तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको पनि नौ महिना भइसकेको छ । यद्यपि गतवर्ष जेठ ३ गते घोषणा भएको एकता प्रक्रियाले अझै मूर्तरूप लिएको छैन । केन्द्रीय कमिटी गठन प्रक्रिया टुङ्गिए पनि अन्य तहको पार्टी कमिटी र विभागहरूको एकता अघि बढेको छैन । तर लामो प्रतीक्षापछि बसेको स्थायी कमिटी बैठकले पनि एकता प्रक्रियाको बिट मार्न सकेन । नौ सदस्यीय कार्यदल गठन गर्दै बैठक अन्त्य गरियो । अहिले त्यही कार्यदलले बाँकी एकता प्रक्रियालाई टुङ्ग्याउने कसरत गरिरहेको छ ।
वस्तुतः एकता प्रक्रियामा भइरहेको ढिलाइले विभिन्न अन्यौलता र आशङ्का जन्माइरहेको छ । यो निश्चय नै नेपालको सबैभन्दा ठूला–ठूला कम्युनिष्ट पार्टीहरूबीचको एकता हो । यसकारण पनि एकताले राष्ट्रिय राजनीतिमा दूरगामी महŒव राख्दछ । तर हाल भइरहेको ढिलाइले कम्युनिष्ट आन्दोलनसम्बन्धी कार्यनीति र कार्ययोजनाहरू विन्यास गर्दै सङ्घर्षको प्रक्रिया अघि बढाउन सकिएको छैन । यसले नेपाली कम्युनिष्ट आन्दोलनले तय गर्नु पर्ने सही कार्यदिशा किटानमा अन्यौलता छ । सार्वभौमतः कम्युनिष्ट पार्टी भनेको निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामार्फत् समाज बदल्ने वर्गसचेत सङ्गठित अग्रदस्ता हो, जसले थुप्रै कार्यनीतिक घुम्तीहरू छिचोल्दै समाजवाद हुँदै साम्यवादी उच्चतम् र उन्नत समाज व्यवस्थामा पुग्नुपर्दछ ।
कम्युनिष्टहरूले कम्युनिष्ट पार्टी बारे आधारभूत ज्ञान राख्नै पर्दछ । वास्तवमा कम्युनिष्ट पदावली ल्याटिन भाषाको ‘कम्युनिस’ बाट व्युत्पत्ति भएको हो, जसको अर्थ साझा वा सबैको भन्ने हुन्छ । यही साझा प्रणालीको उच्चतम् र उन्नत अर्थराजनीतिक दर्शन नै कम्युनिजम हो । अर्थात् साम्यवादी सामाजिक–आर्थिक उद्देश्य प्राप्तिको लागि सङ्गठित राजनैतिक अग्रदस्ता नै कम्युनिष्ट पार्टी हो । यो त्यस्तो अर्थराजनीतिक पद्दति हो, जहाँ खानी, कारखाना, खेती जस्ता मुख्य उत्पादक शक्ति र साधनहरूमा सार्वजनिक वा राज्यको स्वामित्व रहन्छ । अर्थात्, साम्यवाद भनेको त्यस्तो दार्शनिक, सामजिक, राजनीतिक र आर्थिक विचार पद्दति हो, जसको अन्तिम लक्ष्य साम्यवादी समाज स्थापना गर्नु हुन्छ, जहाँ सामाजिक आर्थिक संरचना अन्तर्गत उत्पादनको साधनहरूमा सामूहिक स्वामित्व रहन्छ, सामाजिक वर्गहरू रहँदैन, साथै राज्य र मुद्रा पनि विलोप हुन्छ । यसमा सार्वजनिक सम्पत्ति, सार्वजनिक कर्तव्य, सार्वजनिक स्वामित्व र स्वार्थ हुन्छ । यसबापत उनीहरूलाई आवश्यकता अनुसारको वस्तु न्यायिकरूपमा राज्यले उपलब्ध गराउँदछ ।
