सरकारले गैरसंवैधानिक र गैरकानूनी हर्कत गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । यसपछि विप्लव नेकपा एकाएक चर्चामा आएको छ । प्रतिबन्ध लगाउनु पर्छ र पर्दैन भन्ने मुद्दाले सिङ्गो राजनीति नै विभाजित भएको छ । उसले भ्रष्टाचार र दलालीको विरुद्ध भन्दै जताततै बम विष्फोट, आगजनी, चन्दाको उर्दी  र नेपाल बन्दसम्मको कार्यक्रम गरिरहेको छ । अधुरो क्रान्तिलाई पूरा गर्न अर्को क्रान्तिको ऐतिहासिक आवश्यक्ता भनेर दाबी गरिहेका छन् । कतिपयले दश वर्षे जनयुद्धको दोस्रो भाग भनेर टिकाटिप्पणी गर्दैछन् । अर्थात् आम नागरिकमा चिन्ता, चासो र संशय बढेको छ । यही मर्मको अभिव्यक्तिको रूपमा यसको समाधन राजनीतिक सुझबुझको साथ गर्नु पर्ने चौतर्फी दबाव बढिरहेको छ ।      
 
नेपालमा यतिखेर एकातिर सत्तारुढ र अर्कोतिर विद्रोही नेकपा छ । सत्तारुढ नेकपा निर्वाचन आयोगमा दर्ता छ भने विद्रोही नेकपा दर्ता छैन । अझ रोचक यथार्थ त के छ भने दुवै नेकपा हिजो सँगसँगै जनयुद्ध लडेका सहयात्रीहरू हुन् । यो अनौठो संयोगजस्तै भएको छ । कतिपयले यसलाई नेकपा–नेकपा बीचको अनौठो अन्तरविरोध भनेर संज्ञा दिइरहेका छन् । मुलतः कम्युनिष्ट पार्टीको लक्ष्य, उद्देश्य र गन्तव्य एउटै हुन्छ । दुवैले समाजवाद र साम्यवादकै कुरा गर्छन् । समानता र न्यायकै वकालत गर्छन् । मुक्ति र स्वतन्त्रताकै सवाल उठाउँछन् । विभेद र अन्याय अन्त्यको कुरा गर्छन् । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको बराबरी अधिकारको नारा लगाउँछन् । यद्यपि उनीहरू किन फरक राजनैतिक पद्धति र प्रक्रियामा छन् ? यो गम्भीर राष्ट्रिय राजनैतिक बहसको विषय हो । 
 
खास गरेर विद्रोही नेकपाले सत्तारुढ नेकपामाथि थुप्र्रै सैद्धान्तिक राजनीतिक विचलन, विकृति र विसङ्गति रहेको आलोचना छ । कम्युनिष्ट आन्दोलनबाट विचलित र पथभ्रष्ट भएको दाबी छ । उसले जनताको जनवादी अधिनायकत्वसहितको केन्द्रीय राज्यसत्ताका लागि लडेको सहयात्री कमरेडहरू एकाएक दलाल पुँजीवादी संसदीय दलदलमा फसेको आरोप छ । दश वर्षे जनयुद्धको रणनैतिक लक्ष्य, उद्देश्य, गन्तव्य र मर्मलाई बाटोमै अलपत्र पारेको भनाइ छ । बहुसङ्ख्यक उत्पीडित जनता, शहीद, घाइते, अपाङ्ग र बेपत्ता नागरिकहरूको सपनामाथि कुठराघात गरेको जिकिर छ । कम्युनिष्ट मूल्य र मान्यताबाट च्यूत भएको निष्कर्ष छ । बरु उल्टै कम्युनिष्ट पार्टी नै अरू संसदीय लोकतान्त्रिक दलहरू जस्तै भ्रष्टाचार, कमिशन, ठेक्का, नाफाखोरी र तस्करीजस्ता दलाल पुँजीवादी कमाउधन्दामा लिप्त भएको आरोप छ । यसकारण उनीहरूको निष्कर्ष के छ भने, साँचो कम्युनिष्ट पार्टी गठनको ऐतिहासिक आवश्यक्ता छ । अर्को आन्दोलन जरुरी छ । रुपान्तरण अनिवार्य छ अनि विद्रोह अवश्यंभावी छ । 
 
