कुनै एक डाक्टरको भनाइ थियो- जीवन भ्रम हो । मृत्यु शाश्वत सत्य हो । यसलाई सहर्ष स्वीकार्नुको कुनै विकल्प पनि छैन । यो प्रसङ्ग जोड्दै छु, मलाई जन्म दिनहुने मेरी ममतामयी आमा नरमाया जवेगूको मृत्युसँग ।
उनले गएको कात्तिक २१ गते राति ११ः३० बजे आफ्नो जन्म थलो याङ्नाममा प्राण त्याग्नु भयो । नेपालीहरूको महान् चाड शुभ दीपावलीको मध्य समय थियो। उहाँ सात महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
पीडाको समयमा बारम्बार भन्ने गर्नुहुन्थ्यो- मेरो मृत्युको खबरले सकेसम्म कसैलाई पनि बाधा नपुगोस् । मेरो काम पनि लिम्बूको रीतिअनुसार तीनै दिनमा सिध्याउनू ।
उहाँको त्यही चाहनालाई आत्मसात् गर्दै अरू कसैको पनि महान् चाड खल्लो नहोस् भन्ने पारिवारिक सल्लाहअनुसार म र मेरी कान्छी बहिनी युनिष्मा जवेगू आमाको अन्तिम सत्गतको लागि मध्यरात १ बजे सुटुक्क जन्मथलो याङ्नाम-५, पाँचथरतर्फ लाग्यौँ ।
धरानका बाँकी नातागोतासँग सद्भाव साटासाट गर्ने जिम्मेवारी मेरी अर्धाङ्गिनी पूजा ताम्राकार र सुपुत्र स्वाभिमान जवेगूले लिने सल्लाह भयो ।
शायद यस प्रकारको मेरो पहिलो भोगाइ भएर पनि होला । अझ स्वभावैले पनि म चाँडै भावुक हुने वर्गमा पर्दछु । धरानबाट पाँचथरतर्पm अगि बढ्दै जाँदा मलाई अति पीडा हुन थाल्यो । आँखाबाट बलिन्द्र धारा आँशु रोकिएन ।
आफुलाई परेपछि मात्र थाहा हुन्छ भन्ने भनाइ ममा पनि लागू भयो । जतिसुकै परिपक्व भए पनि यस्तो पीडाले गलाउँदो रहेछ । यो पनि सत्य हो । मृत्युलाई कुनै पनि शक्तिले जित्न सक्दैन । बाँकी दिन कुनै कोणबाट पनि चित्त बुझाउने ठाउँ रहेन ।
यस्तो पीडादायी अवस्थामा आफन्तजन, साथीभाइ र इष्टमित्रको स-सानो सान्त्वनाले पनि धेरै ढाडस मिल्दो रहेछ । सुखमा होइन, दुःखमा मात्र असल मित्रहरूको पहिचान हुन्छ भन्ने भनाइको यथार्थ पनि बारम्बार बोध भयो- विशेष गरेर धरानको घरमा ।
यही घरमा विगत सात महिनासम्म अति नै पीडादायी मृत्युरुपी क्यान्सरसँग मेरी आमा लड्नुभएको थियो ।
प्राण त्याग्ने समयमा मात्र उहाँलाई जन्मथलोमा लगिएको थियो । यो अवधिमा म र मेरी अर्धाङ्गिनी पूजालाई खुशीका क्षणहरू र मित्रहरूको याद समय(समयमा निक्कै आयो । शायद नेपालीहरूको महान् चाडको पनि असर हुनुपर्दछ ।
जीवन साँच्चै नै भ्रमजस्तै लाग्यो । हामी सबै भ्रमपूर्ण समय व्यतीत गरिरहेका रहेछौँ किनकि मानिसको शाश्वत मृत्युलाई नजिकबाट कसैले नचिनेजस्तो पनि हामीलाई लाग्यो । नत्र भने म र मेरो परिवारलाई दुःख परेको समयमा ढाडस दिने मेरा मित्रहरू, म आबद्ध सङ्घ-संस्था, व्यापारिक प्रतिष्ठान र छरछिमेकीहरू कति थिए, बल्ल पो थाहा भयो ।
हामी स्पष्ट पार्न चाहन्छौँ- यो भनाइ कसैप्रति कटाक्ष कदापि होइन ।
