अहिले हाम्रो देशमा थुप्रै युवाहरू देशमा रोजगारी पाइएन । यो सरकारले रोजगार दिएन के गर्नु अब आफ्नो घरबारी बेचेर भए पनि विदेश जानुपर्यो भनेर ताँतीका ताँती हुलका हुल नेपाली युवाहरू प्रत्येक बिहान हजारौँको सङ्ख्यामा प्रत्येक दिउँसो हजारौँ मानिस लाम लागेर रोजगारी पाइनँ भनेर हजारौँ नेपाली हवाईजहाज चढिरहँदा हामी बाहिर बसेर हात हल्लाएर ल राम्रो काम गर्नू । अर्काको देशमा जाँदै छौ भनेर तरक्क आँशु झार्दै बिदाई गरेको बेलामा कटक्क मुटु छुन्छ ।
 
अनि विदेशमा सुतेकै ठाउँमा मृत्यु भयो भनेको सुन्दा ती वृद्ध बाबुआमा अनि आफ्नो जीवनमा साथै हिँड्न आएकी जीवन साथीले डाको छाडेर रोइरहँदा अनि बाबु विदेशिएको बेला जन्मिएको शिशुले आफ्नो बाबुको अनुहार कहिले देख्न नपाएको त्यो शिशुलाई बाबु खायो यसले भनेको सुन्दा, कहिले बाबु टोकुवा भनेको सुन्दा कति मन भाँचिदो हो । त्यो सन्तानको अनि पीडाले कति छट्पटी हुँदो हो । 
 
आज बिहान म रेडियो सुन्दै थिएँ । कान्तिपुरको द हेडलाइन भन्ने स्तम्भमा तेजेन्द्र काफ्लेले अन्तर्राष्ट्रिय मजदुर सङ्गठनको गभर्निङ बडीकी सदस्य विन्दा पाण्डेसँग कुराकानी गर्दैै थिए । उनले एउटा प्रश्न गरेका थिए । हामीले के के लाई रोजगारी भन्छौँ । गाउँमा एउटा बाबु आफ्नो खेतमा पाकेको धान काट्ने खेताला खोज्न गाउँतिर जान्छन् । तर खेताला नपाएर उनी रित्तो हात घर फर्कन्छन् । यता छोरो बिहानै काम खोज्न शहरतिर जान्छ । ऊ काम नपाएर साँझमा रित्तो हात घर फर्कन्छ । खेतमा लगाएको धान पाकेर झर्न थाल्छ । त्यो खेतको धान काट्नुलाई छोराले कहिल्यै काम ठान्दैन । यता बाबुले पनि त्यो न आफ्नो काम ठान्दछ, न छोराले । आखिर खेतको धान काट्दैनन् भनेका थिए ।
 
साँच्ची नै यो बेलामा हाम्रो देशमा रोजगारी भनेको के लाई बुझेका छन् । हाम्रो देशका नागरिकले कस्तो कामलाई काम भन्ने हो । हामी बेस्सरी कराएर युवाहरू रोजगारी पाइएन भन्छन् तर घरको काम धान काट्ने काम नै होइन भन्छन् । धान रोप्ने काम छ । अनि तरकारी लगाउने यो सबैलाई अहिले पनि काम भनिदैन । अहिले हाम्रो खेतमा काम गर्ने मानिस नपाएर र खेत बाँझो हुन्छ । हामी विदेशबाट आएको चामल किनेर खान्छौँ । खेतबारी सबै बाँझै छाडेर कामको खोजीमा भाैंतारिएका भौंतारिएकै छौँ । अहिले पहाडमा त ६० प्रतिशतभन्दा बढी जमिन बाँझो छ । हाम्रो पहाड भनेको धेरै सम्भावना बोकेको ठाउँ हो । 
 
