‘आजसम्मको मानव समाजको इतिहास नै वर्गसङ्घर्षको इतिहास हो ।’ कार्ल माक्र्सले सन् १८४८ मा जारी गरिएको कम्युनिष्ट घोषणा–पत्रमा यो भनाइलाई असाध्यै मर्मको साथ व्यक्त गर्नुभएको छ । यो युवा माक्र्सको लहड, सनक, झोंक अनि आवेशकै अभिव्यक्ति मात्र थिएन । यो उनले मानव समाजको वर्गअन्तरविरोधपूर्ण चरित्र र यसको ऐतिहासिक विकास प्रक्रिया अन्तर्गत गरिएको असाध्यै गहन खोज, अनुसन्धान र अध्ययनको निष्कर्ष थियो । माक्र्सभन्दा अघि नै पनि ठूला–ठूला क्रान्ति र विद्रोहहरू नभएका होइनन् । यसमा स्पार्टकसको विद्रोह, अमेरिकी स्वतन्त्र सङ्ग्राम अनि फ्रान्सेली राज्यक्रान्ति मुख्य रहेको देखिन्छ । माक्र्सले यस्तै आन्दोलनहरूलाई वर्गसङ्घर्ष भनेर सैद्धान्तीकृत र दार्शनिकीकृत गर्नुभयो । त्यसपछि वर्गसङ्घर्ष पदावली स्थापित भयो ।
वस्तुतः विश्व मानव समाजको यही सार्वभौम गतिशील र परिवर्तनशील चरित्रकै कारण इतिहासको विभिन्न कालखण्डहरूमा अघि–पछि कतै न कतै ठूला–ठूला विद्रोह, सङ्घर्ष र आन्दोलनहरू हुँदै आएका छन् । यही सिलसिला अन्तर्गत नेपालमा पनि वि.सं. २०५२ सालमा जनयुद्धको सङ्खघोष गरियो । वास्तवमा यो कुनै लहड, सनक, झोंक र रिसको अभिव्यक्ति मात्र थिएन । अर्थात् दलगत र व्यक्तिगतरूपमा कसै र कोहीप्रति मात्र लक्षित थिएन । यो मान्छे मार्न रहर लागेर गरिएको रोमाञ्चित र भावोत्तेजनापूर्ण दिनचर्या पनि होइन । किनकी स्वयम् जनयुद्धमा लामबद्ध युवायुवतीहरू सबै तपाईहरूकै जस्तो कमलो मन, मुटु, भावना, संवेदना र करुणा भएकैहरू थिए । चट्टानकै मन र मुटु कसैको थिएन । तर यो भावनाको सवाल थिएन । समग्रमा तत्कालीन अन्याय र विभेदपूर्ण राज्यसत्ता विरुद्धको वर्गसचेत, सङ्गठित र योजनाबद्ध राजनैतिक आन्दोलन भने अवश्य नै थियो ।
युद्ध आफैमा निर्मम ऐतिहासिक राजनैतिक प्रक्रिया हो । माओले युद्धलाई रक्तपातयुक्त राजनीति र राजनीतिलाई रक्तपातहीन युद्ध भनेर परिभाषित गर्नुभयो । यो साँचो कुरा हो । खास गरेर युद्ध कसैको रहर, भावावेश र उत्तेजनामा अभिव्यक्त हुने कुरा होइन । किनकी सामान्यतया चिसो बन्दुक बोकेर युद्धमोर्चामा सहभागी हुने रहर कसैलाई पनि हुँदैन । मान्छेको चाहना, आकांक्षा र रहर भनेको डिनरपार्टी तथा जग्गे–रत्तेउलीमा रमाउने अनि भोजभतेर र वनभोजमा नाचगान गरेर रोमाञ्चित हुने नै हुन्छ । अझ उपभोगवादी समाजमा त झन् यस्तै रसरङ्ग र भोग–विलाशिता सँस्कृति नै बनेको हुन्छ । युद्ध कसैको व्यक्तिगत इच्छा र चाहनाको विषय होइन, साथै यो निकृष्ट स्वार्थमा कसैप्रति लक्षित हुँदैमा अघि बढ्ने विषय होइन । यस्तो युद्धको राजनैतिक लक्ष्य, योजना र सङ्गठित शक्ति अनिवार्य हुन्छ । अन्यथा त्यो आतङ्क सृजना गर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने बहाना मात्र बन्दछ, जुन सरासर गलत हुन्छ ।