यता सत्तारुढ नेकपाको भने दश वर्षे जनयुद्ध लगायतका परिवर्तनकारी आन्दोलनहरूले एक हदसम्म राजनैतिक समस्या समाधन भइसकेको दाबी छ । हाल गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकलगायतका राजनैतिक एजेण्डाहरू स्थापित भएको जिकिर छ । वर्तमान प्रतिकूल विश्व परिस्थितिलाई मध्यनजर राख्दै प्राप्त उपलब्धीहरूको जगमा टेकेर विकास र समृद्धिको प्रक्रियामार्फत् समाजवाद हुँदै साम्यवादतर्फ जाने योजना छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने मूल नारासहित देश निर्माणको राष्ट्रिय अभियानमा छ । यस्तो अनुकूल राजनैतिक परिवेशमा अझै कुनै किसिमको विद्रोह र आन्दोलनहरूको अपरिहार्यता छैन भन्ने सत्तारुढ नेकपाको ठहर छ । क्रान्तिको नाममा अझै सङ्घर्ष गर्नुपर्ने वस्तुगत अवस्थामा नरहेको भनाइ छ । हाल कार्यान्वयनको प्रक्रिया र पहुँचमा रहेको राजनीति नै पर्याप्त हुने निष्कर्ष छ । 
 
मुख्यतया एकातिर दुईतिहाइको कम्युनिष्ट पार्टीको सरकारसँग जनताको आशा अपेक्षा धेरै रहेको छ । उपभोगवादी सँस्कृति हावी भएको समाजमा सीमाहीन सिघ्र अपेक्षा अत्यधिक हुन्छ । ताकि कसैको लागि पनि जनअपेक्षा पूरा गर्नु त्यति सजिलो हुँदैन । अर्थात् जनताको व्यापक अपेक्षा बमोजिम प्रतिबद्धता र सपनाहरू बाँडिन्छ । तर सैद्धान्तिक प्रतिवद्धताअनुरूप व्यवहारिक कार्यान्वयन सहज छैन । यही वस्तुगत असन्तुलनकै कारण जनअपेक्षा पूरा हुँदैन । तब स्वभावतः ‘एबिसीडी’ कुनै पनि सरकारको आलोचना भइनै रहन्छ । 
 
अर्कोतिर कम्युनिष्ट सरकारले आफ्नो आधारभूत सिद्धान्तअनुसार नीतिगत र पद्धतिगत कार्यक्रमहरू लागू गर्न नसक्नु पनि जिम्मेवार देखिन्छ । वस्तुतः कम्युनिष्ट सरकार भनेको औसत संसदीय सरकारभन्दा सारभूतरूपमै भिन्न हुन्छ र हुनुपर्दछ । सैद्धान्तिक राजनैतिक पद्धति, मूल्यमान्यता, रणनैतिक तथा कार्यनीतिक उद्देश्यहरू फरक हुन्छन् । नीति तथा कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण नै भिन्न हुन्छ । अर्थात् अर्थराजनीतिक तथा साँस्कृतिक पद्धति नै आकाश–धर्तीजस्तो अन्तर हुन्छ । बाटो र गन्तव्य मात्र फरक हुँदैन हिँडाइको तरिका नै अर्को हुन्छ । काम र श्रम सँस्कृतिलाई प्रोत्साहन गरिन्छ । आम मनोविज्ञान, सोच, चिन्तन–मनन्, बुझाइ र व्याख्या गराइ नै फरक हुन्छ । हरेक घटना, घटना प्रक्रिया र सत्तालाई निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामार्फत् परिवर्तन हुने सार्वभौम सच्चाइलाई आत्मसात गर्दछ ।
 
तर किन–किन यो सरकार पनि औसत परम्परागत सरकारभन्दा भिन्न हुनसकेको छैन । पार्टी, पात्र र माहौल परिवर्तन भए पनि राज्यसत्ताको सारभूत वर्गीय चरित्रमा परिवर्तन भएको छैन । यो सामन्य औसत संसदीय विचारद्वारा निर्देशित सरकारजस्तो मात्र देखिन्छ । विगतदेखि गरिँदै आएको राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक विरासतको रूपान्तरण हुनसकेको छैन । अझ स्पष्ट गर्दा उत्पादनमुखी काममा भन्दा अति औपचारिकता, आडम्बर, ढोंग र पाखण्डीपन बढिरहेको छ । काम र परिणामभन्दा भाषण र वक्तव्यबाजी परम्परागत नै छ । भ्रष्टाचार, कमिशनतन्त्र र नाफाखोरीतन्त्र, तस्करी, विसङ्गति र विकृति उस्तै छ । कार्यदिशा, कार्यक्रम, जीवनशैली, कार्यशैली र आचरण पुरानै छ । आम मनोविज्ञान, सोच्ने तरिका, चिन्तन पद्धति र हरेक राजकीय अङ्गहरूको काम गर्ने शैली यथावत् छ । काम वा श्रम सँस्कृति आम थितिको रूपमा छैन । हामी कम्युनिष्टहरू काङ्गे्रस भन्दा यो मानेमा फरक छौं भनेर दाबी गर्ने ठोस र स्पष्ट सैद्धान्तिक, राजनीतिक र आचरणगत आधार छैन । तब जनता कसरी हामीबाट सन्तुष्ट हुन्छन् ?
 
