धरान / बराह बचत तथा ऋण सहकारीले आर्थिक बर्ष २०७४/०७५ मा एक करोड बढी खुद मुनाफा गरेको छ । संस्थाका अध्यक्ष मानबहादुर दियाली विश्वकर्माका अनुसार उक्त आर्थिक बर्षमा १ करोड ७ लाख २९ हजार ७ सय ९३ रुपैया खुद मुनाफा भएको हो । हालसम्म बराह सहकारीको सेयर सदस्यहरु १ हजार ६ सय १८ जनाबाट २०७५ असार मसान्तसम्म सेयर रकम ३ करोड ९ लाख ८४ हजार ५ सय संकलन भएको पनि विश्वकर्माले बताए । हालसम्म ८३ करोड ५० लाख ६४ हजार ३ सय ८१ रुपैया निक्षेप संकलन भएकोमा ६९ करोड ५८ लाख ७४ हजार १ सय ३५ रुपैया निक्षेप फिर्ता भएको बताइएको छ । संस्थाले २०७५ असार मसान्तसम्म २७ करोड ३४ लाख ८६ हजार ३ सय ७७ रुपैया ऋण लगानी गरेको छ । आर्थिक बर्ष २०७४ /०७५ मा १५ प्रतिशतले लाभांश बाड्ने बराहले साधारणसभामा जानकारी दिएको छ । बराह वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मानबहादुर दियाली विश्वकर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । हिजो भएको नवौं बार्षिक साधारणसभाले दियालीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षतामा विष्णुमाया लामिछाने बिक चयन भएकीछन् । सदस्यहरुमा गंगाबहादुर कालिकाटे, विष्णुकुमारी ताम्राकार, अम्बरबहादुर बिक, फुलमाया राई र शुभराज खाँती चयन भए । बन्दसत्रमा अधिवक्ता अबइन्द्र निरौला, दधिराम ढुङगाना र चन्द्र हलवाई सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । सोही साधारणसभाले तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । लेखाको संयोजकमा सुदिन ल्वागुन र सदस्यमा शर्मिला ताम्राकार, कुमार दुतराज चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि उमिता बराईली, विशेष अतिथिमा पूर्वक्षितिज प्रकाशन प्रालिका बोर्ड डाईरेक्टर तथा ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, नेपा पत्रकारमहासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतको उपस्थिति रहेको थियो ।