भाषा विचार विनिमयको माध्यम हो । मानव विकाससँगै भाषाको विकास पनि भएको हो । ज्ञानको प्रसारण तथा हस्तान्तरणमा पनि भाषाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विश्वमा करीव ६ हजार ५ सय भाषाहरु बोल्ने गरेको पाइन्छ भने नेपालमा १ सय २३ भाषाहरु रहेका छन् । चाइनिज, अङ्ग्रेजी, हिन्दी, स्पेनिस, अरबिक, मले, रसियन, बेङ्गाली, पोर्चुगिज र फ्रेन्च क्रमशः विश्वमा बढी मानिसहरुले बोल्ने १० ओटा भाषाहरु हुन् । शिक्षाको माध्यम भाषाको रुपमा यीनै भाषाहरुको बाहुल्यता रहेता पनि अन्तर्राष्ट्रिय क्षेत्रमा अङ्ग्रेजी भाषाले शिक्षाको माध्यम भाषाको रुपमा बढी महत्व पाएको देखिन्छ । यसो हुनुमा बेलायतको विगतको औपनिवेशीकरण नीति र संयुक्त राज्य अमेरिकाले हासिल गरेको विज्ञान तथा प्रविधिको विकास नै मुख्य कारकको रुपमा लिन सकिन्छ । चीन, जापान, फ्रान्स जस्ता विकसित मुलुकहरुले त प्रविधि र पुस्तकहरु पनि आफ्नै भाषामा विकास गर्न सक्षम भएकोले अङ्ग्रेजी भाषाको खासै आवश्यकता महसुुुस गरेको पाईदैन । तर नेपाल जस्तो विकासोन्मुख मुलुकले भने प्रविधि र उच्च शिक्षाको लागि अङ्ग्रेजी भाषाको साहरा लिनुपर्ने वाध्यता रहेको छ ।
बालबालिकाले मातृभाषामा सिकेको कुरा दिगो हुने विभिन्न अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । यति हुँदा हुँदै पनि भाषाको माध्यमले शिक्षा प्रदान गर्ने कुरामा खासै ठूलो अर्थ राख्दैन भन्नेहरु पनि नभएका होइनन् । नेपालमा विगत केही वर्ष देखि अङ्ग्रेजी माध्यमको शिक्षा प्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढेको छ । बरु एक छाक मात्र खाने, ज्याला मजदुरी गर्ने तर आफ्नो छोराछोरीहरुलाई जसरी पनि अङ्ग्रेजी माध्यमको विद्यालयमा भर्ना गर्ने अभिभावकको संख्या उल्लेख्य छ । यही मान्यताले उनीहरु निजी विद्यालय तर्फ आकर्षित भएको देखिन्छ । परिणाम स्वरुप सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थीको संख्या क्रमशः घट्दै गईरहेको छ । केही सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई आफुतिर आकर्षण गर्नको लागि अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन सुरु गरेको पाइन्छ । नगन्य रुपमा केही विद्यालयहरु त्यसमा सफल भएता पनि अधिकांश विद्यालयहरुलाई अङ्ग्रेजी माध्यम “नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार” भने झै भएको छ ।
भाषा माध्यम मात्रै होइन त्यसका विधि र पद्धतिहरु भने फरक फरक हुन्छन् । अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने र नेपाली माध्यमबाट अध्यापन गराउने विधि भिन्न भिन्नै अपनाउनु पर्ने हुन्छ । पुराना भाषा माध्यमले सामुदायको मागलाई सम्वोधन गर्न सकेन भनेर नयाँ भाषा माध्यम त ल्यायो तर विधि उही पुरानै प्रयोग गर्नाले नयाँ अङ्ग्रेजी माध्यम झन् घाँडो भएको देखिन्छ । लोकल माछा पालेर फाइदा भएन भनेर रेन्बो ट्राउट माछा पाल्ने कोशिस त गरियो तर लोकल माछा पाल्ने पोखरीमा नै त्यही तरिकाले माछा पाल्दा कसरी रेन्बो ट्राउट माछाबाट फाइदा लिन सकोस् त १ भन्नुको मतलव अङ्ग्रेजी माध्यम त लागू गरियो तर त्यसको विधि पद्धति लागू गरिएन । शिक्षकहरुको लागि तालिम त कार्यशालाहरुको आयोजनाको आवश्यकता नै महशुस गरिएन । निश्चित अवधिमा अनुगमन, मूल्याङ्कन, पृष्ठपोषणको कुरा त झन् धेरै टाढाको विषय बन्यो ।