त्यसैले समाज रूपान्तरणमा कम्युनिष्ट पार्टीको विशिष्ट ऐतिहासिक भूमिका रहन्छ । वास्तवमै यो कुनै औषत संसदीय लोकतान्त्रिक पार्टी जस्तो मात्र होइन । यो चुनाव जित्नु र सरकार गठन र विघटनमा मात्र सीमित हुँदैन । यद्यपि केही कार्यनीतिक चरण वा पाइलाहरू भने यो पनि अन्य लोकतान्त्रिक पार्टी जस्तै देखिन पुग्छ । तर रणनैतिक उद्देश्य प्राप्तिको लागि लामो, कठिन र जटिल सङ्घर्षको ऐतिहासिक प्रक्रियागत चुनौतीहरू नियाल्दा यो औषत लोकतान्त्रिक पार्टी जस्तो मात्र होइन । यसको सिद्धान्त, कार्यदिशा, कार्यनीति, रणनीति, साङ्गठानिक चरित्र, कार्यशैली र आचरण औषत संसदीय पार्टी जस्तै भयो भने स्पष्ट भए हुन्छ कि यसले कम्युनिष्ट आन्दोलनको बाँकी ऐतिहासिक प्रक्रिया अघि बढाउन सक्दैन । यसको हैसियत केवल लोकतान्त्रिक पार्टी बराबर मात्रै हुन्छ । चुनावमा विजय र पराजय अनि सरकार गठन र विघटनको औषत राजनैतिक कर्मकाण्ड वरिपरि घुमिरहन्छ । असली र नक्कली कम्युनिष्ट पार्टी छुट्याउने कसी यहीँनेर हो ।
मूलतः वर्तमान नेपाली समाज सामन्तवादी अर्थराजनीति भन्दा अलि भिन्न र पुँजीवादको पूर्ण आकारमा विकास भइनसकेको सङ्क्रमणकालीन स्थितिमा छ । पुँजीको विकास केही भए पनि त्यसको चरित्र दलाल र वित्तीय पुँजीमा आधारित देखिन्छ । कम्युनिष्ट आन्दोलनको लागि राष्ट्रिय उत्पादनमूलक औद्योगिक चरित्रको पुँजी विकास अनिवार्य हुन्छ । तबमात्र समाजवादी सङ्क्रमणको आधार बन्दछ । विपे्रषणमा आधारित जनताको क्रयशक्तिमा भएको वृद्धि र दलाल, वित्तीय र सेवा अर्थतन्त्रको बढोत्तरीले मात्र समाजवाद निर्माण हुँदैन । त्यसको लागि तेरोमेरो निकृष्ट मनोविज्ञानलाई क्रमिक रूपमा निश्तेज गर्दै सामूहिक र सामाजिक पद्दति स्थापित गर्नुपर्दछ । आत्मकेन्द्रित स्वार्थ र नाफा मनोवृत्ति जीवित रहेसम्म कमिसन, दलाली, भ्रष्टाचार र अपराधको अन्त्य हुँदैन । सामूहिक स्वार्थको ऐतिहासिक प्रक्रियागत लामो आन्दोलनले मात्र निजी स्वार्थ विस्थापन गर्दछ । निजी मनोवैज्ञानिक सँस्कृति नहटेसम्म समाजवाद आउँदैन । वर्तमान नेपाली राष्ट्रिय राजनीति समाजवाद सापेक्ष देखिन्न । यसलाई समाजवादमैत्री बनाउन सबै आर्थिक सामाजिक सत्ताहरू रूपान्तरणको प्रक्रियामा लानुपर्दछ । यसअर्थ यो पार्टी सामु अग्लो चुनौतीपूर्ण पहाडहरू सामुन्नेमा देखिन्छ । त्यसैले चाँडो एकीकरण प्रक्रिया टुङ्ग्याउँदै कम्युनिष्ट आन्दोलन सापेक्ष कार्यक्रमहरू घोषणा गर्नु जरुरी छ ।
वास्तवमा ठूला–ठूला कम्युनिष्ट पार्टीहरूबीचको एकता आफैमा सर्वाधिक महत्वपूर्ण सवाल हो । सामन्यतया एकता गर्नु सकारात्मक कुरा हो । यसले गणितीय हिसाबले पनि ठूलो पार्टी बन्न सहयोग गर्दछ । त्यसमा पनि यो कम्युनिष्ट पार्टीको एकता हो । यो कुनै औषत संसदीय पार्टीहरूबीचको औषत राजनीतिक उद्देश्यमा आधारित एकता होइन र हुनु पनि हुँदैन । यो त विश्वभरिनै कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको प्रतिकूल परिस्थितिमा कसरी अघि बढ्ने भन्ने गम्भीर आत्मसमीक्षा सहित वर्गसचेत ढङ्गले थालिएको ऐतिहासिक पहलकदमी हो । यो केवल ठूलो पार्टी बनाउने एकता प्रक्रिया मात्र होइन । त्यसो भए ठूलो दुर्भाग्य हुनेछ । फरक–फरक स्कुलिङबाट आएका पार्टीहरूबीचको एकतालाई परिणाममुखी बनाउनु त्यति सहज भने छैन । यसको लागि दुवै पक्षको सकारात्मक राजनैतिक सँस्कृतिलाई फ्युजन गर्र्दै अघि बढ्नुको विकल्प देखिन्न । यसो गरे मात्र एकता उपलव्धीपूर्ण हुनेछ ।