पहाडमा हुने फलफूल, तरकारी, कोदो, फापर मात्रै लगाउने हो भने नेपालको नमूना खेती हुनसक्छ । स्याउ, सुन्तला, नास्पाती, कागती, जुनार, भोगटे, अमला यी सबै चिज उब्जनी हुने ठाउँ हो पहाड तर हामीले त्यो उब्जाउनुको साटो रोजगारी पाइएन भनेर विदेशिन थाल्छौँ  काम खोज्न खाडीमुलुकतिर लाग्छौँ । यता घरमा बूढाबूढी भएका बाबुआमा मात्रै छन् । हाम्रो खेत जोती दिने मानिस नपाएर बाँझै बस्छ । हाम्रो देशको खेतबारीमा हेरौं, जसले खेतमा आफैले धान लगाएको छ, उसले धान गोड्ने बेलामा काम गरि दिने अथवा धान गोडिदिने मानिस हुँदैन । छोरो विदेशमा गएर भेडा चराउँछ कि त्यहाँ पनि खेती गर्छ । त्यहाँ गएर खोइ उसले कोदालो चलाएर हिलो आली सोहोर्छ कि ? सुँगुरको खोरमा लिदी सोहोर्दै छ कि ? कुखुराको फारममा काम गर्दै छ कि ? त्यहाँ पनि खेतमा तरकारी गोड्दै छ । विदेशमा गएर काम गर्नु भनेको त्यहाँ होटलमा भाँडा माझ्नु, होटलको कुर्सी, टेबुल सफा गर्नु, गाडी चलाउनु, गाडी सफा गर्नु आदि त हो । कुनै व्यापारिक केन्द्रमा बसेर काम गर्नु चाहिँ काम हो भन्ठान्छौँ । त्यहाँ हामीले गएर गर्ने भनेको काम यस्तै नै हुन् । 
 
एकातिर हामीले हाम्रो देशका कारखानामा गएर हेर्ने हो भने त्यहाँ ७० देखि ८० प्रतिशत काम गर्ने मानिस विदेशी छन् । होटलमा त्यस्तै छ । निर्माण क्षेत्रमा हेरौं, त्यहाँ काम गर्ने मजदुर ७० प्रतिशतदेखि ९० प्रतिशतसम्म मानिस बाहिरी देशमा छन् । त्यस्तै देशका ठूल्ठूला परियोजना हेर्ने हो भने त्यहाँ त्यति नै धेरै मानिस विदेशी छन् । नेपालको निजी विद्यालयमा विदेशीहरूको बाक्लो उपस्थिति छ । अब त कृषिमा पनि त्यत्तिकै धेरै विदेशीको उपस्थिति हुन थालेको छ । 
 
हामीले देखेका छौँ, खाली बोतल, खाली सिसा भनेर हिँड्ने, थोत्रा प्लास्टिकका सामान जम्मा गर्ने, पुराना टुक्रा फलाम  अनि व्यापारको क्षेत्रमा हेर्ने हो भने गाउँ–गाउँमा कपडा बोकेर हिँड्ने विदेशीहरू छन् । कपाल काट्ने, गाउँमा जमिन भाडामा लिएर तरकारी खेती गर्ने, बजारमा तरकारी व्यापार गर्ने, इँटाभट्टामा काम गर्ने, काठ मिस्त्री भवन निर्माण यी सबै ठाउँमा विदेशबाट आएका नागरिक छन् । अहिले हामीले ४० देखि ५० लाखको हाराहारीमा नेपाली युवाहरू विदेशिएको हामीसँग तथ्य छ । तर नेपालमा कति विदेशी आएर काम गरेका छन् । हामीले जति रेमिट्यान्स नेपाल भित्र्याउँछौँ । सायद त्योभन्दा बढी नेपालबाट बाहिर जान्छ होला ।
 
केही दिनअगाडि हामी एकजना साथीको एउटा वाइन कारखाना हेर्न गएका थियौँ । त्यहाँ पुगेर हेर्र्दै गर्दा उहाँलाई हामीले सोध्यौँ– तपाईंको क्यामिष्टलाई महिनाको कति दिनुहुन्छ ? साथीले भने– यहाँ भौचर बाट त्यस्तै एक लाख दिन्छु । तर त्यतिले कहाँ हुन्छ र कर तिर्नु पर्छ । ऊ धेरै कर तिर्नु पर्यो भने यहाँ बास्दिन भन्छ । बिना भौचर त्यसको चारगुणा बढी दिनुपर्छ । भन्नाले ६ लाख ? उनले त्यस्तै हो भनेका थिए तर बुझ्दा त्योभन्दा धेरै दिनुपर्ने रहेछ । त्यति मात्र होइन, उनीहरू अरु पनि ३ ओटा रक्सी कारखानामा प्रत्येक महिनामा रक्सी चाख्न जान्छन् अरे । प्रत्येकपटक हवाईजहाजको भाडा, खाने–बस्ने व्यवस्थासहित एकदिनको एक लाख दिनुपर्छ भनेका थिए । यस्ता प्राविधिक हाम्रो देशमा धेरै ठाउँमा छन् । यस्तो भएपछि हामीसँगको जनशक्ति खोइ ? यसको तयारी गर्न ध्यान दिएको भए कम्तिमा उद्योग चलाउने बेलामा गोजीमा पैसा बोकेर प्राविधिक खोज्न विदेश चहार्नु पर्ने थिएन ।
 