यो सत्य हो कि, यस्तो पुरातनवादी शासकीय कार्यशैली र जीवन व्यवहारको रटानबाट मात्र जनअपेक्षा पूरा हुँदैन । तब कम्युनिष्ट सरकारप्रति वितृष्णा जाग्दछ । जनताको अपेक्षा र चाहनाहरू मर्दछन् । कम्युनिष्ट र कम्युनिष्ट इतर बीचमा कुनै सैद्धान्तिक राजनैतिक पर्खालहरू रहँदैन । साना हल्ला र घटनाकै कारण पनि सरकार विरोधी मनोविज्ञान भाइरल हुन जान्छ । यही कमलो, कमजोर र संवेदनशील स्थितिमा अग्रगामी, यथास्थितिवादी र पश्चगामी शक्तिहरू सतहमा देखा पर्दछन् । आ–आफ्नो राजनैतिक स्वार्थको दाउ थापेर अघि बढ्दछन् । यस्तो बेला सरकारलाई गम्भीर अप्ठ्यारो पर्दछ । त्यसैले सरकार सवल र सफल हुनका लागि रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अनिवार्य हुन्छ । सिद्धान्त, विचार र व्यवहारमा दृढता र स्पष्टता जरुरी हुन्छ । कमीकमजोरी र गलत सँस्कृतिहरूलाई स्वार्थ मिल्यो भन्दैमा सम्झौता गर्नु हुँदैन । निहीत स्वार्थ र लेनदेनमा फस्नु हुँदैन । राजनीतिलाई पुस्तेउलो विरासत, व्यापार र व्यवसायजस्तो बनाउनु हुँदैन । 
 
भर्खरै विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । तर इतिहाससिद्ध तथ्य यो हो कि प्रतिबन्ध र दमनबाट समस्याको समाधन भएको छैन । बरु उल्टै झनै भीषण द्वन्द्वमा मुलुक फसेको पाइन्छ । यसकारण विप्लव नेकपाको राजनीतिक समाधनबाहेक अर्को विकल्प छैन । सामान्यतया राजनीतिक समाधान भन्नाले वार्ता र सम्वादलाई बुझाउँछ । तर यसले मात्रै पूर्ण समाधान दिन सक्दैन । किनकि सैद्धान्तिक तथा राजनैतिक दृष्टिकोण नै फरक भएपछि दुवै पक्षहरूको जित– जितको अवस्थामा राजनैतिक सम्झौता हुनै सक्दैन । यो सार्वभौम नियम हो । यसमा एउटा पक्ष हावी हुनैपर्दछ । त्यसैले विप्लव नेकपाको राजनैतिक समाधान भनेको उसले जुनजुन जनसरोकारका मुद्दाहरू उठाएर भावनात्मक समर्थन र साहनुभूति पाइरहेको छ सरकार त्योभन्दा एक कदम अघि बढ्नुपर्दछ । उसले जेजे आरोप लगाइरहेको छ त्यसलाई नीतिगत रूपमै चिरेर खाँट्टी कम्युनिष्ट चरित्र देखाउनु पर्दछ । तब उसको गतिविधि स्वतः निस्तेज हुँदै जान्छ ।
 
