भर्खरै मैले एउटा साश्वत् सत्यको सामना गरेँ । यो मैलेमात्रै होइन, सम्पूर्ण नेपालीले गरे । हो, उही पर्यटनमन्त्री रविन्द्र अधिकारीको कुरा गर्दैछु म । जो यो दुनियाँमा रहेनन् । उनीसँगका केही रमाइला दिनहरू अझै मेरो मानसपटलमा ताजै छन् । रविन्द्रलाई मैले त्यो बेलामा भेटेको थिएँ, जुन बेला उनी क्याम्पस पढ्दै थिए । सायद त्यही बेला विद्या भट्टराईसँग विवाहको कुरो चल्दै थियो । राजन भट्टराई, विष्णु रिमालले पहिलो पटक यस विषयमा कुरा गर्दै थिए, ‘विद्याले रविन्द्रसँग बिहे गर्ने भइन् ।’ त्यसबेला रविन्द्र मालेमा सक्रिय थिए । विद्या भने एमालेमा ।
 
तर, वैवाहिक सम्बन्धपछि विद्या मालेतिर ढल्कने निश्चित थियो । तर, मैले जुनबेला भेटेको थिएँ, दुवै जना मालेमै थिए । तात्कालीन समयमा रविन्द्र अखिलका विद्यार्थी नेता थिए । पार्टी फुटेकाले महाकाली सन्धि राष्ट्रघाती निर्णय गरेको भन्दै एमालेप्रति टिप्पणी हुने गर्थे । रविन्द्र भने मालेमा गएका थिए । त्यो बेला दुई पार्टीबीच यतिसम्म तिक्तता थियो कि एउटाले अर्कोलाई भेट्यो भने साङ्घातिक आक्रमण गर्नसम्म पछि पर्दैन थिए । दुई पार्टीका कार्यकर्ताबीच विभिन्न स्थानमा झडप पनि नभएका होइनन् । त्यो बेला रविन्द्र माले र म एमालेमा थिएँ । तर, विस्तारै परिस्थिति फेरियो, सोच बदलियो । फेरि एकै ठाँउमा आउने प्रयत्नहरू हुन थाले । त्यसबेला प्रतिक्रियावादीहरू भने एकतालाई भाँड्न ठूलै प्रपञ्च रच्ने गर्थे । तर, उनीहरूको प्रयास असफल सिद्ध भयो । अन्ततः माले र एमाले फेरि जोडिए । जहाँ रविन्द्रजस्ता युवा नेताहरू फेरि पुरानै घरमा फर्किए । यो एउटा आन्दोलनको दुःखद् पक्ष थियो । त्यसपछिका दिनहरू एउटा जिम्मेवारी बोकेर मुलुक बनाउने सङ्कल्पमा होमियौं । त्यसमध्येका युवा नेता रविन्द्र पनि एक थिए । 
 
तर, त्यही  युवा नेता २०७५ फागुन १५ अचानक मृत्यु भएको खबर पाउँदा विश्वास गर्नै सकिनँ । करिब ३ बजेतिर एक्कासि अर्जुनको फोन आयो, उताबाट भनियो, थाहा पाउनु भयो ? मैले थाहा नभएको जनाउ दिएँ । उनले अगाडि भने, ‘रविन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर ताप्लेजुङमा बेपत्ता भयो रे, अहिलेसम्म कसैको पत्तो छैन् अरे, सबै मरेछन् ? कि के भयो ?’ यो सुनेपछि मैले काठमाडौं प्रधानमन्त्रीको सचिवालयमा पक्कै सूचना होला भनेर फोन गरेँ, त्यहाँ पनि अर्जुनले दिएको सूचनाभन्दा बढी सूचना रहेनछ । तपाईंले सुनेको सूचना जति मात्रै थाहा छ भन्ने प्रधानमन्त्री सचिवालयबाट प्रतिउत्तर आएपछि बाध्य भएर समाचारका पछि लागेँ । अर्जुनले दिएको सूचनाको ५ मिनेट नबित्दै समाचारमा हेलिकप्टर क्षतिग्रस्त अवस्थामा भेटियो । त्यसमा अरू पनि वाक्यहरू लेखिएका थिए । 
 
