काठमाडौँ/ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्टरनेटको माध्यमका कारण पठन संस्कृति घट्दै गएको बताए । कवि शम्भुकुमार मिलनद्वारा लिखित ‘आँखामा जापान : मनमा नेपाल’ नामक यात्राकाव्यको आज यहाँ विमोचन गर्दै उनले पाठकलाई आकर्षित गर्न पठन संस्कृतिको अभिरुचिअनुसार लेख, सामग्री प्रकाशन गर्न लेखक, साहित्यकारको ध्यान जानुपर्ने औँल्याए। सञ्चारमन्त्री कार्कीले लेखक, साहित्यकारको बाँचुन्जेल सम्मान नहुने तर मृत्युपछि गुणगान गाउने परिपार्टी अन्त्य गरी जीवितै अवस्थामा सम्मान गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको बृहत्तर विकासमा लेखक सर्जकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलगायत विशिष्ठ सर्जकको उपस्थिति थियो ।
रासस