शाष्त्रीय अर्थशाष्त्रीहरुले अर्थशाष्त्रलाई धनको विज्ञान भनेर परिभाषित गरे । एडम स्मिथले यस सन्दर्भमा राज्यको धन भन्ने सनसनीपूर्ण पुस्तकनै लेखे । सामन्यतय अर्थशाष्त्र भनेको त्यो सामाजिक विज्ञान हो, जसले माल र सेवाको उत्पादन, वितरण र उपभोग गर्दछ ।
वस्तुतः आधुनिक शाष्त्रीय राजनैतिक अर्थशाष्त्रको उदय अठारौं शदीको अन्त्य र उन्नीसौं शदीको प्रारम्भबाट भएको देखिन्छ । स्मिथ, रिकार्डो, माल्थस र जेएसमीलहरु शाष्त्रीय अर्थशाष्त्रीहरु हुन् । उनीहरुले कुनै पनि खास समुदाय वा मुलुक भित्र धन आर्जन गरिने श्रृङ्खलाहरुको समुच्चय रुपनै अर्थशाष्त्र हो भनेर परिभाषा लगाए ।
अर्थात, धन आर्जन, उत्पादन, व्यापार र नाफाको कक्ष भित्र अर्थशाष्त्रलाई कैद गरे ।
तर यो अर्थशाष्त्रको सामन्य र प्राविधिक परिभाषा थियो । उनीहरु अर्थतन्त्रको चरित्र, त्यसले पैदा गर्ने अन्तरविरोध र त्यसको समाजमा पर्ने प्रभावहरुको सवालमा मौन बसे । पछि उन्नीसौं शदीको मध्यवाट कार्ल माक्र्सले अर्थराजनीतिक सम्बन्धबारे स्पष्ट व्याख्या गर्नुभयो ।
उनले वर्गसमाजमा अर्थतन्त्र वर्गीय हुने सार्वभौम सच्चाई पेश गरे । त्यतिमात्र होइन अर्थतन्त्रलाई चलायमान राख्ने चालकशक्ति मजदुरवर्ग रहेको तथ्य पत्तो लगाउनु भयो । यो वर्गीय सामाजिक उत्पादन पद्यतिद्वारा ओतप्रोत हुने प्रष्ट गर्नुभयो ।
यही अर्थराजनीतिक सम्वन्धकै कारण समाजमा शोषण-विभेद र हेलाहोचो कायम रहने सच्चाई अन्वेशष गर्नुभयो । वहाँले माल उत्पादनको सिलसिलामा मजदुरहरुलाई असाध्यै न्युन ज्याला दिएर पुँजीपतिहरुले अध्याधिक नाफा कमाउने र मजदूरलाई शोषण गर्ने उत्पादन पद्यति पत्तो लगाउनु भयो । यसलाई अतिरीक्त मुल्यको सिद्धान्त भनेर स्थापित गर्नुभयो ।
वस्तुतः शाष्त्रीय अर्थतन्त्रको परिभाषालाई पच्छ्याउने हो भने यसले केवल धन कमाउने वा पुँजी विकासको मात्र वकालत गर्दछ । धेरै आर्जन गर्ने र नाफा कमाउने रणनीतिद्वारा निर्देशित देखिन्छ । उत्पादन बढाउने कुरा गर्दछ । तर यसमा सबै वर्ग, जाती, क्षेत्र र लिङ्गको न्यायपूर्ण वितरणमा ध्यान दिइदैन ।
यो निजी वा तेरोमेरो स्वामित्वमा आधारित हुन्छ । राजनैतिक भाषामा यसलाई पुँजीवादी वा वुर्जुवा अर्थतन्त्र भनिन्छ । यता माक्र्सले पेश गर्नु भएको अर्थराजनीतिमा उत्पादन र वितरण आधारभूतरुपमै समान र न्यायोेचित हुनुपर्नेमा जोड गरिएकोछ ।
यसमा सामाजिक, सामुहिक र राजकीय स्वामित्व सुनिश्चीत गरिन्छ । यसलाई समाजवादी अर्थतन्त्र भनिन्छ । यि दुवै अर्थतन्त्रको वर्गीय चरित्र फरक रहेकोछ । चरित्र फरक भएपछि गन्तव्य फरक हुन्छ । गन्तव्य फरक भएपछि यसलाई प्राप्त गर्ने प्रक्रिया र विधि पनि फरक हुनेगर्दछ । तव परिणाम वा उद्देश्य प्राप्ती पनि फरक हुन्छ भनेर वुझ्नु अनिवार्य हुन्छ ।
पछिल्लो समय नेपालमा चौतर्फी अमूक समाजवादको बहस भइरहेकोछ । यो साझा मुद्धा जस्तो भएकोछ, जुन वर्गसमाजमा संभव हुँदैन । सबै अग्रगामी, यथास्थितिवादी र पश्चगामी शक्तिहरु एउटै स्वरमा समाजवादी भाषण र बक्तव्यबाजी गरिरहेका छन् ।