मैले कयौं पटक रविन्द्रलाई भेटेको छु । हँसिला तन्नेरी रविन्द्र सदैव सकारात्मक सोचबाट प्रेरित थिए । विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा लागेका उनी पोखराको पृथ्वीनारायण क्याम्पसबाट राजनीति यात्राको थालनी गरेका थिए । यस्ता जुझारू पात्र पहिलो पटक संविधानसभाको चुनावमा निर्वाचित बनेका थिए । निर्वाचित भएपछि उनी संसदीय विकास समितिको सदस्य भएका थिए । त्यही बेलादेखि मुलुकको विकास गर्नुपर्छ भनेर लागेका रविन्द्र एमालेको कास्की जिल्ला कमिटी सचिव भए । दोस्रो संविधानसभाको निर्वाचनमा पनि कास्की क्षेत्र नं. ३ बाट विजयी बनेपछि उनलाई संसदीय विकास समितिको सभापतिको जिम्मेवारी दिइयो । विकास समितिको सभापति भएपछि विकासका काममा नयाँ–नयाँ योेजना अगाडि सारेका थिए । संसदीय विकास समितिमा हुँदै रविन्द्रले विकास र राजनीतिलाई साथै लैजानुपर्छ भन्ने बहस शुरु गरेका थिए । राजनीति र विकासको गति तलमाथि भयो भने मुलुक दुर्घटनामा पर्छ भन्ने उनको स्पष्ट भिजन थियो । पार्टीको नवौं महाधिवेशनपछि उनलाई पार्टी केन्द्रीय कमिटी सदस्यमात्रै नभई पार्टी पोलिटब्युरो सदस्यको पनि जिम्मेवारी दिइएको थियो । उनी तेस्रोपल्ट पनि चुनाव जित्दै बहुमत प्राप्त कम्युनिष्ट सरकारको पहिलो पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न पुगेका थिए । त्यो मन्त्रालय सम्हालेपछि नेपालको वायुसेवा निगमको क्षेत्रमा उल्लेखीय काम भएका छन् । उनी पर्यटनमन्त्री हुनुअघि नेपालमा धेरै वटा विमानस्थल बन्द अवस्थामा थिए । कतै विमानस्थल गौचरण तथा कतै खेल मैदानमा परिणत भएका थिए । त्यस्ता विमानस्थललाई संरक्षण गरी उडान शुरु गरेका थिए ।
 
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति अस्तव्यस्त थियो कि धेरैजसो उडान आकाशमा घण्टौंसम्म होल्डमा बस्नुपथ्र्यो, त्यस्ता समस्यालाई निराकरण गर्न सफल भएका थिए । राष्ट्रिय उडानका लागि काभे्रमा एउटा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन पनि गरेका थिए । त्यस्तै देशका विभिन्न विमानस्थललाई व्यवस्थित गर्ने कार्यमा होमिएका थिए । हाल निर्माणाधीन लुम्बिनीको गौतम बुद्ध विमानस्थलको कामलाई समय अगावै सिध्याउनका लागि उनी हरेक हप्ताजसो अनुगमन गर्थे । त्यस्तै पोखरा विमानस्थललाई पनि उनले समयभन्दा अगाडि नै तयार हुनेगरी काम गराइरहेका थिए । त्यस्तै निजगढ विमानस्थलको काम पनि उस्तै द्रूत गतिमा बढाइरहेका थिए । सुस्पष्ट दृष्टिकोण र इच्छाशक्ति भएका रविन्द्र विकासका काममा अन्य मुलुकभन्दा पछि छैनौं भन्ने सन्देश प्रवाह गर्न चाहन्थे । नेपाल प्राकृतिक सुन्दरताले भरिएको मुलुक हो । यहाँका प्रत्येक ठाँउमा मानिसलाई बसौं–बसौं लाग्ने ठाँउहरू छन् । यी ठाँउहरूमा विदेशी पाहुनालाई ल्याउनका लागि पहिलो आधार भनेको विमानस्थल हो । त्यसलाई व्यवस्थित बनाउनुपर्छ भन्ने उनको स्पष्ट भिजन थियो ।
 