यो एउटा पाटो भयो । हाम्रो देशमा कहाँ–कहाँ गैरनेपालीहरूले काम गरेका छन् । प्रत्येक वर्ष हाम्रो श्रम बजारमा लाखौंको संख्यामा विदेशीको प्रवेश हुन्छ । हाम्रो देशबाट नेपाली युवाहरू जति पनि विदेशिएका छन् । तीमध्येका ३० प्रतिशत माथिका युवायुवतीहरू जहाँ गएका छन्,  त्यहाँ नेपालमा भन्दा तल्लो स्तरको जोखिमपूर्ण काम गर्छन् । नेपालबाट बाहिरिएको श्रमशक्ति भनेको जति पनि कामदारको रूपमा विदेशिएका छन् । उनीहरू १०० का १०० प्रतिशत घरेलु कामदारको रूपमा गएकाहरू नै छन् । त्यहाँ गएर भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने, अझ इजरायललगायतका मुलुकमा गएकाहरूले त त्यहाँका वृद्धवृद्धाको स्याहारचाकर गर्ने नै हो । कति ठाउँमा नेपाली चेलीहरू बलात्कार भएका छन् । कतिले कुटाइ खाएर नारकीय जीवन बिताउनु परेको छ । भनिन्छ, कति ठाउँमा नेपाली चेलीले घरको बाबु, छोरो मौका परे नातिले समेत बलात्कार गर्छ । त्यस्तै विदेशिएका युवाहरूले पनि कति देशमा गएर गाडी चलाउँछन् ।
 
कति ठाउँमा सुँगुरको फारममा काम गर्छन् । कति ठाउँमा कुखुराको फारममा गएर काम गर्छन् । इजरायलमा गएका युवाहरूको ३० प्रतिशत हिस्सा यहाँ आफ्नो खेतबारी बाँझो राखेर त्यहाँ जान्छन् । ५ देखि १० लाखसम्म खर्च गरेर । आखिर त्यहाँ गएर पनि उनीहरूले यहाँ छोडेर गएको बाँझो जमिन जस्तै त्यहाँ पनि बाँझो जमिनमा काम गर्छन् । कोरियामा पनि धेरै मानिस खेतीमै गएर काम गर्छन् । अरु मुलुकमा पनि यहाँबाट गएका युवाहरूले त्यहाँ घर  बनाउने, बाटो बनाउने काम नै गर्छन्  । त्यस्तै गरी त्यहाँ गएकाहरूले नेपालमा गर्ने काम नै गर्छन् । यतिसम्म यहाँ कारखानामा काम गर्दागर्दै स्थायी भएकाहरू काम छाडेर विदेशमा गएर यहाँको भन्दा कयौँ गुणा जोखिम मोलेर काम गर्छन् । एक पटक म जापान गएको थिएँ । त्यहाँ मैले रेखबहादुर बोलोनलाई भेटेँ । उनी यहाँका सहायक जिल्ला शिक्षा अधिकारी भएका थिए । उनी राजनीतिक कारणले पञ्चायती शासकले पक्राउ ग¥यो र उनी जेलबाट छुटेपछि सायद धैर्य गर्न नसकेर जापान गए ।
 