फेरि सरकारी सिण्डीकेटका कारण सामुदायिक विद्यालयहरुले जनक शिक्षा सामग्री केन्द्रद्वारा प्रकाशित नेपाली माध्यमका पुस्तकहरु कै अङ्ग्रेजी अनुवाद गरेका पुस्तकहरुको प्रयोगले त झन् अङ्ग्रेजी माध्यमलाई जटिल र असफल बनाउन थप वल प्रदान गरेको छ । विद्यार्थीले जुनसुकै प्रकाशनको पुस्तक पढ्न पाउने हक अधिकारलाई पनि कुण्ठित गरियो । अनुवादित पुस्तकहरु सुरु प्रकाशनको भाषामा भन्दा केही फरक र असजिला हुन्छन् । भाषाको केही सिधा र केही लाक्षणिक अर्थहरु हुन्छन् जसलाई अनुवाद गर्दा मिठासमा कमी आउने गर्दछ । दुरदराजका सामुदायिक विद्यालयहरुमा एउटा मात्र अनिवार्य अङ्ग्रेजी विषयको अध्यापन पनि अनुवाद गरी नेपाली माध्यममा अध्यापन हुनाले खासै अङ्ग्रेजी भाषाको विकास हुन नसकेको भन्ने भाषाविद्हरुको टिप्पणी छ । यसको उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा जवर्जस्ती सबै विषयलाई अङ्ग्रेजी माध्यम लागू गर्दा र त्यही अनुवाद गरी अध्यापन गर्ने विधि अपनाउँदा नाम मात्राको अङ्ग्रेजी माध्यमको शिक्षा हुन गएको छ ।
शिक्षकहरुलाई अङ्ग्रेजी माध्यमको लागि आवश्यक शिक्षण विधि, शैक्षिक सामग्री, कक्षा कोठामा प्रयोग हुने भाषा, मूल्याङ्कन विधि, अन्य पद्धतिको बारेमा व्यावहारिक ज्ञान सीप विना हचुवाको भरमा अङ्ग्रेजी माध्यममा होमिदा त्यसले दिने नतिजा पनि अवश्य नै नकारात्मक नै हुने गर्दछ । फेरि अङ्ग्रेजी माध्यम पनि वाध्यतावश जवर्जस्ती लागू गर्नाले शिक्षकहरु एवम् स्वयं विद्यालयले पनि अन्तरआत्मा देखि अपनत्व ग्रहण गर्न नसक्नुले पनि आलोचना गर्नेहरुको लागि थप उर्जा प्रदान गरेको पाइन्छ । त्यसैले सामुदायिक विद्यालयहरुले अभिभावकको इच्छा, चाहना र आवश्यकतालाई सम्वोधन नगरीकन आ–आफ्नै आदर्श र तर्कहरुले मात्र विद्यालय सञ्चालन गर्दै गए विद्यालयमा घाँस उम्रने र हिन्दु धर्मशास्त्रले भने झै कुशका विद्यार्थी बनाएर पढाउनु पर्ने दिन पनि नआउला भन्न सकिदैन । माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत भएकोले जवर्जस्ती रुपमा अङ्ग्रेजी माध्यमलाई लाद्नु भन्दा पनि व्यापक छलफल, बहस, अनुसन्धान सहित आवश्यक भौतिक पूर्वाधार तथा दक्ष मानवीय साधनको विकास गरी योजनावद्ध रुपमा लागू गरिनु पर्दछ । त्यसको लागि सामुदायिक विद्यालयहरु र त्यसमा कार्यरत शिक्षकहरु स्वतस् स्फूर्त रुपमा तयार हुनु पर्दछ । साथै प्रविधि र प्रयोगमा आधारित पेशा, व्यवसायमुखी व्यावहारिक शिक्षा प्रदान गर्ने तर्फ सबैको ध्यान जान आवश्यक देखिएको छ ।