विषय प्रवेश : नेपालमा मात्र मनाइने नेपाली लोक साँस्कृतिक उत्सवहरुमा ‘गाईजात्रा’ विश्वको इतिहासमा नै अद्वितीय र अनुपम् उत्सव रहिआएको छ । एउटै उत्सवमा कहिले रुने र कहिले हाँस्ने परम्परा विश्वका अन्य कुनै उत्सवमा छैन, यो त नेपाली लोक संस्कृतिको गाईजात्राको विशेषता र मौलिकता हो । गाईजात्रा उत्सवले मृत्युलाई जीवनको सहचर मानी त्यसलाई हाँसी–हाँसी स्वीकार गर्ने शिक्षा विश्वलाई नै दिएको छ । गाईजात्रामा एकातिर दिवङ्गतहरुको सम्झनामा आफन्तहरुले पूर्वजहरुप्रति श्रद्धाञ्जली र कृतज्ञता प्रकट गरिन्छ भने अर्कातिर आफन्तहरुको बिछोडमा रोइरहेको व्यक्तिमा हास्य व्यङ्ग्यका माध्यमबाट हाँसो र खुसीको सञ्चार गराइन्छ । वस्तुतः संसारमा जो जन्मेको छ, त्यसले अवश्य मर्नुपर्छ ।
गाईजात्राको चलन गाईजात्रा श्रावण शुक्ल पूर्णिमा गँु पुन्ही अर्थात् जनैपूर्णिमाको भोलिपल्ट गँुलागाः (भाद्र कृष्ण पक्ष प्रतिपदा) का दिन नेवार समुदायले मनाउने साँस्कृतिक तथा मनोरञ्जनात्मक उत्सव हो । तिथिअनुसार यस वर्ष भाद्र ११ गते सोमबार परेको छ । विक्रम सम्वत्को पन्ध्रौं शताब्दीमा लिखित गोपाल राज वंशावलीमा तथा उपत्यकाका भक्तपुर, ललितपुर र कान्तिपुरका तीन स्वतन्त्र मल्ल राजाहरु देखापरे । तीनवटा मल्लराजाहरुको राज्य स्थापनाकालमा लेखिएका ‘ठ्यासफू’ अर्थात् (एउटै लामो कागजलाई पट्याएर बनाइएको एक प्रकारको पुरानो ढाँचाको पुस्तक) देखापरे । उक्त पुस्तकमा ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै गाईजात्राले हाम्रा जनजीवनमा ठाउँ ओगटेको कुरा प्रमाणित हुन आउँछ । हिन्दु धर्मअनुसार नेवारहरू यस दिन गाईको प्रतीक जीउँदो गाईलाई नगर परिक्रमा गराउँदछन् । धार्मिक ग्रन्थ तथा किंवदन्तीअनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्वमेघ गरेको फल प्राप्त हुन्छ । साथै गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् । यसदिन गाईको प्रतीक बनाउनु अघि मृतकको नाममा किरियापुत्रीद्वारा सङ्कल्प गराई पुरोहितले विधिपूर्वक पूजा–आजा सम्पन्न गर्दछन् । कसै–कसैले गाईको सट्टा ब्रतबन्ध नगरेका किशोर केटालाई गाईको रूपमा सिंगारी नगर परिक्रमा गराउँछन् । यसरी गाईलाई नगर परिक्रमा गराउँदा मृतकका घर परिवार तथा नातागोताहरू गाईको पछिपछि धूपबत्ती बालेर हिँड्नु पर्दछ । गाईजात्राको प्रचलन तात्कालीन कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका सिद्धिनरसिंह मल्ल र भक्तपुरका जगतप्रकाश मल्लले गाईजात्रा चलाएको मानिन्छ । तर नेवार संस्कृतिविद्हरूका अनुसार १५ औं शाताब्दी भन्दा अगाडि लिच्छवीकालको अन्त्यमा मल्लहरूले शासन गर्नुअघि नै नेवारहरुले एउटा पर्वको रूपमा गाईजात्रा मनाइसकेका थिए भन्ने उल्लेख रहेको पाइन्छ । नेपालमा उपलब्ध ठ्यासफूका अनुसार लिच्छवीकालमा चलनचल्तीमा आएको गाईजात्रालाई मल्ल राजाहरुले परिमार्जन गरी विस्तृत पारेको उल्लेख गरिएको संस्कृतिविद्हरु बताउँछन् । नेपाल भाषा (नेवारी) को सायात शब्दको नेपाली भाषामा गाईजात्रा अर्थ हुन्छ । गाईजात्रालाई नेपाल भाषा (नेवारी) मा ‘सापारु’ पनि भनिन्छ । नेपाल