गुटैगुटबाट उपगुटहरूले भरिँदै गएका प्रमुख राजनैतिक दलहरू अहिले देशको समृद्धि र विकासमा भन्दा आफ्नै दल सम्हाल्नै धौ–धौ अवस्थामा छन् । चरम गुटबन्दीका कारण गुटैगुटबाट उपगुटहरू मौलाउँदै गएकाले दलका प्रमुख नेताहरू आफ्नो कुर्सी जोगाउन नै अहिले व्यस्त देखिएका छन् । गुट र उपगुटले गाँजेकाले नेतृत्वले सही रूपमा नागरिक र राष्ट्रका लागि काम गर्न सकिरहेका छैनन् । उनीहरूलाई आ–आफ्नो पार्टीभित्रको गुट सम्हाल्नै धौ–धौ परेको छ ।
नेपालका प्रमुख राजनैति दलहरू नेकपा, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राष्टिय जनता पार्टीलगायतका दलहरू गुटैगुटले भरिएर थलिएपछि आफ्ना देश र दलको एजेण्डाभन्दा पनि नेताहरूको स्वार्थमा राजनैतिक दलहरू रुमल्लिएकाले नागरिकमा निराशा छाउन थालेको छ । आफ्ना पार्टीको गुट र उपगुटलाई व्यवस्थापन गरी पार्टीलाई लोकतान्त्रिक परिपाटीबाट नेतृत्व गर्न नसक्ने नेताहरू देशको नेतृत्व गर्न सक्षम नहुने भएकाले हाम्रा देशका राजनैतिक दलहरूका नेताहरूले सबैभन्दा पहिले गुटैगुटले भरिएको आ–आफ्नो पार्टीलाई व्यवस्थापन गरी व्यवस्थित र लोकतान्त्रिक बनाएर अब देश हाँक्न सक्छन् भन्ने विश्वास जनतामा दिलाउनु आजको पहिलो आवाश्यकता हो । राजनैतिक दलहरूभित्र विचार र सिद्धान्तद्वारा निर्देशित राजनीति नभएको, रणनीति नबनाएको र कार्यनीति मात्र रहेको, विचार नभएपछि गुटै गुट र उपगुटहरूले मात्र भरिएका छन् ।
हाम्रा प्रमुख राजनैतिक दलहरूभित्र विचारको मतभेतभन्दा पनि कार्यशैलीको मतभेत र नेतृत्वका लागि टकराव तथा लडाइँ भएकाले गुटदेखि उपगुटसम्म बनेको छ । नेतृत्वले आफू नेतृत्वमा पुग्नका लागि अधिवेशन तथा निर्वाचनका लागि पार्टीभित्र गुट बनाउँछन् । नेतृत्वमा पुगिसकेपछि वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेपछि स्वतः गुट तथा समूह भङ्ग वा विघटन हुनुपर्नेमा नेताहरूले आफू बलियो भइराख्नका लागि गुटबाट नेतापिच्छे उपगुटहरू निर्माण गरी उपगुटलाई निरन्तरता दिइरहेका हुन्छन् । विडम्बना त्यसमा कार्यकर्ताहरू पनि गुट उपगुट तथा समूहमा विभाजन भैराखेका हुन्छन । गुटबन्दी विशेषगरेर कहिलेकाही विचार नमिल्दा हुन्छ भने कहिलेकाहीँ नितान्त व्यक्तिगत टकराव र स्वार्थ पूर्तिका लागि पनि हुन्छ ।
तर हाम्रा देशको राजनैतिक दलहरूमा भने नेताको व्यक्तिगत स्वार्थ पूर्तिका लागि गुटहरू, समूहरू, उपगुटहरू निर्माण हुने र निर्माण भएका गुट, उपगुट तथा समूहहरू निरन्तर रूपमा टिकाइराख्ने प्रचलन भएकोले यसले राजनैतिक दलहरूलाई दह्रो बनाउनुको सट्टा कमजोर बनाउँदै गैरहेको छ भने नेताहरू भने पार्टीभित्र चाहिँ दह्रो बन्दै गएका छन् । राजनैतिक दलहरूको जीवनमा दलभित्र अस्थायी तथा केही उपलब्धि हासिल गर्न गुट तथा उपगुहरू जन्मने, बन्ने, भत्किने, भङ्ग हुने निरन्तर प्रक्रिया भए तापनि अहिले भने दलहरूमा गुटहरूले स्थायी