तर उनीहरुले समाजवादमा सङ्क्रर्मण गर्ने ठोस अर्थराजनीतिक पद्यति किटान गरेको देखिदैन । यसले समाजवादी नारा प्रतिनै आशङ्का जन्माएकोछ । वस्तुतः समाजवादलाई सहयोगी अर्थतन्त्र र औसत पुँजीवादको सेवा गर्ने अर्थतन्त्र बीच वर्गचरित्रमा धेरै भिन्नता हुन्छ ।
यसमा औसत लोकतन्त्रवादीहरु भन्दा कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्दछ । समाजवाद कठिन र लामो ऐतिहासिक प्रक्रियागत रुपान्तरणको आन्दोलनवाट मात्र संभव हुन्छ । त्यसैले मुलतः अर्थराजनीतिक सम्वन्धको स्वरुप, चरित्र र उद्देश्यनै फरक हुन्छ । यिनीहरु विच तुलनानै गर्न मिल्दैन ।
मुलतः समाजवादी अर्थतन्त्रको आधार भनेको राष्टिूय औद्योगिक पुँजीको पुर्ण आकारमा विकासनै हो । यसमा उत्पादनमुखी अर्थतन्त्र प्रधान हुन्छ, जुन समाजवादी अर्थराजनीतिको मुलभुत सवाल हो ।
आजकल अमूक विकास र समृद्धीको नारा सवैले घोक्नु पर्ने साझा गायत्रीमन्त्र जस्तो भएकोछ । तर कस्तो चरित्रको विकासलाई पहिलो प्राथमिकता दिने भन्नेमा अन्यौल रहेकोछ । किनकी विकास पनि उत्पादनमुखी, उपभोगमुखी र सेवामुखी हुन्छ । वस्तुतः अर्थराजनीतिक चरित्रद्वारानै विकासको मोडेल निर्धारण हुनेगर्दछ ।
समाजवादी अर्थराजनीतिले उत्पादनमुखी विकासको माग गर्दछ । यता पुँजीवादी अर्थराजनीतिले उपभोग, नाफा र सेवामुखी विकासलाई प्रश्रय दिन्छ । अर्कोतिर विकसित मुलुक र हाम्रो मुलुकको अर्थतन्त्र र विकासे मोडेल धेरै फरक देखिन्छ ।
फरक यसकारण छ कि उनीहरुले उत्पादनमुलक औद्योगिक क्रान्ति गरेको डेढ दुइ सय वर्ष भइसकेकोछ । उनीहरु भौतिक संरचना विकासवाट सेवा अर्थतन्त्र विस्तारको पनि उच्चतम चरणमा देखिन्छ । हाम्रो समाजमा अझैपनि औद्योगिक क्रान्ति भइसकेकोछैन साथै भौतिक संरचना विकास पर्याप्त भएकोछैन ।
यसको अर्थ हामी अझै आधारभूत उत्पादनमुलक अर्थतन्त्र विकासको चरणमा छौं । यसकारण पनि उनीहरुको जस्ताकोतस्तै नक्कल गर्नु उचीत हुँदैन । तर अर्थतन्त्रको भूमण्डलिकृत चरित्रले गर्दा आज सेवामुलक विकासे मनोरोगबाट हामी पनि ग्रसितछौं । पहिलो त आजको विश्व अर्थतन्त्र उपभोगवादमा आधारित रहेकोछ । यसको चरित्र पुँजीवादी रहेकोछ ।
दोस्रो ति पुँजीवादी मुलुकहरु उत्पादनमुखी अर्थतन्त्रबाट वित्तीय सेवामुखी अर्थतन्त्रमा फड्को मारिसकेकाछन् । उत्पादनमुखी विकासकै उच्चतम रुप नै सेवामुखी अर्थतन्त्र हो । नेपाल एक चरण पछाडि देखिन्छ ।
तर नेपालमा यतिखेर उत्पादनमुखी विकास भन्दा पनि भौतिक संरचना, सेवामुलक, उपभोगमुलक विकास तर्फको एकोहोरो आकर्षण बढेकोछ । यस्तो हुनुमा एकातिर भूमण्डलीकृत आर्थिक नीति र अर्कोतिर उपभोगवादी अर्थराजनीतिक सम्बन्ध जिम्मेबार देखिन्छ ।
त्यसो त आज विकसित मुलुकहरुमा उत्पादनमुलक भन्दा सेवामुलक अर्थतन्त्रले ठूलो हिस्सा ओगटेको पाइन्छ । उदाहरणको लागि सेवामुलक अर्थतन्त्रले हङकङमा झण्डै ९० प्रतिशत भन्दा बढी योगदान दिएको आँकडा सार्वजनिक गरिएकोछ । तर हङकङलाई माथि हेरेर दौडीन खोज्दा खाल्डामा परिने खतराछ ।