सम्वत् ७६९ मा कान्तिपुरका तात्कालीन राजा प्रताप मल्लका छोरा चक्र वर्तेन्द्रको मृत्यु भएछ । मृत्युपछि शोकले व्याकुल रानीको मन शान्त पार्न राज्य स्थापनाकालमा लेखिएका ‘ठ्यासफू’ मा वर्णन गरे अनुसार ‘सायात’ शब्दको कुरालाई मनन् गरी ‘मानिसहरु मुलुकमा अन्यत्र पनि मरेका छन् र मर्ने क्रम भई नै रहन्छ’ भनी देखाई चित्त बुझाउन मुलुकमा वर्षदिनभित्र मरेका व्यक्तिहरुको नाममा तिनका आफन्तहरुले गाईजात्रा निकाली शहर घुमाउन आफ्ना मन्त्रीहरुलाई हुकुम गरेछन् । राजा प्रताप मल्लको आदेशअनुसार नेपाल संवत् ७७० देखि गाईजात्राको चलन जनैपूर्णिमाको भोलिपल्टदेखि शुरुवात भएको प्रसिद्धि रहेको पाइन्छ । पद्म पुराणमा उल्लेख भए अनुसार गाईका पिठ्यँुमा ब्रम्हा, गलामा विष्णु, मुखमा शिव, मध्यभागमा देवता र रोमावलीमा महर्षिहरूको निवास हुन्छ भन्ने उल्लेख रहेको छ । पद्मपुराणको शास्त्र बमोजिम यमलोकको ढोका वर्षभरि बन्द हुन्छ । अतः मरेका व्यक्तिहरुको आत्मा यमलोकभित्र पस्न नपाई भड्की रहेको हुन्छ । जब गाईजात्रा मनाइन्छ, तब स्वर्गको ढोका खुल्छ र आत्माले त्यसभित्र प्रवेश गरी मुक्ति पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसरी धार्मिक भावनाबाट जन्मेको यस जात्रामा गाईको रूप बनेर जाने किशोरलाई विशेष रूपले सजिसजाउ गरिएको हुन्छ । गाई बन्ने व्यक्तिहरु धेरैजसो किशोर वर्गका नै हुन्छन् । गाईको प्रतिरूप बन्ने व्यक्तिलाई गाईको चित्राङ्कित मुकुट पहि¥याउनुका साथै गालामा रातो लाली, आँखामा कालो गाजल आदि लगाई शृङ्गार गरी भुइँसम्म लत्रेको पटुका बाँधी शहरभरि घुमाइन्छ । काठमाडौए, ललितपुर र भक्तपुर आदि ठाउँहरुमा मनाइने गाईजात्रामा स्थानीय रीति–चलनअनुसार विविधता रहे पनि मूल रूपमा एकरूपता रहेको पाइन्छ । राजधानी काठमाडौं उपत्यका बाहिर नेवार जातिको बाक्लो बस्ती भएको पाल्पा, नेपालगञ्ज, बुटवल, वीरगञ्ज, हेटौंडा, दोलखा, रामेछाप, धरान, विराटनगर, धनकुटा, चैनपुर, भोजपुर आदि शहरहरुमा पनि गाईजात्राको चलन परम्परादेखि चल्दै आएको पाइन्छ । तर नेपालबाहिर नेवारहरुको बसोबास भएका असम, सिक्किम, दार्जिलिङ, भुटान, एवम् विहारको बेतिया र रामनगरमा भने गाईजात्राको चलन पाइन्न ।
धरानमा साँस्कृतिक लाखेनाच, गाईजात्रा र रामायण धरानमा सर्वप्रथम वि.सं. २००० सालमा भाजु सिंहज्योति शाक्य, भाजु गणेशबहादुर ताम्राकार र भाजु दानबहादुर शाक्यको अथक प्रयासमा पुरानो बजार र नयाँ बजारका घर–घरमा लाखे नाच र गाईजात्रा व्यक्तिगत रूपमा श्रीगणेश भएको पाइन्छ । २००७ सालमा राणा शासनको अन्त्य भई २०१० सालदेखि धरानका सम्पन्न नेवार समुदायका घर–घरबाट पहिलो पटक व्यवस्थित रूपमा गाईजात्रा, तायःमचा, लाखे नाच निकाली बजार परिक्रमा गर्ने परम्परा बस्यो । सोही परम्परालाई कायम राख्न धरानस्थित नेवाः खल पुचहरु झीगु समाज, नेपाल खड्गी सेवा समिति, पासा खलः र नेवाः साँस्कृतिक कला पुञ्जबाट संस्कृति संस्कारलाई राष्ट्रियस्तरमा चिनाउनु गाईजात्रा, लाखेनाच, घिस्रिङ घिन्ताङ (ठाकठुके नृत्य) नगर परिक्रमा हुँदै आइरहेछ ।