रूपमा नै निरन्तरता पाइने भत्किनुको सट्टा झन् दह्रो हुँदै गएकाले गुटबाट उपगुट र समूह बन्दै गएकाले पार्टीहरूलाई नै भत्काउने, फुटाउने र समाप्त गर्ने हो कि भन्ने चिन्ता अब सबैमा बढ्न थालेको छ । चरम् गुटबन्दीको कारणले गर्दा पार्टीहरूले बेला–बेलामा नराम्रोसँगले धोका पाइराखेको र निर्वाचनमा लज्जास्पद पराजय व्यहोर्नु परिरहेको छ भने कहिलेकाहीँ विभाजन हुँदै जोडिँदै पनि आएका छन् । पछिल्लो पटक देशमा समृद्धि र विकास गर्नका लागि राजा बाधक भयो भनेर राजा फालिदियौं ।
त्यसपछि संविधान पो बाधक भयो होला भनेर पुरानो संविधान च्यातेर नयाँ संविधान बनायौं । त्यसपछि अस्थिर सरकारका कारणले पो देशमा समृद्धि र विकास हुन सकेन भनेर स्थिर सरकारका लागि सङ्घ, प्रदेश र स्थानीयमा दुईतिहाईभन्दा बढी जनताले मत दिएर विजयी गराई स्थिर सरकारको निर्माण ग¥यौं, तैपनि देशमा विकास र समृद्धिको यात्रा सहज रूपमा अगाडि बढ्न सकेको छैन । यसको मूल कारण भनेको प्रमुख राजनैतिक पार्टीहरूमा गुट उपगुट र समूह उपसमूह दह्रो हुँदै जानु हो । दुईवटा दलहरू मिलेर बनेको नेकपाको दुईतिहाईभन्दा बढीको सरकारले जनताको चाहनाअनुरूप काम गर्न सकिरहेको छैन । विकास र समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकिरहेको पनि त्यहाँभित्रको गुट र गुटभित्र उपगुटकै कारणले हो । नेकपाभित्र दृश्य÷अदृश्य रूपमा आधा दर्जन नेताको वरिपरिका गुट तथा समूह अहिले सतहमा देखिएका छन् । त्यसभित्र पनि उपगुट तथा उपसमूह उत्तिकै आएका छन् । प्रारम्भमा पूर्वघटकहरूका अलग समूह, गुट देखिनु स्वभाविक भए तापनि एकतापछि पनि पुराना गुट र उपगुटले समेत निरन्तरता पाइरहेका छन् ।
नेकपाभित्र अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको दह्रो गुट छ, अर्का पार्टी अध्यक्ष प्रचण्डको गुट त्यसभित्रको नारायणकाजी, बादल, वर्षमान, जनार्दन शर्माको छुट्टाछुट्टै उपगुट छ । अर्का वरिष्ठ नेता माधव नेपालको गुट, अर्का नेता बामदेव गौतमको गुट र अर्का वरिष्ठ नेता झलनाथ खनालको गुट रहेका कारण नेताहरूलाई देश मिलाउने भन्दा पनि आफ्नो गुट मिलाउनै क्रियाशील भैरहनु परेको छ । वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी एकता भएकै दिनदेखि वरियताको एजेण्डा प्रमुखरूपमा बारम्बार उठाइरहनु, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिनुपर्ने अवस्था आउनु र अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्ना पक्षका नेताहरूलाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव भएको बारम्बार भनिरहनु अनि सरकारको विरोध प्रमुख प्रतिपक्ष काङ्ग्रेसले भन्दा वढी आफ्नै पार्टीका वरिष्ठ नेताहरूबाट विरोध र आलोचना भैरहनु गुटबन्दीको पराकाष्ठा हो भने अहिलेसम्म स्थानीय तह र गाउँपालिका तथा वडा तहमा र जिल्लाहरूमा पार्टीको समिति निर्माण गर्न नसक्नु अनि जनवर्गीय