त्यहाँ उनले दुई ठाउँमा काम गर्छु भन्थे । एक ठाउँमा कुखुराको मासु काट्ने र अर्को ठाउँमा एउटा रेष्टुराँमा ग्राहकलाई खाना दिने । यस्तो सामान्य काम गर्दा रहेछन् उनी । त्यहीँ अर्को एकजना साथी मैले चिनेका पनि रहेछन् । उनलाई भेटौं न भनेर मैले भेट्न खोजेँ । उनले मसँग भेट गर्न चाहेनन् । किन यस्तो भनेर बुझ्दा उनी एउटा सुँगुरको फारममा सुँगुरको लिदी सोहोर्ने काम गर्दा रहेछन् । त्यसैले पहिलेको मेरो नेता पछि त्यस्तो ठाउँमा देख्दा लाज हुने भएकोले उनले भेट गर्न मानेनन् । उनको यहाँ थुप्रै जमिन थियो, त्यो कसले कमाएर खान्छ, थाहा  छैन ।
 
तर यतिको जमिन बाँझै छाडेर मानिस त्यहाँ किन त्यस्तो जोखिमपूर्ण काम गर्न जान्छन् । यसो किन गर्छन्, आखिर त्यहाँ गएर त उनीहरूले यहाँभन्दा धेरै काम गर्नुपर्छ । त्यहाँ काम गरेको बेलामा गोजीमा बजेको मोबाइल उठाएर कुरा गर्न पाइँदैन । कामको बेलामा मोबाइल बजेको रोजगारदाताले सुन्यो भने पहिलो पटक चेतावनी दिन्छ । अझ पनि मोबाइल बज्यो भने त्यसको भोलिपल्टदेखि बिदा भए हुन्छ भनेर अन्तिम चेतावनी दिन्छ । यता घरमा बाबुआमा मरे नै भने पनि मोबाइलमा बोल्न पाइँदैन । अरुसँग कुरा गर्न पाइँदैन जे हुन्छ, त्यो सबै छुट्टीपछि मात्रै हुन्छ । 
 
अहिले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । अब विदेशमा गएर काम गर्नेभन्दा आफ्नै देशमा काम गरे बूढो भएपछि बिरामी हुँदा रोजगारदाता, कामदार र सरकारको सहमतिमा बनेको कोषबाट पेन्सनसरह र अन्य सामाजिक सुरक्षाको व्यवस्था गरेको कोषबाट पैसा पाइन्छ । तर विदेशमा काम गर्नेले त्यो सुविधा पाउँदैनन् । यसरी हामी आफ्नो देशमा भएको कामलाई काम ठान्दैनौँ । हामी धान काट्नुलाई रोजगार मान्दैनौं । घरमा सयौँको सङ्ख्यामा बाख्रा पालेर त्यसको राम्रो चाकर गरेर महिनामा ५ ओटा खसी २५–३० हजारमा बिक्री गर्न सकिने कामलाई रोजगारी मान्दैनौं । ५० ओटा गाई पालेर दूध व्यापार गर्नुलाई पनि काम ठान्दैनौँ । आफ्नो खेतबारीमा तरकारी खेती गरेर त्यसलाई बजारमा लगेर बेचेर पैसा कमाउनुलाई रोजगारी ठान्दैनौं । हामीले ठानेको रोजगारी अफिसमा प्रथम श्रेणीको कर्मचारी हुनु (पियन) लाई रोजगारी ठान्छौँ । 
 
हाम्रो यस्तो सोच र चिन्तनलाई पहिले हटाएर अहिले जहाँ–जहाँ अरु देशमा नागरिकले काम गरिरहेका छन् । त्यो ठाउँमा पहिले नेपाली युवाहरूले भरिनु प¥यो । काम नजानेको भए सिकेर त्यसपछि अरु रोजगारीका अवसरहरूको सिर्जना गरौँ । अब खेतमा धान काट्नु, धान रोप्नु, तरकारी खेती गर्नु, गाई पाल्नु र दूध बेच्नु यी सबै रोजगारी हुन् । विदेशमा गए चाहिँ हामी जे पनि काम गर्न तयार हुन्छौँ । तर आफ्नो देशमा भने हामी केही पनि गर्न चाहँदैनौँ । विदेशमै गरेको काम यहाँ गर्न लाज हुने, अप्ठ्यारो मान्ने हाम्रो तरिका र हाम्रो सोचाइलाई अब बदलौं । आफ्नो देशको माटोमा हाम्रो आफ्नो पसिना बगाऊँ । त्यो पनि हाम्रो असली रोजगार र हाम्रो जित हुनेछ ।