । दमकल खासमा परम्परागत सामग्री भयो । पानीको अभाव भएको ठाउँमा यो उति शक्तिशाली बन्न सक्दैन । साथै जमिनमुनिबाट ठाउँको ठाउँ पानी तान्न सक्ने किसिमका सबै दमकल छैनन् । अनि त एक ट्याङ्कर पानीले कति काम गर्न सक्छ सो नै भरोसा भयो । अर्को महत्वपूर्ण कुरा छ कि, पेट्रोलियम, रङ वा अन्य थुप्रै प्रकारका सामग्रीमा लागेको आगो पानीले निभ्दैन । तसर्थ यस्ता चिजमा लागेको आगो पानीले निभाउन खोज्नु मूर्खता पनि हो । तर विकल्प नभएपछि जबरजस्ती भएको मात्र हो । सबै किसिमको आगलागी नियन्त्रण गर्न कार्बनडाइअक्साइडका ट्याङ्कर खडा गर्नुपर्छ । थोरै कार्बनडाइअक्साइड ग्याँसले पनि ठूला आगाका लप्कालाई नियन्त्रण गरी निभाउन सक्छ ।
इमेल :[email protected]