हाम्रो नितान्त व्यक्तिगत भोगाइ हो किनकि यो भ्रमपूर्ण संसारका कथित पात्र हामी पनि हौँ । हामीलाई पनि ठूलो ज्ञान भयो । ‘सम्पत्ति र शक्तिमा हाईहाई, विपत्तिमा कोइ न कोइ’ जस्तो सोच कहिल्यै पनि पाल्नु हुँदैन ।
यो समाज र संसार नै स्वार्थै स्वार्थले भरिपूर्ण रहेछ । देखावटी र आडम्बरी समयको आभास भयो । सस्तो लोकप्रियताका पछाडि कुद्ने समय महसुस भयो । नाम, दाम, हाईहेलो र मित्रता प्रायः सबै स्वार्थसँग जोडिएको आभास भयो ।
विशुद्ध मानवीय मूल्यमान्यताको समाजको अभाव महसुस भएको थियो । हामी प्रायः नाटकीय जीवन नै व्यतीत गरिरहेका रहेछौँ । त्यै पनि यी सबै स्वाभाविकजस्तै लाग्यो । यो भौतिकवादी संसारमा निस्वार्थ सम्बन्ध राख्ने सच्चा मित्रहरू कम रहेछन् किनकि यस्तो पीडादायी समयमा मित्रहरूको सानो सान्त्वनाले पनि ठूलो ढाडस मिल्दोरहेछ भन्ने परेको दिन पो बल्ल थाहा भयो ।
हामीलाई सान्त्वना दिने सीमित मित्रहरूका शब्दहरूले हामीलाई ठूलो आँट मिलेको थियो ।
ती शब्दहरू हुबहु राख्न चाहन्छौँ - सुमन, बी स्टूङ । हामी तिमीसँग छौँ । आमाको आत्माले शान्ति पाओस् । यस्तै अाफुलाई निस्वार्थ माया गर्ने आमालाई गुमाउनु त्यति सजिलो छैन । यस्तो आमालाई सधैँका लागि बिदा दिने उचित समय कहिल्यै पनि हुने छैन ।
खैर यो दुःखद् घडीमा गहिरो समवेदना प्रकट गर्दै मृत आत्मालाई बैकुण्ठमा वास मिलोस् । भगवान्ले मृतकको परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना । यो दुःखद् घडीमा तपाईसँग रहन नसके पनि भगवान्बाट धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना ।
त्यस्तै सुमन सर अनि पूजा मेम, मम्मीको दुःखद् देहान्तले हामी सबैलाई दुःखी बनायो । यो जटिल परिस्थितिमा धैर्य गर्नु होला । आमालाई राम्रोसँग बिदा दिनुहोला । माता सृष्टिकर्ता भगवान्सरह हुन् । अन्तिम हो, फेरि मौका पाइँदैन ।
मानव जन्म, कर्म र मृत्यु अकाट्य छ । ढिलोचाँडो मात्र हो । तपार्इंहरूले आफुलाई साह्रै भाग्यमानी ठान्नुहोला किनकि क्यान्सरबाट पीडित आमाको लामो सेवा गर्न पाउनु नै धर्म र पुण्य हो । यो भौतिक संसारमा जे दिन्छौँ, त्यही पाउँछौँ ।
केही सहयोग चाहिएमा चिना हराएको दाजुभाउजूलाई नभुल्नु होला । भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना । रेस्ट इन पिस आदि इत्यादि । यस्ता सान्त्वनाका शब्दहरूले अरूहरूमा कस्तो प्रभाव पर्छ,, मलाई थाहा भएन तर म र मेरो परिवारले भने सान्त्वना पायौँ । ढाडस पायौँ । मट्टी र दाउरा दिने अन्तिम समयसम्म मलामीको खाँचो महसुस भएन ।
तत्पश्चात् समाधिलाई सम्पन्न गर्न अन्तिम समयसम्म कुर्ने र कोरामा मध्यरातपछि जाग्राम बस्न साथ दिने इष्टमित्रहरूको खाँचो महसुस भयो ।