वास्तवमा नेपाली राष्ट्रिय राजनीतिमा दश वर्षे जनयुद्ध एउटा यस्तो ऐतिहासिक प्रक्रिया थियो, जसले थुप्रै परातनवादी सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली र कार्यशैलीहरूमा आमूल रूपान्तरण गरेरै छाड्यो । जनयुद्ध मूलतः प्रतिक्रियावादी शासकहरूको हेपाइ र ठगाइ नसहने वर्गसचेत नागरिकहरूको सङ्गठित आन्दोलन थियो । यो हेपिनुभन्दा लड्नु अनि मर्नु जाती भन्ने स्वाभिमानमा आधारित थियो । युद्ध कठिन, निर्मम र जटिल प्रक्रिया हो, जुन धेरैलाई अवश्य नै थाहा छ । तर नेपाली समाजमा व्याप्त वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडन काहालीलाग्दो थियो । शोषण, अन्याय, विभेद र हेलाहोचो पराकाष्ठामा थियो । धनी र गरिबबीचको पहाड सम्याइनसक्नु थियो । सचेत र अचेतबीचको व्यवहार फरक थियो । स्रोतसाधन हुने र नहुनेहरूबीचको खाडल धेरै थियो । सारतः जनयुद्ध यही बेमेल र हेलाहोचोहरू विरुद्धकै सङ्गठित तथा बाध्यात्मक राजनीतिक आन्दोलन थियो । यसैको जगमा आज न्यूनतम् रूपमा सम्पूर्ण सर्वसाधारण नागरिहरू सचेत भएका छन् । यो सर्वाधिक गौरव र खुशीको विषय हो ।
अर्कोतिर, आज हाम्रो राष्ट्रिय राजनीति यही जनयुद्धकै बलमा स्थापित एजेण्डाहरूद्वारा निर्देशित रहेको छ । यो वस्तुगत सच्चाइ हो । यति लेख्न र भन्न पाउँदा पनि गर्व लाग्छ । कुनै आग्रह, पूर्वाग्रह, स्वार्थ र नियत नराखी भन्ने हो भने सिङ्गो नेपाली राजनीति नै जनयुद्धको विरासत वरिपरि घुमिरहेको छ । आज हाम्रो संविधानले व्यवस्था गरेको गणतन्त्र, सङ्घीयता, समावेशी, धर्मनिरपेक्षता र समानुपातिक सिद्धान्तहरू जनयुद्धकै राप र चापमा जबरजस्त स्थापित भएका मुद्दाहरू हुन् । महिला, दलित, अल्पसंख्यक, सिमान्तीकृत र लोपोन्मुख उत्पीडित समुदायहरूलाई अरु सरह गणना गर्ने राजनैतिक वातावरण तयार हुनु पनि जनयुद्धकै उपज हो । यसलाई कसैले मानुन् या नमानुन् । तर वस्तुगत सच्चाइ, सत्य र तथ्य यही हो । यति कुरा हामी जुनसुकै फोरमहरूमा पनि निर्धक्क भन्न सक्छौं । किनकी, यो नेपालको राजनैतिक यथार्थता र वस्तुगत सत्य हो ।
अर्थात् नेपाली राजनीतिमा जनयुद्धको सकारात्मक प्रभाव र विरासत धेरै रहेको छ । यद्यपि यसको नकारात्मक पक्ष पनि नभएको होइन । त्यसमध्ये यो जुन रणनैतिक लक्ष्य उद्देश्यको साथ प्रारम्भ गरिएको थियो त्यो पूरा गर्न सकेन । अर्को भाषामा भन्दा जनयुद्धद्वारा स्थापित मुद्दाहरू सतहमा त बग्रेल्ती पा¥यौं तर त्यसको राजकीयरूपमा संस्थागत व्यवस्थापन गर्न सकेनौं । यो ठूलो विडम्बना र दुर्भाग्यको सवाल हो । यद्यपि यस्तो किन भयो ? त्यो हामीलाई थाहा छ । त्यो भनेको वर्गीय राज्यसत्ताको प्रश्न हो । माओले ख्याल–ख्यालमा ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हुन्’ भनेका थिएनन् । यही वर्गीय राज्यत्ता वा सत्य वस्तु साथमा नहुँदा हाम्रो एजेण्डाहरू लथालिङ्ग र भद्रगोल हुन पुगे । विवेकपूर्ण भन्दा अराजक बने । चोर साधु र साधु चोरजस्तो बन्न पुग्यो । खेती गर्ने किसान भात खाने सामन्त जस्तो भयो । लगानी गर्ने एउटा नाफा खाने अर्को झैं हुनपुग्यो । खैर, त्यो त केही थिएन । तमाम एजेण्डाहरू भ्रष्टीकरण र अपव्याख्या गरिँदैछ, त्यो झन् खतरा कुरा हो ।
वस्तुतः राजनैतिक विचार र सिद्धान्तहरू मान्ने र नमान्ने दुईटा सार्वभौम विधिहरू हुन्छन् । एउटा आधारभूत रूपमै स्वीकार गर्ने वा दिलैदेखिको मान्ने र आफ्नो आदर्श ठान्ने विधि हुन्छ । अर्को भित्रैदेखि नभएर तत्कालीन वस्तुगत अवस्थाको उपज बाध्यतावश मान्नु पर्ने वस्तुगत अवस्था हुन्छ । झट्ट र सतहबाट हेर्दा दुवै विधि एउटै जस्तो लाग्न सक्छ । तर गहिराइमा जाँदा यसमा सारभूतरूपमै भिन्नता हुन्छ । अर्थात् सैद्धान्तिक आदर्श मानेर जीवनलाई समर्पित गर्नु र चुनावी माहौलमा सहयोगी हुने देखेर चङ्खो शैलीमा आवरणीय रूपरङ्ग फेर्नु धेरै फरक कुरा हो । तर धेरै चङ्खो भएर सोझासाझा जनताको भावनामा खेल्नु भनेको आफैमा एक खालको राजनैतिक अपराध हो ।
