धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले प्रेस अभिव्यक्तिको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीको पलहमा धरानमा मौन र्याली आयोजना गरिएको छ ।
सोमबार बिहानै धरानको भानुचोकबाट धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्धारसम्म पत्रकारहरुले नगर प्रमुखको हर्कतविरुद्ध मौन र्याली निकालेका हुन् । नगर प्रमुख राईले गत बिहीबार समाचार लेखेकै निहुँमा पत्रकारहरुलाई धरान १८ स्थित ग्रीन टिमा भेट्न उर्दी जारी गरेका थिए । उक्त उर्दी नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकमाथि धावा बोलेका थिए ।
धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि नगर प्रमुख राईको विषयमा समाचार लेखेका थिए । उक्त समाचारको विषयलाई लिएर नगर प्रमुखले ग्रीन टिमा आउन निर्देशन दिँदै नआए नेपालमा बस्न लायक नबनाउने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्ति प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र सुनसरीले विरोध जनाएको थियो । यही सन्दर्भमा नेपाल पत्रकार महासंघ सुनसरीले सोमबार बिहानै मौन जुलुस निकालेको हो ।
मौन जुलुसमा सुनसरीका पत्रकारहरु सहभागी भएका थिए भने विभिन्न नागरिक समाजका सदस्यहरुको पनि सहभागिता रहेको थियो । धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्धारमा भेला भई कोणसभा पनि गरिएको थियो । त्यसक्रममा अग्रज पत्रकार हर्ष सुब्बाले पञ्चायतकालदेखि हालसम्म पत्रकारहरु असुरक्षित हुँदै गएको बताए । उनले लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारहरुमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिहरुबाटै असुरक्षित हुने अवस्था सिर्जना हुनु दुखद् भएको बताए ।
उनले पत्रकारको शान्ति सुरक्षा र भौतिक आक्रमणको अवस्थालाई स्थानीय सरकारले कानून बनाई रक्षा गर्नुपर्नेमा उल्टो धाकधम्की दिनु लोकतन्त्रमाथिको उपहांस भएको बताए । यस्तै महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले नगर प्रमुखले गृहमन्त्रीलाई पठाएको पत्रमा पत्रकारलाई कारबाही गर्ने भनिएको विषय खेदजनक रहेको बताए । उनले नक्कली माओवादीको विषय उनी आफू स्वयम्ले होइन भनी पुष्टि गर्न उनले चुनौती दिए ।
उनले नक्कली माओवादी भनेको आक्रोस पोखेका थिए । तर २०६५ साल वैशाख १३ गते उनले चन्दा मागेको निहुँमा उनलाई धरान उपमहानगरपालिका २ रत्नरोडस्थित वाणिज्य बैंकमा हातपात गरी पक्राउ गरेर धरान १५ को रम फ्याक्ट्रीमा लगी कुटपिट गरेको तत्कालीन समयमा कुटपिट गर्ने तथा प्रत्यक्षदर्शीहरुले बताएको समाचार प्रकाशित भएको थियो ।
सोही विषयलाई लिई उनले गृहमन्त्री रमेश लेखकलाई आइतबार ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका थिए ।