वास्तवमा हाम्रो आर्थिक परिवेश नियाल्दा उत्पादनमुखी विकास नीतिनै प्रधान हुन्छ । सेवामुखी विकास सहायकनै हुन्छ । त्यसैले उत्पादनमुखी विकास अवधारणा अन्तरगत सर्वप्रथमः कृषी क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यवसायिकीकरण गरि उत्पादन बढाउनु पहिलो दायित्व हुन्छ ।
दोस्रो, औद्योगिक पुँजी विकासमा जोड दिनुपर्दछ । यसको लागि राष्टिूय पुँजीपती वर्गको व्यापक सहभागिता र लगानीमा साना एवं मझौला उद्योग, कलकारखाना र व्यवसायहरु व्यापकरुपमा खोल्नुपर्दछ ।
अर्थात मनुफयाक्चरीङ्ग अर्थतन्त्रलाई बढुवा दिनुपर्दछ । ठूलाठूला परियोजनाहरुको हकमा पनि जनताकै लगानीमैत्री वातावरण बनाउँनुपर्दछ । विदेशी लगानी ल्याउनै परेपनि त्यसमा राष्टिूय स्वाभिमानमा कुनैपनि खालको आँच नआउने अवस्थामा मात्र अनुमति दिनुपर्दछ ।
किनकी लगानीको नाममा दलाल पुँजी भित्रीयो भने ठूलो हिस्सा पुँजी पलायन हुन्छ । यसरी पुँजी बाहीर पलायन हेने आर्थिक गतिविधिले समाजवादको आधार तयार हुँदैन । तेस्रो, यसरी कृषि र औद्योगिक क्षेत्र प्रवद्र्धनको लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्दछ ।
यसले आयत-निर्यात र उत्पादित माललाई बजारसम्म पुर्याउन सहज पार्दछ । अर्थात विकासको आधारभुत भौतिक पक्षहरुमा ध्यान दिनुपर्दछ । तर नेपालमा पछिल्लो समय एकाएक लम्पट उपभोगवादी र सेवामुलक विकासे मानसिकता हाबी भइरहेकोछ ।
यहाँसम्म कि उत्पादनमुखी विकासलाई ऐच्छिक राख्दै केवल सेवा र उपभोग वरीपरी मात्र विकासलाई सिमित गरिरहेकाछौं । त्यसको मतलव उत्पादनमुलक विकास पटक्कै भएको छैन भन्न खोजेको होइन । तर जती ध्यान दिनपर्दथ्यो त्यो भइराखेको छैन ।
उदाहरण्को लागि आज प्रत्येक नागरिकहरु कृषी र उद्योगको कुरा गर्नु भन्दा अग्लो डाँडा, त्यसमाथि पनि भिउटावर, ठूलो चौरी, भिरालो भिर, पहरा, तालतलैया, झरना, रानीवान, नदीनाला, अनौठो आयतनको वस्तु, डाँडाकाँडा, हिमाल, पहाड, गुफा र ओढारहरु देख्न बित्तिकै रोमाञ्चीत हुन्छन् ।
त्यति मात्र होइन, उनीहरु यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्दै मनगढन्ते सपनाहरु देख्न थाल्छन् । आन्तरिक तथा बाहय पर्यटन विकास व्यापक हुन्छ भन्दै नेपाल र नेपालीको सबै समस्याहरु समाधन हुने वनीवनाउ कल्पना गर्दछ ।
यही सेवामुखी विकास मनोविज्ञान अन्तरगतनै उनीहरु अग्लो भिउटावर, प्राकृतिक रमीतेडाँडाहरु अनि बाङ्गाेटिङ्गाे बटारीएको नदीनाला र खोला खोल्सीहरुमा पुग्नु बित्तीकै पर्यटनको संभावनाको कुराहरु गर्नेगर्दछ ।
यही उपभोगवादी मनोविज्ञान अन्तरगतनै उनीहरुलाई घर छेउमै सवैभन्दा अग्लो भिउटावर, ठूलो भवन र फराकिलो सडक जरुरी हुन्छ । भिन्न भिन्न मोडेलको महङ्गो बाइक र गाडीहरु कुदाउनकै लागि मात्रै पनि तुरुन्तै बाटो पिच हुनुपर्ने उपभोगवादी मनोविज्ञानले घर गरेकोछ ।
