चतरा । वराहक्षेत्र नगरपालिकाको आयोनजामा स्थानीय सरोकारवाला पक्षको सहभागितामा लागूऔषधविरुद्धको अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

वराहक्षेत्र नगरपालिकालाई लागूऔषधको ट्रान्जिट प्वाइन्ट भनिरहेका बेला किन र कसरी ट्रान्जिट भनिएको हो ? वास्तवमै वराहक्षेत्रमा लागूऔषध दूर्व्यसनको अखडा बन्दै गएको हो ? लागूऔषध दूर्व्यसनलाई न्यूनीकरण गर्न कस्ता कार्यक्रम आवश्यक छ विज्ञ र सरोकारवाले नगरलाई सुझाव प्रदान गर्नुपर्ने नगरप्रमुख निलम खनालले आग्रह गरे ।

युवालाई उत्पादनमा सहभागी गराउने नगरको उद्देश्य रहेकाले लागूऔषधजस्तो दलदलमा युवालाई फस्नबाट जोगाउन नगरले नीति कार्यक्रम अघि सारेको नगर प्रमुख निलम खनालले स्पष्ट पारे ।

अन्तर्क्रियामा सरोकारवाला संघसंस्था, स्थानीय सञ्चारमाध्यम, प्रहरी प्रशासनलगायतका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नगरमा दूर्व्यसनको अवस्था बढ्दै गइरहेको र लागूऔषध ओसारपसारमा युवाहरुल संलग्न हुने गरेको उल्लेख गरिएको थियो ।

लागूऔषध दूर्व्यसन र ओसारपसार नियन्त्रण गर्न नगरले काठोर नीतिसहित सुरक्षासंयन्त्र परिचालन गर्नुपर्ने बताइएको थियो । प्रस्तुत कार्यपत्रमा वराहक्षेत्र नगरको खुला सीमा, भौगोलिक दूरता, नगर संरचना र स्रोत साधनको कमिले गर्दै लागूऔषध दूर्व्यसन र ओसारपसारमा अपेक्षाकृत नियन्त्रण गर्न नसकिएको बताइएको थियो ।

अन्तर्क्रियामा जनप्रतिनिधि र गैरसरकारी संस्थाहरुको समेत सहभागिता थियो ।