गाउँमा लठेप्रे सोझो लप्टन उपनामले चिनिने श्रीसे जवेगू नाताले काका जस्ताको सङ्ख्या अलि धेरै भए राम्रो हुने जस्तो लाग्थ्यो किनकि कोरा अवधिभर सीमित र पारिवारिक सदस्यहरूका साथमा जानी-नजानी यी काकाले रुँगालुको भूमिका निर्वाह गर्थे । यस्तै आप्mना नातेदार दाइ वीरेन्द्र र कान्तीला जवेगू भाउजूजस्ता व्यक्तित्वहरूको उपस्थिति र सहयोगले धेरै महत्व राखेको थियो ।
यस्तो भूमिका हामीले पनि प्रशस्त खेल्न सकेका छैनौँ । यस्तो दिन कसैलाई नआओस् भन्ने त कुरामात्र हो । प्रकृतिको नियमभन्दा बाहिर जान सकिँदैन जसलाई आत्मसात् गर्नुको विकल्प छैन । तसर्थ यस्तो कठिन एवम् दुःखद् घडीमा अरूको उपस्थितिले पनि धेरै महत्व राख्छजस्तो हामीलाई भने लाग्यो ।
समय, परिस्थिति आदिले जीवनमा हामी पनि धेरथोर चुकेको आभास भयो । परेपछि बल्ल थाहा हुन्छ भन्ने भनाइ छ । हामीलाई पनि प¥यो, चेतना भयो । हामी पनि यो भ्रमपूर्ण जीवनका पात्र हौँ ।
तर मृत्यु शाश्वत सत्य हो । तसर्थ, आमा तपाईं पनि यो भ्रमपूर्ण जीवनबाट विदा भएर जानुभयो । मृत्युजस्तो शाश्वत मृत्युलाई स्वीकार्नै पर्दछ । तपाईंले पनि स्वीकार्नुभयो । हामी सदैव सम्झिरहने छौँ । मन र मस्तिष्कमा सधैँ रहिरहनुहुने छ ।
बाँचुञ्जेल बुद्धि र विवेकले भ्याएसम्म परिवारका तर्फबाट आफ्नो कर्तव्य पूरा गर्न हदैसम्म प्रयास गरेका थियौँ । त्यसैमा सन्तुष्ट हुनुपर्दछ । बाँकी त सब भन्ने न कुरा हो । अरूभैँ तपाईंको परिवारका सदस्यहरूले पनि सामान्य जीवनमा फर्कनैपर्दछ ।
सामान्य जीवनमा फर्कदै हाम्रो दश लिम्बू सत्र थुमको रीतिरिवाजअनुसार सम्पूर्ण मामामावली, भानाभान्जा, कुलकुटुम्ब, छोरीचेली, नातानातिनी, इष्टमित्र, दाजुभाइ र छरछिमेकका साथै मलामीका रूपमा उपस्थित सम्पूर्ण महानुभावरू भेला गराई अन्तिम शुद्धि कार्य आज मङ्सिर ५ गते तपाईंको इच्छाबमोजिम सम्पन्न गदैछौँ ।
तपाईंको आत्मालाई सधैँ शान्ति मिलोस् भन्दै परिवार तथा सबैका तर्पmबाट भावपूर्ण गहिरो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
अन्त्यमा पूर्वमन्त्री श्रीप्रसाद जवेगूद्वारा लिखित प्रकाशोन्मुख उपन्यास अपुताल बाट केही शब्द साभार गर्छु, अबदेखि त आमो ! तपाईंले केथक्ला, केनारा, केएल्ला, केबान्ला नु किईल्लाहा केरेक् किजिखुरो । ला ! नाम्ले कथक् लुम्मो केलासाङ्ग आइनाङ्गथो थेबाः युमाः रे लाजे साँग्राम पेदाङ्ग केबेरो । आमो ! हेनेः साँग्रामिवा केबोखेबा कन् तुखेयेन् लाम् थिबोङ्ग हुक्चोक् फोखुम्बाङ्ग शेवा चोकी ईछिङ्ग लक् चोगुम्बेरो, याम्मोआङ्ग इछिङ्ग लक् ।
भावार्थ - तपाईंको शरीर, अनुहार, हँसाइ, बोलीवचन र गलाहरू सबै लुकाउनु भो । चन्द्रसूर्यको काखमा पसेर बाजेबजूको ठाउँ स्वर्गलोक जाइहाल्नु भो । आमा ! तपाईं स्वर्गवासी हुनुभएको यो दुःखद् घडीमा दश औँला जोडेर नमस्कार गर्दै सम्झनामात्र गर्दछौँ, फेरि पनि सम्झनामात्र ।