यता जनयुद्धलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक रहेको छ । पहिलो यो मानव समाज विकासको ऐतिहासिक प्रक्रिया अन्तर्गतकै आन्दोलन भनेर स्वीकर गर्नेहरू छन् । उनीहरू यसलाई इतिहासको नियम भनेर परिभाषित गरिरहेका छन् । दोस्रो, यो गर्नु हुन्थेन तर भइहाल्यो भन्दै विकसित राजनैतिक धरातलमा तर मार्न पल्किनेहरू छन् । उनीहरू फेरि यस्तो काम गर्नु हुँदैन भनेर फरक भाष्य प्रयोग गरिरहेका छन् । तेस्रो, यो पूर्णरूपमा गलत थियो, छ र हुनेछ । यो भुलेर पनि पुन दोहोर्याउनु हुँदैन । यो नितान्त काटमार नै थियो । यस्तो ऐतिहासिक गल्ती फेरि गर्नु हुँदैन भन्नेछ । यसमा पहिलो मत समाज गतिशीलता र परिवर्तनशीलताको मर्मबाट आएको सत्य कुरा हो । दोस्रो अवसरवादी र बाध्यात्मक स्थितिको बोली हो । तेस्रो जनयुद्धमा अभिव्यक्त वर्गपक्षधरता विपरीत फरक वर्गदृष्टिकोणजन्य अन्तरविरोधपूर्ण अभिव्यक्ति हो । तर कुरा विडम्बनापूर्ण यसकारण पनि छ कि जनयुद्धको भरमार विरोध गर्नेहरू नै जनयुद्धद्वारा प्राप्त भौतिक राजनीतिक परिवेशमा रमाइरहेको देखिन्छ ।
यतिखेर नेपालमा जनयुद्धद्वारा निर्देशित राजनैतिक एजेण्डाहरू कार्यान्वयनको सिलसिलामा रहेको छ । अझ संविधानमै यसको कतिपय मर्म र भावना समेटिएको छ । समग्र राजनीतिक मुद्दाहरू नै जनयुद्धको आधारभूत उद्देश्य अनुरूप देखिन्छ । अझ ठोस गरेर भन्दा जनयुद्धकै लगानीबाट आज सापेक्षितरूपमा खुल्ला र मुक्त भौतिक राजनीतिक परिवेश निर्माण भएको छ, जहाँ थुप्रै नेता कार्यकर्ताहरू रमाइरहेका छन् । राजनीतिक आयामबाट हेर्दा मुलुकमा कायापलट भएको छ । जनतामा चेतनाको स्तर ह्वात्तै बढेको छ । आफूमाथि अन्याय गर्ने विरुद्ध जति नै पहुँच, पावर, पैसा र बाठो भए पनि औंंला ठड्याएर बहस गर्ने भएका छन् । राजनीतिकरूपमा यो सुखद् र गर्व गर्नलायक सूचक हो । यस्तो वस्तुगत राजनीतिक धरातलमा अझै पनि जनयुद्ध र जनयुद्ध दिवस बारे भ्रम र अन्यौलता कायम रहनु विडम्बना बाहेक अरु केही होइन ।
तसर्थ, नेपाली राजनीतिमा जनयुद्धको बहुआयामिक एवम् दूरगामी महत्व रहेको छ । मूलतः यसको राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक आयाम र विरासतको महŒव भावी दिनहरूमा झन् बढ्दै जानेछ । त्यसैले जनयुद्ध दिवस मनाउने सन्दर्भमा सङ्कुचित भएर होइन, चौडा छाती पार्नुहोस् । इतिहासतर्फ फर्किनु होस् । धन्य भनेर गर्व गर्नुहोस् । लड्न साहस गर्नेहरूलाई सलाम गर्नुहोस् । शहीदहरूको सामुन्ने शिर झुकाउनुहोस् । वर्तमान भौतिक राजनीतिक परिवेश सम्झेर गौरवान्वित हुनुहोस् । यसको इतिहासले मूल्याङ्कन गर्नेछ । वास्तवमा यो ऐतिहासिक प्रक्रियागत आन्दोलन थियो । यसको रणनैतिक उद्देश्य भनेको समानता र न्यायमा आधारित उन्नत समाजव्यवस्था स्थापना गर्नु नै हो । त्यो महान् लक्ष्य प्राप्त गर्नु त अझै धेरै बाँकी छ । यसको लागि लामो सङ्घर्षको ऐतिहासिक प्रक्रिया गुजार्नै पर्दछ । तर जनयुद्धको यस्तो औपचारिक र प्राविधिक कार्यक्रमहरू आयोजना गरेकै भरमा ऐतिहासिक प्रक्रिया पूरा हुँदैन । यसमा कोही भ्रममा हुनुहुन्छ भने बेलैमा मुक्त हुनुहोला ।