चौरभरि पहेंला, हरिया, सेता, राता, निला रङ्गीचङ्गी लुगा लगाएका विद्यार्थी बिहानको प्रार्थनाका लागि उभिएका छन् । सेतोमा निलो धर्के सर्ट र कालो धर्के पाइन्ट लगाएका शिक्षकहरू विद्यार्थीको ‘लाइन’ मिले नमिलेको नियाल्दै छन् । ढाकाको पारि भएका हल्का रातो सारी चोलो÷कुर्ता सुरुवाल लगाएका शिक्षिकाहरू पनि विद्यार्थीको प्रार्थनासभा मिलाइरहेका देखिन्छन् ।
विद्यार्थी र शिक्षकहरूको चालढाल झट्ट हेर्दा कुनै निजी बोर्डिङ स्कुलको झैं लाग्छ । तर यो सुनसरीको वराहक्षेत्र–३ स्थित सामुदायिक विद्यालय श्री आदर्श उच्च माविमा देखिने दृश्य हो । यहाँका विद्यार्थी हरेक मङ्गलबार र शुक्रबार यस्तै रङ्गीचङ्गी लुगामा विद्यालय पुग्छन् अनि अरु बार सेतो सर्ट र निलो पाइन्ट वा फ्रक । विद्यार्थी र शिक्षकको पहिरनमात्र होइन किताब पनि अङ्ग्रेजी माध्यमका निजी बोर्डिङ स्कुलले पढाउने जस्तै छन् । पढाइ, लेखाइको शैली पनि उस्तै । पहिला कक्षा–१ देखि पढाइ हुने विद्यालयमा अहिले निजीमा जस्तै प्ले गु्रप, नर्सरी, केजी वान जस्ता कक्षा पनि सञ्चालन गरिएको छ ।
आदर्श माविले निजी बोर्डिङहरूकै जस्तो लुगा, त्यस्तै किताब र अङ्ग्रेजी माध्यममै निःशुल्क पढाइ शुरु गरेपछि अहिले निजी बोर्डिङ स्कुल छाड्दै स्थानीय विद्यार्थी आदर्शमा आउने गरेका छन् । आदर्शमा विद्यार्थीको सङ्ख्या दोब्बरले बढेको छ । स्थानीय निजी विद्यालयमा अध्ययन् गरिसकेका छात्रछात्राको आकर्षण पनि बढ्दो रहेको अभिभाव बताउँछन् ।
स्थानीय अभिभावकले आफ्ना बालबालिका निजी स्कुलबाट छिकेर आदर्श माविमा पढाउन थालेका छन् । विद्यालयले अभिभावकलाई बोलाउने र छलफल तथा विद्यालय सुधारको काममा सहभागी गराउन थालेपछि अहिले अभिभावकसँगको सम्बन्ध पनि नजिकिएको छ । अभिभावकहरूले विद्यालयमा फूल रोपिदिएका छन् । गमला दिएका छन् । शिक्षकहरूले पनि आफू र आफ्ना साथीहरूलाई आग्रह गरेर विद्यालयमा पङ्खा लगाएका छन् । शिक्षक र अभिभावकको सहकार्यले विद्यालयमा सुन्दरता र सुविधा थपिएको छ । विद्यालयमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने पुस्तक त दिन्छ नै । त्यसबाहेक सन्दर्भ सामग्रीका रूपमा लागू गरिएका अङ्ग्रेजी पुस्तकहरू किन्न अभिभावकलाई समस्या नहोस् भनेर विद्यालय आफैंले पुस्तक पसलमा गएर बोर्डिङ स्कुललाई दिने कमिसनको पैसा छुट गराएर सस्तोमा उपलब्ध गराएको छ भने किताब किन्न नसक्ने गरिब विद्यार्थीलाई ती किताब पनि स्कुलले नै किनिदिन्छ । सहायक प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे भन्छन् ‘अभिभावकहरूले बोर्डिङजस्तै पढाइ छ, थोरै पैसा लिने गर्नुस् भन्ने सल्लाह पनि दिएका छन् तर हामीले लिएका छैनौं ।’
विद्यालय सुधारका लागि विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि नियममा राख्नु पर्ने निश्कर्ष निकाल्दै शिक्षकहरूका लागि १९ बुँदे आचारसहिंता लागू गरिएको छ । जसमा शिक्षकहरू नियमित विद्यालय आउनेदेखि बालमैत्री वातावरणमा पढाउनु पर्नेदेखि शिक्षा ऐन र नीति, नियम पालना गर्नेसम्मका बुँदा उल्लेख गरिएका छन् । आदर्शले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर कक्षा–५ सम्म निजी स्कुलमै पढाइ हुने खालका किताबलाई सन्दर्भ सामग्रीका रूपमा पढाउन र निजीकै जस्तो पहिरन शुरु गरेपछि छिमेकी सामुदायिक विद्यालयले पनि त्यसैलाई पछ्याउन थालेका छन् । हाल स्थानीय तह भएपछि स्थानीय तहको समन्वयमा विद्यालयले नमूना विद्यालय निर्माणका लागि नीति र संरचना निर्माणमा लागि परेको छ । वराहक्षेत्र स्रोत केन्द्रमा रहेका २३ विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउन थालेका छन् । प्रधानाध्यापकको प्रयास, शिक्षकहरूको साथ र अभिभावकको विश्वासले अहिले आदर्श मावि सुनसरीमै नमूना विद्यालयका रूपमा चिनिन थालेको छ ।