पहिलो, दुुवै पार्टीको राजनैतिक सँस्कृति फरक–फरक थियो । माओवादी जनयुद्ध वा वर्गसङ्घर्षको कार्यदिशाबाट आएको हो भने एमाले जनआन्दोलनको कार्यदिशावाट आएको हो । यदि पार्टी एकतालाई सार्थक बनाउने हो भने वा कम्युनिष्ट आन्दोलनको लागि गरिएको एकता हो भने जनयुद्ध र जनआन्दोलन जस्ता फरक कार्यदिशाहरूलाई वस्तुवादी ढङ्गले फ्युजन गर्नुपर्दछ । अर्थात् दुवै पार्टीको सबल र सकारात्मक पक्षहरूलाई संयोजन गरेर कार्यदिशालाई समृद्ध गर्नुपर्दछ, जसले २१ औं शदीको प्रतिकूल विश्व परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलन अघि बढाउन सकियोस् । यसको लागि माओवादीमा अन्तरनिहीत लाल वा सङ्घर्षशीलता र एमालेमा रहेको निपूर्णता वा सन्तुलित कला अन्तर्गतका सकारात्मक पक्षहरूलाई जोडेर समृृद्ध नयाँ कार्यदिशा विन्यास गर्नुपर्दछ । यसलाई विज्ञान र कलाको फ्युजन भनिन्छ । तब वस्तुवादी समृद्ध कार्यदिशा बन्नेछ, जसले भावी कम्युनिष्ट आन्दोलनको कष्टसाध्य यात्रा तय गर्ने हैसियत राख्दछ ।
दोस्रो, दुवै पार्टीको साङ्गठनिक पद्दति पनि फरक छ । माओवादीले सङ्गठनमा क्रान्तिकारिता, अनौपचारिकता र व्यवहारिकतालाई प्राथमिकता दिएको थियो । प्राविधिक विधिभन्दा राजनैतिक ढङ्गले साङ्गठनिक प्रक्रिया अघि बढाउने प्रचलन थियो । यसमा औपचारिकता, विधि र प्रक्रियाको अभ्यास असाध्यै न्यून रह्यो । तर एमालेको साङ्गठनिक अभ्यासमा अलि बढी औपचारिकता, विधि र प्रक्रिया जस्ता प्राविधिक सँस्कृति हाबी थियो । यद्यपि अति औपचारिकता एवम् विधि र अति अनौपचारिकता एवम् व्यवहारिकता दुवैले कम्युनिष्ट आन्दोलनलाई सहयोग गर्दैैन । नेकपासामु कम्युनिष्ट आन्दोलन अघि बढाउने सवालमा ऐतिहासिक जिम्मेवारी छ । यस्तो ऐतिहासिक जिम्मेवारी पूरा गर्न दायाँ–बायाँ कुनै पनि अतिमा फस्नुले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । यसकारण दुवै पार्टीले विगतमा प्रयोग गरेको साङ्गठनिक पद्दतिबाट केही मूलभूत सकारात्मक पक्षहरू ग्रहण गर्दै समायोजित र समृद्ध विधि विन्यास गर्नु पर्दछ । यसले मात्र भावी चुनौतीलाई हल गर्ने साङ्गठनिक हैसियत राख्दछ ।