आफ्नै स्वार्थ, अनुकुलता र सजीलोको लागि मात्र विकासलाई नाप्ने तौलने गलत प्रवृत्ती हाबी छ । वस्तुत, सडक निर्माण पछि त्यहाँ सिंगो मुलुकले उत्पादन गरेको के कस्तो सामनहरु कत्रो भोल्युममा ढुवानी गर्नुपर्ने हुन्छ । त्यस आधारमा सडकको चौडाई र गुणस्तर निर्धारण गर्नेतर्फ हाम्रो ध्यान जाँदैन ।
अर्थात सिंगो अर्थतन्त्रको आयतन, भार, चाप र आयत-निर्यातको मात्राको आधारमा हाम्रो माग र योजनाहरु निर्धारण गरिएको हुँदैन । राष्टिूय आर्थिक प्रणालीलाई सबल र स्वस्थ्य जीवन दिने भन्दा पनि आत्मकेन्द्रीत लम्पट उपभोगवादी र सुविधामुखी चिन्तन् वरिपरीवाट विकासलाई मापन गर्ने असाध्यै गलत प्रवृत्ती डरलाग्दो देखिन्छ ।
विश्वमा औद्योगिक भन्दा वित्तीय पुँजी हाबी भइरहेकोछ, जुन समाजवादी राज्यरुपको लागि प्रतिकुल हुन्छ ।
त्यसैले वस्तुतः उत्पादनमुलक विकास अवधारणा विना अर्थतन्त्र विस्तार हुँदैन । विस्तारित आर्थिक विकास विना सुदृढ अर्थतन्त्र वन्दैन । उत्पादनमुलक सुदृढ अर्थतन्त्रको आधार विना सेवामुलक अर्थतन्त्रमा गुणस्तर वृद्धी हुँदैन ।
उत्पादनमुखी अर्थतन्त्रको पूर्ण विकास पछि सुदृढ गरिएको सेवा अर्थतन्त्रले मात्रै मुलुकको सर्वाङ्गीण विकास संभव हुन्छ । उदाहरणको लागि पर्यटन क्षेत्र भनेको सेवामुलक क्षेत्र हो । उत्पादन विनाको पर्यटन क्षेत्रको विकासले रोजगारी बढाएपनि समृद्धीको आधारशीला बनाउँदैन ।
अर्थात विना उत्पादन नागरिकहरुमा पर्यटक बन्ने आर्थिक हैसियतनै हुँदैन । यसो भएपछि भरपर्दो पर्यटन विकास कसरी संभव हुन्छ साथै पर्यटन पूर्वाधार विकासको कति औचित्य रहन्छ ? उत्पादन विनाको सेवा अर्थतन्त्र दिगो, भरपर्दो र गुणस्तरयुक्त हुँदैन ।
यदि सेवामुलक विकासमा मात्र ध्यान दिने हो भने त्यो उपभोगवादी विदेशी नक्कल मात्र हुनेछ, जहाँ डेढ सय वर्ष अगाडिनै उत्पादनमुलक आर्थिक विकासको अभ्यास भइसकेकोछ । त्यसैले नक्कल भन्दा हाम्रो आर्थिक अवस्था सुहाउदो विकास अवधारणालाई प्राथमिकता दिनु बस्तुवादी हुन्छ ।
यता समाजवादी अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक वा उत्पादनमुलक पुँजी विकास सार्वभौम शर्त हुन्छ । आर्थिक उत्पादनमा तल्लो र राष्टिूय पुँजीपति वर्गलाई प्रोत्साहन गरिन्छ । पुँजी पलायनलाई पूर्णरुपमा बन्देज गरिन्छ । प्रक्रियाकै रुपमा राजकीय उपस्थिति र दायित्व बढाउदै लगिन्छ ।
वस्तुतः भरमार आर्थिक विकास जस्तो देखिए पनि आम्दानी पलायन भयो भने त्यसले समाजवादको त कुरै नगरौं दिगो आर्थिक विकासलाई पनि टेवा दिदैन । अर्थात विकासको नाममा जथाभावी वैदेशिक लगानी भित्र्याउने कुरा खतरा हुन्छ । यसकारण उत्पादनमुलक अर्थतन्त्र विकासमा जोड गर्दै सेवामुलक अर्थतन्त्रमा ध्यान दिनुपर्दछ ।
दलाल पुँजी अर्थतन्त्रलाई निरुत्साहित गर्न पुँजीको निगमीय चरित्रलाई खारेज गर्दै उत्पादनमुलक राष्टिूय औद्योगिक पुँजी विकासमा जोड दिनुपर्दछ । किनकी उत्पादनमुलक अर्थतन्त्र अन्तरगतको न्यायपूर्ण वितरण पद्यतिको लामो श्रृङ्खलावद्ध ऐतिहासिक प्रक्रियाबाट मात्र समाजवादी अर्थराजनीतिक पद्यति स्थापित गर्न सकिन्छ ।