प्रधानाध्यापकको सफल प्रयास
सानो कक्षामा अधिकांश अभिभावकले निजी स्कुलमा छोराछोरी पढाउन थालेपछि देशका धेरै सामुदायिक विद्यायल बन्द भए र कति विद्यालय गाभिए । साविक वराहक्षेत्र गाविसमा २ वटा विद्यालय विद्यार्थी अभाव भएपछि गाभिए । आदर्श माविमा पनि एउटा कक्षामा १२÷१३ जना मात्र विद्यार्थी हुन थालेपछि प्रधानाध्यापक प्रह्लाद भट्टराई चिन्तामा डुबे ।
अङ्ग्रेजी भाषामा पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेर देशका थुप्रै सामुदायिक विद्यालय बन्द भए पनि सरकारले सामुदायिक विद्यालयकै किताबलाई अङ्ग्रेजीमा रूपान्तरण गरेर सामुदायिकमा विद्यार्थी तान्ने रणनीति लिएको थियो । आदर्शले पनि ५ वर्ष अघि नै प्राविस्तरमा अङ्ग्रेजीमा रुपान्तरण गरिएका किताब लागू ग¥यो तर विद्यार्थीको आकर्षण अझै बढेन । एक्कासी नेपालीबाट अङ्ग्रेजीमा उल्था गरेका किताब पढ्न विद्यार्थीलाई समस्या भयो ।
त्यसपछि प्रअ भट्टराईले विद्यालय वरपरका निजी र सामुदायिक दुवै विद्यालयका अभिभावकको भेला गराए । सबै अभिभावकलाई उनले प्रश्न सोधे ‘यहाँ दक्ष शिक्षकहरू हुनुहुन्छ, पढाइ पनि राम्रो हुन्छ, पैसा पनि तिर्नु पर्दैन तर तपाईंहरू किन छोराछोरी निजी स्कुलमा पढाइरहनु भएको छ ?’ धेरै जसो अभिभावकले अहिलेको जमानामा छोराछोरीलाई सबैले अङ्ग्रेजी पढाएकाले, बोर्डिङ स्कुलका विद्यार्थी सफा, सुग्घर हुने र आकर्षक ड्रेस हुने भएकाले छोराछोरी पनि उतै पढ्न खोज्ने भएकाले पैसा तिरेर पढाएको जवाफ दिए । त्यसपछि भट्टराईले अर्को प्रश्न गरे ‘हामीले पनि बोर्डिङकै जस्ता किताब, त्यस्तै लुगा, त्यस्तै पढाइ शुरु ग¥यौं भने छोराछोरी ल्याउनु हुन्छ ?’ अभिभावकले सहमति जनाएपछि खुसी भएका उनले शिक्षकहरूलाई घरघरमा खटाएर नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी पढाउन चाहनेको नाम, ठेगाना, फोन नम्बर सङ्कलन गरे ।
अभिभावकको चाहनाअनुसार निजी स्कुलमै पढाइ हुने किताब लागू गर्नका लागि तत्कालीन सुनसरी जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्कालाई अनुमति मागे तर खड्काले त्यसरी अनुमति दिन नमिल्ने भनेर पन्छाएपछि केही समय निराश पनि भए । खड्कापछि आएका जिशिअ रुद्र दुलाललाई त्यही प्रस्ताव राख्दा उनले सन्दर्भ सामग्रीका रूपमा लागू गर्न अनुमति दिए । त्यसपछि आफूले बनाएको योजना लागू गर्न उनलाई सहज भयो । उनी भन्छन् ‘नेपालीबाटै रूपान्तरण भएका किताब विद्यार्थीले बुझ्न सक्दैनन् । शुरुदेखि अङ्ग्रेजी नै पढाउँदा त्यसको छुट्टै क्रमबद्धता हुन्छ र विद्यार्थीले बुझ्दा रहेछन् ।’