सामूहिक रूपमा गाईजात्रा र शोकाञ्जली रामायण धरानमा नेवारी संस्कृतिको संरक्षण गर्न वि.सं.२०५१ पौषमा सिद्धि नेवाः परिषद्को स्थापना भई २०५४ सालदेखि व्यवस्थित रूपमा धरानका नेवार जातिका परिवारका दिवङ्गत व्यक्तिको नाममा सामूहिक रूपमा गाईजात्रा कार्यक्रम र २०५८ सालदेखि शोकाञ्जली रामायण लगातार रूपमा सञ्चालन हुँदै आइरहेको छ । वि.संं. २०६८ राष्ट्रिय जनगणनाअनुसार धरानमा नेवारहरुको जनसंख्या १५ हजार २ सय ३७ रहेको छ । नेवार एकता समाज धरानको पहलमा नेवार जातिको मौलिक गाईजात्रामा स्थानीय बिदाको माग गर्दै स्थानीय सरकार धरान उपमहानगरपालिका कार्यालयमा ज्ञापन–पत्र बुझाएको छ ।
पूर्वाञ्चलस्तरीय लाखे नाच नेवाः देय् दबू नगर समितिको आयोजना र झीगु समाज धरानको संयोजनमा नेपाल सम्वत् –११३४ ञलाथ्व (२०७१ भाद्र २१ गते) धरानमा पूर्वाञ्चलस्तरीय लाखे नाच प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिता पूर्वाञ्चलका ८ जिल्लाका २४ वटा लाखेहरु सहभागी थिए । जसमध्ये नेवाः पुच इन्द्रपुर विराटचोक–प्रथम, लाखे समाज भोजपुर टक्सार तीनधारे–दोस्रो र चैनपुर समाज सेवा–तेस्रो भएका थिए ।
गाईजात्रा एक कथा–कुथुरी अनेक मृत्युलाई स्वभाविक र शाश्वत् सत्यका रूपमा आत्मसात गर्दै जीवनमा राम्रो काम गरे हाँसोका पात्र बन्न पर्दैन है भन्ने सन्देशका साथ देशभर नेवार समुदायद्वारा गाईजात्रामा झाँकी प्रदर्शन गर्दछन् । मृतात्माको स्मरण सुःखावती भूवनमा बास तथा निर्वाणको कामना गर्दै प्रत्येक वर्ष गुँलागा पारुका दिन मृतकका घर–घरबाट साःया अर्थात् गाईजात्रा निकाल्ने परम्परा छ । जुन परम्परागत मान्यता वर्तमान अवस्थामा नेवार समुदायमा मात्र सीमित नरही व्यङ्ग्यात्मक रूपमा हास्य–व्यङ्ग्य, प्रहसन, गाईजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय हास्य–व्यङ्ग्य लोक साँस्कृतिक उत्सवको रूप धारण गरिसकेको र सर्वप्रथम ‘नयाँ समाज’ दैनिक पत्रिकाले गाईजात्रे विशेषाङ्कको श्री गणेश गरेको पाइन्छ ।
उपसंहार मनुष्यको शरीर पाँच महाभूत मिलेर बनेको छ । त्यही पञ्च महाभूतबाटै पञ्चइन्द्रीयको उत्पत्ति भएको मानिन्छ । नेपालमा मात्र प्रचलित गाइजात्रा यसैको उपज मान्न सकिन्छ । मृत्यु संस्कारसित सम्बन्धित यस गाईजात्राले धर्मशास्त्रमा वर्णित विधानअनुसार यसको ठीक–ठीक उपयोग गर्नसके मृतक व्यक्तिले गाईको पुच्छर समाती वैतरणी तरेर मोक्ष प्राप्त गर्न सक्छ । यसबाहेक यसले इन्द्रीयलाई संयम गर्नसके दान–कर्म नगर्ने भई मोक्ष प्राप्त गर्न सक्नेछन् भन्ने भनाइलाई पुष्टि गर्दछ । रुढी परम्परा धर्मान्धता, राजनीतिक स्वार्थ तथा हत्या–हिंसा आदिबाट ग्रस्त र अशान्त नेपाली समाज रोइरहेको छ । गाईजात्राका माध्यमबाट हामीहरुले यी विकृतिहरुलाई उदाङ्ग पारी समाजमा फेरि नैतिकता, राजनीतिक स्थिरता, अहिंसा आदिबाट देशमा शान्ति स्थापना गरी नेपाली जनतालाई समृद्ध बनाई हाँस्नु र हँसाउनु परेको छ । जसले गर्दा हाम्रा पितृ पूर्वजहरुको आत्मालाई मुक्ति मिलोस् । यही सन्देश आज हामीलाई ‘गाईजात्रा’ उत्सव पर्वले दिइरहेको छ । पितृ देवो भवः (लेखकः कर्माचार्य धर्म–संस्कृतिबारे खोजमूलक अनुसन्धाता हुन् ।)