सङ्गठनहरू मिलाउन नसक्नु पनि नेकपाभित्रको चरम् गुटबन्दी र व्यक्तिगत टकराव गुटबाट उपुगट बढ्दै जानु नै बाधक हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्र पनि अहिले हिजोको भन्दा पनि बढी चरम् गुटबन्दी मौलाएको छ र प्रमुख प्रतिपक्षको भूमिका खरो र दह्रोसँगले निभाउन सकिरहेको छैन । चरम् गुटबन्दीका कारण पार्टीले धेरै ठूला–ठूला धोका पाइरहेको पनि छ । यसको पछिल्लो उदाहरण गत तीनै तहको निर्वाचनमा नराम्रोसँग पराजय व्यर्होनु पनि हो । र अहिले प्रमुख प्रतिपक्षको भूमिका खरो र दह्रोसँगले खेल्न नसक्नु हो ।
गुटबन्दी काङ्ग्रेसको जन्मकालकै परानै रोग हो । नेपाली काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेस हुँदाकै बखत २००४ सालमा कावा अध्यक्षको विषयलाई लिएर बीपी कोइराला र डिल्लीरमण रेग्मीबीच दुई समूह वा गुटको काङ्ग्रेसमा उदय भएको हो । २००९ सालमा बीपी कोइराला र उनका दाजु मातृकाप्रसाद कोइरालाबीचको चरम् गुटबन्दीको कारण निवर्तमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाट निष्काशन गरेको कारण उनले छुट्टै पार्टी गठन गर्नु परेको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना भएपछि काङ्ग्रेस सत्तामा पुनः पुगेपछि काङ्ग्रेसभित्रको गुट फेरि सतहमा आयो । एउटा गुटको नेतृत्व पार्टी सभापति कृष्णप्रसाद भट्टराई र अर्का गुटको पार्टी महामन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । २०४८ सालमा बहुमत ल्याएको पार्टी नेपाली काङ्ग्रेसको संसदीय दलमा ३६ से र ७४ रे भनेर दुई समूह तथा गुट भएका कारण २०५१ सालमा नेपाली काङ्ग्रेसको स्पष्ट बहुमतको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराएपछि पार्टीले नराम्रोसँग पराजय भोग्नुप¥यो । २०५२ सालमा काङ्ग्रेसका नेता शेर बहादुर देउवा मुलुकको प्रधानमन्त्री भएपछि देउवाले एन्टी कोइराला क्याम्प खडा गरी एउटा बलियो गुट काङ्ग्रेसमा खडा गरेर सदावहार नेतृत्व गरिरहे । त्यसैकारण २०५८ मा नेपाली काङ्ग्रेस दुई चिरामा फुट्न गयो ।
पार्टी विभाजनको भएको ५ वर्षपछि २०६३ सालमा पार्टी एकीकरण भयो । तर पार्टी एकीकरण भए तापनि नेताहरू र कार्यकर्ताहरू भने भावानात्मक रूपमा एकता हुन सकेका थिएनन् । जसले गर्दा पार्टीभित्र कोइरला र देउवा गुट त्यसभित्रको उपगुट प्रष्टसँग छुटिरहन्थ्यो । जसले गर्दा पार्टीको १३ औं महाधिवेशनमा दुई वटा गुटबाट बढेर चारवटा गुट हुन पुग्यो । कोइरालासहितको पौडेल गुट, देउवा गुट, सिटौला गुट, खुमबहादुर गुट र त्यसभित्र अन्य धेरै उपगुटहरूको पनि जन्म भएको छ । काङ्ग्रेसलाई गुट उपगुटले अहिले तीव्ररूपमा गाँजेका कारण पार्टीले तलदेखि माथिसम्म दह्रो र खरो ढङ्गले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । महासमितको बैठकबाट गुट अन्त्य भएको जबरजस्ती घोषणा गरे तापनि दुई महिना पनि बित्न नपाउँदै झन् गुट तीव्र रूपमा र संस्थागत भएर गुटैगुटबाट उपगुटहरूमा समेत विभाजनले गाँजेको काङ्ग्रेसलाई अहिले आफैलाई सम्हालिनसमेत गाह्रो भैरहेको छ ।