प्रअ भट्टराईले शिक्षकहरूलाई पनि भेला गरेर आफूले विद्यालयलाई अब्बल बनाउन चाहेको बताउँदै सहयोगको आग्रह गरे । शिक्षकहरूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएपछि उनले माथिल्लो कक्षामा अङ्ग्रेजी पढाउने शिक्षकहरूलाई साना कक्षामा पढाइदिन आग्रह गरे । शिक्षकहरूले पनि स्वीकार गरे । हाल ठूला कक्षालाई अङ्ग्रेजी शिक्षण गरिरहेका दुर्गामणी पोख्रेल, ज्ञानबहादुर पाण्डेलगायतका शिक्षकहरू अहिले साना नानीहरूलाई अङ्ग्रेजी पढाइरहेका छन्, त्यसबाहेक निजी स्कुलमै पढाउने ४ जना शिक्षिकालाई ल्याएर निजीकै तरिकाले पठनपाठन अगाडि बढाइएको छ । विद्यालय सुधार गर्न उनले शिक्षा क्षेत्रमा काम गर्ने सङ्घ–संस्था र एनजीओहरूसँग पनि सहयोगको आग्रह गरे ।
सामुदायिक विद्यालयमा निजीजस्तै पुस्तक र नयाँ शिक्षकको व्यवस्था गर्न खर्च बढ्ने भयो । प्रअले व्यवस्थापन समितिका कुरा राखेपछि चतरा बस स्टेण्डमा रहेको विद्यालयको जग्गामा बस्नेहरूसँग थोरै भए पनि भाडा मागेर शिक्षकलाई तलब खुवाउने निर्णय भयो । चतरामा सञ्चालन भएको कुम्भ मेला व्यवस्थापन समितिले पनि विद्यालयमा भइरहेको सुधार देखेर १ लाख दिने निर्णय ग¥यो । यिनै पैसाबाट व्यवस्थापनमा सहज भएको छ । प्रअ भट्टराई भन्छन् ‘अभिभावकलाई मात्र मनाएर नहुने रहेछ, शिक्षक, विद्यालयको वातावरण, पुस्तकदेखि सबै कुराको व्यवस्थापन हुँदै गएको छ । अब सोचअनुसार परिवर्तन गर्न सकिन्छ भन्ने लागेको छ ।’
बिदा घटाइयो, टिफिन मिलाइयो
वर्षमा धेरै पटक हुने बिदाले पढाइमा असर परेको ठानेर विद्यालयले सकेसम्म बिदा कटौती गरेर आफ्नै क्यालेन्डर लागू गरेको छ । पहिला जिल्ला भरमा कुनै शिक्षकको निधन भएमा एक दिन बिदा दिने गरिन्थ्यो अहिले त्यस्तो खबर आए शोक मनाएर विद्यालय सञ्चालन गरिन्छ, बिदा दिइँदैन । विभिन्न समयमा आन्दोलन र हड्तालले बन्द हुने विद्यालय अब भने बन्द नगर्ने निर्णय गरेको उनी बताउँछन् ।
पहिला विद्यालयमा हरेक दिन ४ घण्टी पढाएर ४५ मिनेटको टिफिन छुट्टी हुन्थ्यो । तर टिफिन अघि र पछि लगातार कक्षा हुँदा विद्यार्थीको ध्यान पढाइमा नगएको पाए शिक्षकहरूले । त्यसपछि छलफल गरेर हरेक दुई वटा कक्षा पछि १० मिनेट ‘मिनी टिफिन’ दिने र दिउँसो ४५ मिनेटको ठाउँमा ३० मिनेट मात्र टिफिन छुट्टी लागू गरियो । टिफिन व्यवस्थापन गरिएपछि विद्यार्थीहरूले पढाइमा ध्यान दिन थालेको अनुभव छ, शिक्षकहरूको ।
शिक्षकका छोराछोरी अनिवार्य
पहिला अरूका छोराछोरी सामुदायिक विद्यालयमा पढाए पनि अधिकांश शिक्षकका छोराछोरी निजी बोर्डिङ स्कुलमा पढ्थे । प्रधानाध्यापक भट्टराईले सबै शिक्षकका छोराछोरी आफैंले पढाएको स्कुलमा पढाउनु पर्ने नत्र अभिभावकले विश्वास नगर्ने निर्णय गर्दै स्थानीय राइजिङ स्कुलमा पढ्दै गरेकी आफ्नी छोरी निकालेर आदर्शमा भर्ना गरे ।
शुरुमा शिक्षकहरूले आफूले मन लागेको स्कुलमा पढाउन पाउने मानव अधिकार रहेको कुरा गरे । केही समय झगडा पनि प¥यो । तर प्रअले नै आफ्नी छोरी बोर्डिङबाट झिकेर ल्याएपछि अरुलाई पनि नैतिक सङ्कट प¥यो । त्यसपछि धमाधम सबैले आफ्ना छोराछोरी आफैंले पढाउने आदर्शमा भर्ना गरेका छन् । यो नीति लागू भएपछि शिक्षक दुर्गामणी पोख्रेल, मोहन निरौला, प्रदीप श्रेष्ठ, बेधनीधि प्याकुरेल, शशी राना मगर, उदय ठटाल, सरीता भट्टराई, इन्दिरा बस्नेत र रमेश चौहानले आफ्ना छोराछोरीलाई आदर्शमा भर्ना गरिदिए । सहायक प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे भन्छन् ‘प्रअले नै छोरीलाई आफ्नो स्कुलमा ल्याएपछि सबै शिक्षकलाई यहीँ ल्याउन बाध्यता भयो, शिक्षकका छोराछोरी पनि यहीँ पढेपछि अभिभावकले पनि ढुक्कले राम्रो पढाइ हुन्छ भनेर विश्वास गरेका छन् ।’