तेस्रो, दुवै पार्टीको राजनैतिक प्रक्रियागत स्कुलिङ पनि फरक थियो । यसमा माओवादीले जनवादी र एमालेले लोकतान्त्रिक कार्यदिशा अपनाएको थियो । वास्तवमा जनवादी प्रक्रियामा समाजवादमा शान्तिपूर्ण सङ्क्रमण हुँदैन भने संसद्वादी वा लोकतान्त्रिक प्रक्रियामा शान्तिपूर्ण सङ्क्रमणको पक्षपोषण गरिन्छ । अर्कोतिर जनवादी आन्दोलन चुनावमा मात्र आधारित हुँदैन । यता लोकतान्त्रिक आन्दोलन चुनावमा आधारित हुन्छ । यसकारण माओवादीमा अन्तरनिहीत जनवादी राजनैतिक कार्यशैली र एमालेमा अन्तरनिहीत लोकतान्त्रिक पद्दतिलाई फ्युजन गरेर एक सबल र समृद्ध राजनैतिक पद्दति विन्यास गरेर मात्र अबको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । अन्यथा कम्युनिष्ट आन्दोलन असम्भव विषय बन्नेछ । जुन कुनै पनि नेकपाहरू केवल आवधिक चुनाव जित्ने रणनीति अन्तर्गतको औषत लोकतान्त्रिक पार्टी मात्र हुनेछ । समाजवाद र साम्यवाद दन्त्यकथा वा जप्ने गायत्रीमन्त्र जस्तो हुनेछ ।
यसकारण नेकपाको गठन गणितीय जोड–घटाउलाई नापेर भएको हुँदै होइन । यसको मुख्य सवाल कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने चिन्ता र चासोमै केन्द्रित रहेको छ । कम्युनिष्ट पार्टीको लागि गणित भनेको सहायक पक्ष हो । यदि यो एकता पनि गणितीय जोडकोण र चुनाव जित्ने प्राविधिक आयामहरूमा रुमल्लियो भने त्यो कम्युनिष्ट आन्दोलनमा लागेका इमान्दारहरूको लागि सर्वाधिक दुर्भाग्य र धोका हुनेछ । कम्युनिष्ट आन्दोलनको ऐतिहासिक प्रक्रिया पनि दशकौं पछाडि धकेलिनेछ । जनताको समाजवाद र साम्यवादको सपना चकनाचुर हुनेछ । कम्युनिष्ट पार्टीप्रति नकारात्मक मनोविज्ञान विकास हुनेछ । यसकारण नेकपा सामु चुनौती र सम्भावनाहरू धेरै छन् । यस्ता चुनौती र सम्भावनाहरूलाई पूरा गर्न चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुङ्ग्याउनु पर्दछ । एकता प्रक्रिया टुङ्गिएलगत्तै कम्युनिष्ट पार्टीको भावी कार्यदिशा र कार्यक्रमहरूको सवालमा देशव्यापी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ । समाजवादसम्बन्धी बहस र फोरमहरू चलाउनु पर्दछ ।
औषत संसद्वादी पार्टीहरूको समाजवाद र कम्युनिष्ट पार्टीको समाजवादबीच अन्तरनिहीत सैद्धान्तिक राजनैतिक भिन्नताहरू स्पष्टरूपमा तल–तल लैजानु पर्दछ । समाजवादसम्बन्धी जनतामा परिरहेको विभ्रम र अन्यौलताहरूलाई स्पष्ट पार्नु पर्दछ । वस्तुतः कम्युनिष्ट आन्दोलन भनेको वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने ऐतिहासिक प्रक्रिया हो । नेकपाको मूलभूत काम भनेको समाजवाद निर्माण नै हो । तर यसको लागि एकीकृत नेकपाले दुवै पार्टीको नेता तथा कार्यकर्ताहरूमा अन्तरनिहीत लाल र निपूर्णतालाई फ्युजन गरेर अघि बढ्नै पर्ने हुन्छ । कम्युनिष्ट आन्दोलनको बाँकी अभिभारा नेकपाले पूरा गरेन भने राजनैतिक पर्दामा अन्य शक्तिहरू उदाउनेछन् । यो ऐतिहासिक समाज गतिशीलताको नियम हो । त्यतिखेर नेकपालाई राँको बालेर खोज्नु पर्ने अवस्था आए अनौठो हुने छैन । यसमा नेकपासम्बद्ध सम्पूर्ण नेता, कार्यकर्ता र जनताहरू असाध्यै गम्भीर बन्न जरुरी छ ।