त्यसैगरी दुईवटा पार्टी मिलेर बनेको तेस्रो ठूलो दल सङ्घीय समाजवादी फोरम पनि अहिले उपेन्द्र यादव र अशोक राईको दुईवटा गुट त्यसभित्रको उपगुटमा विभाजन भएको छ भने अर्को दल राजपा पनि त्यस्तै हालतमा छ । त्यहाँ पनि महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, राजकिशोरलगायतका नेताहरूको चार–पाँचवटा गुट त्यसभित्रका अन्य उपगुटहरू रहेका छन् भने राजावादी दल राप्रपा पनि गुट उपगुटकै कारण फुट्ने जुट्ने प्रक्रियामा थलिँदै आएको छ ।
नेपालका राजनैतिक दलहरूमा विचार नमिल्दा गुट भएको विरलै पाइएको छ । यहाँ त नेताको महत्वाकांक्षा व्यक्तिगत वा सीमित स्वार्थ तथा नेताको व्यक्तिगत टकरावको कारण गुट उपगुटको जन्म भएको पाइन्छ । गुटबन्दी पार्टीको लागि ठूलो अभिसाप हो । गुटबन्दीले पार्टीलाई धेरै र ठूलो नोक्सानी पुर्याउँदै समाप्त पनि गर्न सक्छ । गुटबन्दीले आफ्नै पार्टीभित्र एकले अर्कालाई सिध्याउने समाप्त गर्ने र पार्टीको सम्पूर्ण सङ्गठन अस्त–व्यस्थ बनाएको छ । त्यतिमात्र नएर नेता तथा कार्यकर्ताहरूमा अन्यौलको वातावरण सिर्जना भई कार्यकर्ताहरू र सर्वसाधारण नाागरिकमा नैराश्यता सिर्जना गरेको छ । नेपालको राजनैतिक पार्टीहरूमा अहिले मौलाउँदै गएको गुट उपगुटहरूबाट गिरोहमा परिणत भयो भने नेताहरूलाई पनि सिध्याउँछ र सिङ्गो पार्टीलाई पनि समाप्त गर्छ । अनि देशलाई पनि बर्बाद बनाउँछ ।
त्यसैले दलहरूमा देखिएको गुट उपगुटलाई गिरोहमा परिणत हुन नदिई बेलैमा गुट उपगुटलाई समाप्त गर्न जरुरी देखिन्छ । यसका लागि आ–आफ्नो पार्टीको सिद्धान्त अनुरूप निर्माण गरिएको विधान तथा नीति र कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्दै हरेक पार्टीका नेताहरूबीच व्यक्तिगत फाइदाको लागि नभएर पार्टी र जनताको हितको लागि आपसी समझदारी कायम गर्नुपर्छ । पार्टीभित्र निष्पक्षरूपमा अनुशासन कायम गरी काम गर्नेलाई पुरस्कार र पार्टी हितविपरीत काम गर्नेहरूलाई दण्डको व्यवस्था गरी लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व चयन गरी पार्टी सञ्चालन गर्न जरुरी भएको छ । अनि मात्र समृद्ध नेपाल, सम्पन्न नेपाली बनाउने यात्रा अगाडि बढाउन सकिन्छ ।
नत्र गुटैगुटले भरिएको र थलिएको पार्टी एवम् नेताहरूबाट समृद्ध नेपाल बनाउन असम्भव छ । अहिलेको नेतृत्व गरिरहेको राजनैतिक दलका नेताहरूको यो पुस्ताबाट गुट उपगुटको अन्त्य हुन नसक्ने सम्भावना बढेकोले नयाँपुस्ता अब नेपालका सबै राजनैतिक दलहरूको नेतृत्वमा स्थापित भई दलहरूभित्र मौलाउँदै गएको गुटैगुट र उपगुटै उपगुटलाई समाप्त गरी स्वच्छ र एकढिक्का भएको पार्टी बनाउन अहिलेको पहिलो आवश्यकता रहेको छ ।
(लेखकः नेपाली काङ्ग्रेस धनकुटाका सचिव हुन् ।)