वस्तुतः वर्तमान सरकार पनि कम्युनिष्ट सरकार हो । यता विद्रोही पनि कम्युनिष्ट नै हो । यिनीहरू दुवैको रणनैतिक उद्देश्य भिन्न छैन र हुँदैन । त्यसकारण विप्लव नेकपाको पहिलो दीर्घकालीन राजनैतिक समाधान भनेको कम्युनिष्ट विचार सिद्धान्तमा जोड र लोकतान्त्रिक औसत गतिविधिमा ध्यान दिने सवाल हो । राष्ट्रिय औद्योगिक पुँजी निर्माणमा जोड र दलाल निगम र वित्तीय पुँजीलाई दुरुत्साहन गर्ने हो । उत्पादन मुलक कृषि तथा औद्योगिक अर्थतन्त्रमा जोड र सेवामुलक अर्थतन्त्र विकासमा ध्यान दिने विषय हो । सरकारी पुँजी विकासमा जोड र उदार निजी पुँजीमा ध्यान दिने सवाल हो । राष्ट्रिय पुँजी निर्माणलाई जोड र राष्ट्रघाती, जनघाती र असमान स्वार्थमा आधारित परियोजनालाई निस्तेज गर्नुपर्दछ । कम्युनिष्ट आचरण र जीवन व्यवहारमा जोड र बुर्जुवा उपभोगवादी सँस्कृतिमा ध्यान दिनुपर्दछ । सामूहिकतामा जोड र निजीमा ध्यान दिने हो । दुःखी गरिब वा विपन्नलाई जोड र सम्पन्नलाई ध्यान दिने कुरा हो ।
 
त्यस्तै सामूहिक तथा सामाजिक स्वामित्व र स्वार्थलाई जोड र निजी स्वामित्व र स्वार्थलाई ध्यान दिनुपर्दछ । गाउँलाई जोड र शहरलाई ध्यान दिने कुरा हो । अशिक्षित र अनपढलाई जोड र शिक्षितलाई ध्यान दिनुपर्दछ । पहुँच नहुनेलाई जोड र हुनेलाई ध्यान दिनुपर्दछ । शक्तिहीनलाई जोड र शक्तिशालीलाई ध्यान दिने तरिका हो । दूर्गमलाई जोड र सुगमलाई ध्यान दिने नीतिमा आधारित हुन्छ । तत्कालका लागि लोपोन्मुख, दलित, महिला र जनजाति समुदायलाई जोड अरू समुदायलाई ध्यान दिनुपर्दछ । शारीरिक श्रममा जोड र मानसिक श्रममा ध्यान दिनुपर्दछ । कम्युनिष्ट पद्धतिमा जोड र आचरणमा ध्यान दिनुपर्दछ । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको पनि सबभन्दा उत्पीडितहरूलाई जोड र बाँकीलाई ध्यान दिनुपर्दछ । समग्र देश विकासमा जोड र व्यक्तिगत आर्जनमा ध्यान दिनुपर्दछ । यही जोड र ध्यानको द्वन्द्वात्मक ऐतिहासिक समायोजन प्रक्रियाबाट मात्र समाजवाद निर्माणको लामो र कष्टसाध्य अभियान फत्ते गर्न सकिन्छ ।
 
तसर्थ, विप्लव नेकपाको वस्तुवादी बैठान भनेको राजनीतिक समाधान नै हो ।  तर राजनीतिक समाधान भन्नाले वार्ता र सहमतिलाई मात्र जनाउँदैन । भिन्न विचार र दृष्टिकोण भएपछि सबै राजनैतिक सवालहरूमा सम्झौता भइहाल्ने वस्तुगत स्थिति रहँदैन । यसको स्थायी हल भनेको विप्लव नेकपाले सरकारप्रति लगाइरहेको आरोपहरूको व्यवहारतः स्पष्ट जवाफ दिनु हो । कमीकमजोरी सच्याउँदै रूपान्तरण हुनु हो । कम्युनिष्ट सरकारले कम्युनिष्ट सिद्धान्त, चरित्र, सँस्कृति र चिन्तनलाई आचरणमा बदल्नु हो । भ्रष्टाचार, कमिशन, नाफाखोरी, ठेकेदारी र तस्करीलाई नीतिगत तथा आचरणगत रूपमा दुरुत्साहन गर्नु हो ।  कम्युनिष्ट कार्यशैली र जीवनशैलीलाई व्यवहारिक जीवनमा लागू गर्नु हो । वैज्ञानिक समाजवादतर्फको यात्रा तय गर्नु हो । राजनीतिलाई व्यापार नभएर ऐतिहासिक प्रक्रियागत आन्दोलन, त्याग र सेवाको रूपमा आत्मसात् गर्नुपर्दछ । अर्थात विप्लव नेकपाले उठाएको जायज मुद्दाहरूलाई अझ एक कदम अघि बढेर सम्बोधन गर्नुपर्दछ । तबमात्र अरू आन्दोलन बेकार हुनुको साथै विप्लवप्रतिको औचित्य र सद्भाव कमजोर हुनेछ । यही बिन्दुबाट राजनैतिक समाधानको ढोका पनि खुल्नेछ ।