विजयपुर । कोशी प्रदेशमा कृषि उत्पादन हुने जमिन बर्सेनि घटिरहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा १ दशमलव ३ प्रतिशतले घटेको क्षेत्रफल चालु आर्थिक वर्षमा ४ दशमलव ८ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैङ्क विराटनगरको चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रतिवेदनले कृषि उत्पादन हुने जमिनको क्षेत्रफल घटेको देखाएको छ । बैङ्कले कृषि ज्ञान केन्द्रका तथ्याङ्कलाई विश्लेषण गर्दा कोशी प्रदेशमा अढाई वर्षको अवधिमा धान बालीले ढाकेको क्षेत्रफल १०.६ हजार हेक्टर घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा धान बालीले ढाकेको क्षेत्रफल ३४३.२ हजार हेक्टर थियो भने एक वर्षमा ९.८ हजार हेक्टर घटेर आर्थिक वर्ष २०७८/०७९ मा ३३३.२ हजार हेक्टर क्षेत्रफल भएको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा ०.६ हजार हेक्टर क्षेत्रफल कमी आई ३३२.६ हजार हेक्टर क्षेत्रफल भएको छ ।

मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । एक आर्थिक वर्षमा ५५ हजार हेक्टर क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३४३.३ हजार हेक्टर क्षेत्रफल मकै बालीले ढाकेकोमा आर्थिक वर्ष २०७८/०७९ मा २८८.० हजार हेक्टर भएको थियो । चालु आर्थिक वर्षको समीक्षा अवधिमा २९२.८ हजार हेक्टर क्षेत्रफल छ । आलु बालीले ढाकेको क्षेत्रफल पनि घट्दै आएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५६.४ हजार हेक्टर क्षेत्रफल भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा २.३ हेक्टर क्षेत्रफल कमी आर्ई ५४.१ हजार हेक्टर क्षेत्रफल भएको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा आलुले ढाकेको क्षेत्रफलमा १४.९ हजार हेक्टर क्षेत्रफलले कमी आई ३९.२ हजार हेक्टर भएको छ । विगतका २ आर्थिक वर्षमा ३०.१ हजार हेक्टर क्षेत्रफल रहेको फलफूल बालीमा चालु आ.व.को समीक्षा अवधिमा ७.२ हजार हेक्टरले गिरावट आई २२.९ हजार हेक्टर भएको छ ।

चिया, कफी बाली उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । विगत २ आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा कोदो बालीले ढाकेको क्षेत्रफल बढेको छ । कोदोले ढाकेको क्षेत्रफल ७६.८ हजार हेक्टर क्षेत्रफल रहेको छ । कोदो, मसला, तरकारी बालीको क्षेत्रफल भने केही मात्रामा बढेको देखिन्छ । प्रतिवदेनले कृषियोग्य जमिनको क्षेत्रफल घट्दै जानुमा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएकाले खेतीपाती गर्ने कार्यमा जनशक्ति अभाव हुनु देखाएको छ ।

यस्तै तराईका उर्वर, कृषियोग्य जमिनको खण्डीकरण गरी आवासीय प्रयोजनको लागि ‘प्लटिङ’ गर्ने क्रम विस्तार हुनु मुख्य कारण देखाएको छ । यस्तै मलखाद, सिंचाइ सुविधा, उन्नत बिउवीजनको अपर्याप्ततालगायतका कारणले जमिन बाँझो राख्ने क्रम बढेको पाइएको छ ।

समीक्षा अवधिमा धान, आलु, उखु, सनपाट, भटमास, दलहन, तेलहन, फलफूल, चिया र कफीको क्षेत्रफल घटेको छ । समग्र कृषिउपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ८७.३ प्रतिशत ढाकेको छ । तरकारी बालीले ५.२, फलफूलले २.५, मसला ३.१ र चिया कफीको १.८ प्रतिशत रहेको छ । खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा धान, मकै र कोदो बालीले ढाकेको क्षेत्रफल ८८.८ प्रतिशत छ । कुल खेती गरिएको क्षेत्रफलमा सबैभन्दा धेरै धान ३६.७ प्रतिशत रहेको छ ।