उनले विमानस्थलसँगै सुविधा सम्पन्न होटलहरू सञ्चालन हुनुपर्छ भन्ने सोच थियो त्यो पनि नेपालीपनमा आधारित । अमेरीकाबाट आउने पाहुनाले नेपाल आउँदा अमेरिकाको जस्तो नभई नेपालकै होटलको अनुभव गर्न सकोस् भन्ने सोच उनमा थियो । जुन, देशका मान्छे आए पनि नेपालीपनका होटल तथा रेष्टुराँ बन्नुपर्छ पर्छ भन्ने सोच राख्थे । उनको जस्तो सोचका साथ अगाडि बढ्ने हो भने नेपालको पर्यटन व्यवसाय त्यसै पनि फष्टाउन सक्छ । धेरै पर्यटकहरू देशमा भित्र्याउन सकिन्छ । यसैअनुसार व्यवसायीहरूलाई लगानी गर्न उनले अनुरोध गरेका थिए । पर्यटकलाई चाहिने पहिलो आधार भनेको होटल, यातायात त्यसपछि त्यो देशमा प्रचलित आदिवासीका सांस्कृतिक परम्परा नै हो । यस्ता कुरामा उनको स्पष्ट सोच थियो । रविन्द्रले राजनीतिको कुरा धेरै भए, त्यस हिसाबका आन्दोलनहरू पनि भए । बन्दुक पनि उठे । सयौं नेपाली सपूत पनि भए । तर, अब विकासको कुरा गरौं । अब समाजवादमा उक्लिनुपर्छ । जनताको समृद्धिमा लाग्नुपर्छ । राजनीतिमार्फत् अब देशबाट गरिबी अन्त्य गर्नैपर्छ । जनताले पाउने आधारभूत आवश्यकताहरू पूरा गर्नै पर्छ भनेर भन्थे । उनको पुस्तकमा पनि यस्तै कुरा समेटेको पाइन्छ । 
 
तर, पनि उनी विवादरहित बन्न सकेनन् । पर्यटन र नागरिक उड्डयन मन्त्री भएको केही समय नबित्दै उनी वाइडबडी विमान प्रकरणमा जोडिए । त्यसमा आर्थिक अनियमितता भएको कुराहरू आए । पहिलो, यो कसरी शुरु भयो ? त्यसबारेमा त्यति धेरै खोजी भएन, जब अनेक बहानामा विस्तारै यसले उग्ररूप लिन थाल्यो । वाइडबडी विमान खरिदमा संसद्को लेखा समितिले एउटा छानबिन आयोग नै गठन गर्यो । त्यो आयोगले रविन्द्र पनि घोटालमा संलग्न भए भन्ने प्रतिवेदन दियो । त्यो प्रतिवेदन संसद्मा पेश नभई सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्यो । उक्त समितिले सत्य कुरा बाहिर ल्याउला भन्ने आशा नेपाली जनताले गरेका थिए । तर लामो समय भइसक्दा पनि त्यसले कामै थालेन । यही बीचमा रवीन्द्रसहित ७ जना बितेर गए । उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउला नै । रविन्द्र दोषी थिए, कि निर्दोष थिए, त्यो आउने दिनमा निश्चित होला । सरकारले वाइडबडी प्रकरणलाई त्यसै छाड्नु हुँदैन । सत्यतथ्य ढिलोचाँडो बाहिर ल्याउनुपर्छ । रविन्द्रले गल्ती गरेको भए, उनले मृत्युपछि पनि छुट पाउनु हुँदैन, गल्ती नभए उनले सफाइ पाउनुपर्छ । र, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै रविन्द्रजस्ता नेताले सही अर्थमा सम्मान पाउँछन् ।