विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको यही मङ्सिर २८ गते हुने निर्वाचनमा २१ पदको लागि ४४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ ।
विराटनगरस्थित महासङ्घको प्रदेश कार्यालयमा सोमबार भएको मनोनयन दर्तामा ७ जना पदाधिकारीमा १८ जनाको उम्मेवारी परेको छ । त्यसैगरी १४ जना सदस्य पदको लागि २६ जनाको उम्मेदवारी रहेको छ । महासङ्घको अध्यक्ष पदमा तीनजनाले फरक–फरक प्यानलबाट उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धन नेपाली काङ्ग्रेस निकट प्रेस यूनियन र नेकपा (एमाले) निकट प्रेस चौतरीको संयुक्त प्यानलबाट चुनाव लडेका छन् भने प्रेस सेन्टर र सङ्घीय समाजवादी प्रेस मञ्चको गठबन्धन रहेको छ ।
व्यावसायिक र सक्रिय पत्रकारको संयुक्त प्यानलबाट महासङ्घको अध्यक्षमा विवेक गौतम, सत्ता गठबन्धनबाट भरत खड्का र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजबाट सन्तवीर लामाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका गौतम दुईपटक नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको महासचिव हुन् भने खड्का नेपाल पत्रकार महासङ्घ उदयपुरको वर्तमान अध्यक्ष हुन् । लामा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष हुन् ।
त्यसैगरी उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष महिलामा अम्विका भण्डारी र रीता मोक्तानले उम्मेदवारी दिएकी छन् । महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई चाम्लिङ र हिमाकुमारी चेम्जोङको उम्मेदवारी परेको छ । सचिवमा धु्रव भट्टराई र बाबुराम कार्की, सह–सचिवमा समावेशीमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी छ ।
त्यसैगरी पाँच जना खुल्ला सदस्यहरूमा इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चूडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली, रामधन राई र विवेक रेग्मीको उम्मेदवारी परेको छ । त्यसैगरी तीनजना महिला सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ, बुद्धमाया सोङ्मी, रामजना अधिकारीको उम्मेदवारी रहेको छ ।
सदस्य दलितमा अनिता रसाइली र किशोर विश्वकर्माको उम्मेदवारी रहेको छ । आदिवासी जनजातिमा अनिलदेव राई, अर्जुन राई, दिनेश सुब्बा र लाक्पा जी शेर्पाको उम्मेवारी परेको छ । मधेशी सदस्यमा अविनाशकुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार, सत्यनारायण शर्माको उम्मेदवारी रहेको छ ।
अल्पसङ्ख्यक सदस्यमा लुकमान अन्सारी र विजय धिमालको उम्मेदवारी रहेको छ । कोशी प्रदेशमा १ हजार २ सय ३८ जना महासङ्घको सदस्य रहेका छन् । उनीहरूले मतदान गरी पदाधिकारी र सदस्य निर्वाचित गर्नेछन् ।